पुराना संसद्वादी पार्टी पूर्ण रूपमा असफल, वैज्ञानिक समाजवादका लागि क्रान्तिकारी ध्रुवीकरण : कञ्चन

पुराना संसद्वादी पार्टी पूर्ण रूपमा असफल, वैज्ञानिक समाजवादका लागि क्रान्तिकारी ध्रुवीकरण : कञ्चन

काठमाडौँ / नेकपा (बहुमत) का संयोजक कञ्चनले पुराना सबै संसद्वादी पार्टी असफल भएको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नाटककार खेम थपलियाको नाट्यकृति ‘कमरेड फिप्टी पर्सेन्ट’ सार्वजनिकीकरण तथा परिचर्चाका लागि आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि पार्टी संयोजक कञ्चनले पुराना संसद्वादी पार्टी असफल भएको र क्रान्तिकारी एकता प्रक्रियाले वैज्ञानिक समाजवादसहितको वैकल्पिक राज्यप्रणाली स्थापना गर्ने बताए ।

दलाल पुँजीवादी सत्ता र सरकारले गराएको उपचुनाव क्रान्तिकारी पार्टीहरूका लागि कुनै अर्थ र महत्वको नभए पनि यसको परिणामले पुराना संसद्वादी पार्टीहरू असफल भएको, ती पार्टीप्रति जनतामा अविश्वास र घृणा उब्जिएको, विदेशी शक्तिहरूबाट परिचालित भुइँफुट्टा वर्ग उदाउँदै गएको र यसको समाधान दलाल पुँजीवादी सत्तालाई जरैदेखि उखेलेर वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको नेता कञ्चनको भनाइ थियो ।

मुलुक साम्राज्यवादको खेलमैदान बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै संयोजक कञ्चनले एमसीसी, एसपीपीलगायत राष्ट्रघाती सम्झौताहरूका विरुद्ध शक्तिशाली सङ्घर्ष उठाउन र देश र जनतालाई मुक्त गराउन पनि क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण हुनैपर्ने प्रस्ट पारे । यही व्यवस्थामा केही फेरबदल गरेर, पात्रहरू बदलेर वा यसैलाई सिँगारपटार गरेर नहुने प्रस्ट पार्दै नेता कञ्चनले साम्राज्यवादका प्यादाहरू दसौँ गुणा बढी फासिस्ट बन्ने भएकाले यसप्रकारका देश र जनताविरोधी प्रवृत्तिको समूल अन्त्यका लागि क्रान्ति अपरिहार्य बनेको धारणा पनि व्यक्त गरे ।

माक्र्सवादी स्रष्टाले देश, श्रमिक जनता र वर्गसङ्घर्षका विषयलाई सतही रूपमा मात्र नभएर समयको गतिलाई बुझ्दै सतहको मुनिसम्म पुग्नुपर्ने नेता कञ्चनले प्रस्ट पारे । वर्तमानलाई विगत र भविष्यसँग जोडेर गहिरो सन्देश प्रवाह गर्ने गरी सिर्जना गर्न स्रष्टालाई सुझाव दिँदै कञ्चनले कमरेड फिप्टी पर्सेन्ट नाटक वर्तमानको जीवन्त यथार्थ रहेको बताए ।

माक्र्सवादी साहित्य लेखनको अवस्थाका बारेमा समीक्षा गर्दै नेकपा (बहुमत) केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरो संयोजक अशोक सुवेदीले २००६ सालमा कम्युनिस्ट पार्टी स्थापनाको आसपासबाट आरम्भ भएको नेपालको प्रगतिशील साहित्यिक आन्दोलनले वर्गसङ्घर्षसँगै विकास गरेको र २०५२ सालमा महान् जनयुद्ध आरम्भ भएपछि माक्र्सवादी (मालेमावादी) स्वरूप धारण गरेको बताए । वर्गसमाजमा राजनीति, कला र संस्कृतिजस्तै साहित्यमा पनि वर्गसङ्घर्ष प्रधान र अन्तरसङ्घर्ष वा आन्तरिक पक्ष गौण हुने भन्दै उनले वर्गसङ्घर्षले स्रष्टालाई विचार, विषय, पात्र, कला, परिपाक र वातावरण निर्माण गरिदिने बताए । जनयुद्धको बलले राजनीतिक रूपमा सामन्ती–अर्धसामन्ती राजनीतिक सत्ता मृत्युको मुखमा पुगे पनि नायकहरूको आत्मसमर्पणका कारण दलाल पुँजीवादी सत्ता स्थापना भएको भन्दै उनले माक्र्सवादी संस्कृति र सिर्जनामा स्वर्णयुगका रूपमा स्थापित माक्र्सवादी साहित्यिक आन्दोलनले नायकहरूको खलनायकीका कारण नयाँ दिशा र गति समात्न समय लिइरहेको प्रस्ट पारे ।

दलाल पुँजीवादी व्यवस्थाका पक्षधर स्रष्टाहरूले जनयुद्ध सिर्जित नयाँ यथार्थलाई निरन्तर भ्रष्टीकरण गरिरहेको अवस्थाको चित्रण गर्दै उनले संशोधनवादलाई महिमामण्डित गर्ने प्रलेसको पनि विघटन र पतनपछि माक्र्सवादी साहित्यिक आन्दोलन नयाँ शिराबाट जुर्मुराउँदै अघि बढेको र नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकतापछि निर्माण हुने क्रान्तिकारी ज्वारभाटासँगै यसले नयाँ गति लिने विश्वास व्यक्त गरे । थपलियाको ‘कमरेड फिप्टी पर्सेन्ट’ नाटकले विद्यमान विद्रूप यथार्थको चित्रण गरेको उनले बताए ।

नाटकमाथि समीक्षा गर्दै नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य बद्री चौलागाईंले कमरेड फिप्टी पर्सेन्टले माओवादी आन्दोलनमा आएको आर्थिक, सांस्कृतिक भ्रष्टीकरणलाई सजीव चित्रण गरेको बताए । क्रान्तिकारीले विषपान गर्न बाध्य हुनुपर्ने अवस्था ल्याउने कथित महानायकहरू समयक्रममा जनताको सजायको भागीदार हुनुपर्ने उनको भनाइ थियो ।

नाटककार विजय विस्फोटले नाटकले समयबोध गराएको र सफलताको सङ्केत दिएको बताए । उनले अनिल बार्बेको थ्याङ्क्यु मिस्टर ग्ल्याडका नायक वीरभूषण पटनायकको जीवनसँग कमरेड फिप्टी पर्सेन्टको नायक प्रभावित भएको टिप्पणी गर्दै सिर्जनामा आफैँलाई उतार्नसक्ने स्रष्टा मात्र सफल हुनसक्ने उदाहरण प्रस्तुत गरे ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नाटकका लेखक खेम थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागीलाई महासङ्घका सदस्यसमेत रहेका नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य रोजन रखालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन पार्टी नवौँ महाधिवेशन आयोजक समिति एवम् महासङ्घकी सदस्य अम्बिका चन्दले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि, अतिथिलगायतले सामूहिक रूपमा नाटक सार्वजनिक गरेका थिए । कार्यक्रममा पार्टी, जवस, मोर्चाका प्रतिनिधि, साहित्यकार, कलाकारलगायतको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :