नेकपा स्थापना दिवस, लेनिन जयन्ती र पार्टी एकताको सन्देश

नेकपा स्थापना दिवस, लेनिन जयन्ती र पार्टी एकताको सन्देश

अप्रिल २२ (अर्थात् यस वर्ष वैशाख ९ गते) महान् माक्र्सवादी दार्शनिक, लेनिनवादका प्रवर्तक एवम् योद्धा लेनिनको जन्मदिन हो र नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो । कमरेड पुष्पलालले २००६ सालमा यही दिन नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो । नेपालको कम्युनिस्ट आन्दोलन निरन्तर सङ्घर्षका साथै टुट, फुट, विभाजन हुँदै यहाँसम्म आइपुगेको छ तर सङ्घर्ष प्रधान र विभाजन सहायक विषय बन्दै आएको छ । कयौँ विभाजनहरूले विद्रोहको रूप धारण गरेका छन् र कयौँ एकताहरूले पुनः विभाजनको रेखा पनि कोरेका तीता उदाहरण पनि छन् तर क्रान्तिकारी एकता र ध्रुवीकरणले क्रान्तिलाई नै टेवा दिँदै आएका छन् । वैहाख १८ गते मे दिवसका दिन हुने नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकताले क्रान्तिलाई टेवा पु¥याउने महत्वपूर्ण अपेक्षा र विश्वास गरिएको छ ।
कम्युनिस्ट पार्टी स्थापनाका ७५ वर्षमा आन्दोलनभित्र देखापरेका संशोधनवादी, विचलनकारी विचार र व्यवहारले भने आन्दोलनलाई निरन्तर क्षति पु¥याउँदै आएको छ तर पनि मालेमावादी क्रान्तिकारी आन्दोलनले संशोधनवादी विचार र व्यवहारलाई चुनौती दिँदै कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धाराबाट विचलित हुन दिएको छैन । पछिल्लो समयमा माओवादी धाराका दुई कम्युनिस्ट पार्टी नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकताले नेपालमा क्रान्तिकारी आन्दोलनका लागि फेरि नयाँ शिराबाट मालेमावादी क्रान्तिकारीहरूबीच ध्रुवीकरण आरम्भ गरेको छ र यसले क्रान्ति सम्पन्न गर्ने नेकपा स्थापनाकालदेखिको लक्ष्य र नेपाली जनताको आवश्यकता पूरा गर्ने विश्वास बढाएको छ ।
पुष्पलालले २००६ सालमा स्थापना गरेको कम्युनिस्ट पार्टीका क्रान्तिकारी आदर्शहरू जीवित छन् । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच यही वैशाख १८ गते हुने एकता घोषणा र यसले निर्माण गर्ने क्रान्तिको खाकाले नै पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीको लक्ष्य, उद्देश्य र महान् लेनिनद्वारा स्थापित सार्वभौम मालेवादी सिद्धान्तको औचित्य पुष्टि गर्दै अघि बढ्नेछ ।
विश्वकम्युनिस्ट आन्दोलनमा मात्र नभएर माक्र्सवादको प्रयोग र विकासमा लेनिनको अद्वितीय योगदान रहेको छ । त्यसैले लेनिन एक भव्य मानव हुनुहुन्छ । सन् १८९२ देखि लिएर नमरुन्जेलसम्म आफ्नो जीवनको सम्पूर्ण समय कम्युनिस्ट क्रान्तिकारी सङ्घर्षमा लगाउनुभएका भ्लादिमिर इल्यिच लेनिन विश्वकम्युनिस्ट आन्दोलनका महान् गुरु हुनुहुन्छ । सन् १८७० अप्रिल २२ मा रुसको सिम्बिस्र्कमा जन्मनुभएका लेनिनले माक्र्सवादको सही प्रयोग मात्र गर्नुभएन, माक्र्सवादका ३ सङ्घटक अङ्गहरूमा विकास गरेर माक्र्सवादको विकास र लेनिनवादको प्रतिपादन गर्नुभयो । माओले त्यही लेनिनवादको सफल प्रयोग गर्दै माओवादका आधारहरू तयार पार्नुभयो, चीनलाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त पार्दै जनवादी क्रान्तिसहित समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो र महान् सर्वहारा सांस्कृतिक क्रान्ति अघि बढाउनुभयो ।
लेनिनले क्रान्तिकारी कम्युनिस्ट पार्टीका बारेमा नै नयाँ अवधारणा निर्माण गर्नुभएको थियो । यस्तो खालको सङ्गठनात्मक पद्धतिलाई लेनिनवादी पद्धति भनिन्छ । त्यसलाई नयाँ ढङ्गको पार्टी पनि भनिन्छ । लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति भएको १ सय ६ वर्ष भइसकेको छ । माक्र्सवादलाई दह्रोसँग पकड्दै नयाँ विकास गर्न सक्नुको परिणाम नै महान् अक्टोबर क्रान्ति सम्पन्न हुनु थियो । लेनिनले आफ्नो पालामा कम्युनिस्ट आन्दोलनको कार्यभारलाई समाल्दै रुसी समाज र विश्वको अध्ययन मसिनो गरी गर्नुभयो । उहाँले आविष्कार गरेका कैयौँ विषयहरूमध्ये कम्युनिस्ट पार्टीको साङ्गठनिक पद्धति हो । अहिलेसम्म लेनिनवादी सङ्गठनात्मक पद्धतिभन्दा नयाँ र वैज्ञानिक पद्धतिको विकास भएको छैन । त्यसैले लेनिनको सङ्गठनात्मक पद्धतिको खोज पनि एउटा महत्वपूर्ण योगदान हो ।
लेनिनले माक्र्सपछि अर्थशास्त्रमा नयाँ खोज गर्नुभयो । एकाधिकार पुँजीवादको व्याख्या गर्नुभयो । राजनीतिलाई अर्थतन्त्रको केन्द्रीय अभिव्यक्तिका रूपमा परिभाषित गर्नुभयो । साम्राज्यवादीहरूले आफ्नो सङ्कट र अन्तरविरोधलाई हल गर्न एकाधिकार पुँजीवादी नीति अवलम्बन गरेका थिए जसलाई लेनिनले सन् १९०० देखि प्रतिस्पर्धात्मक पुँजीवाद एकाधिकार पुँजीवादमा बदलिएको विश्लेषण गर्नुभयो । त्यसको १० वर्षपछि लेनिनले साम्राज्यवादबारे खोज गर्नुभयो । उहाँले ‘साम्राज्यवाद भनेको पुँजीवादको विकसित र मरणासन्न अवस्था’ रहेको पत्ता लगाउनुभयो । साम्राज्यवादको वास्तविक चरित्र बुझ्न सकेका कारण रुसमा समाजवादी क्रान्ति सफल हुन सकेको थियो । अहिले पनि विश्वको उत्पीडनको आधार साम्राज्यवादी नै रहेको छ ।
लेनिनभन्दा अघि क्रान्ति गर्ने पार्टीको सङ्गठनात्मक अवस्था कस्तो हुन्छ भन्नेबारेमा खासै धारणा तय भएको थिएन । लेनिनले नयाँ ढङ्गको पार्टी निर्माणको अवधारणा ल्याउनुभयो । त्यस अवधारणालाई लेनिनवादी सङ्गठन पद्धति भन्ने गरिएको छ । अहिलेसम्म सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले यसै पद्धतिलाई पछ्याइरहेका छन् ।
लेनिनले उहाँकै शब्दमा अर्थोडक्स माक्र्सवादीहरूका विरुद्धमा एउटा किताब नै तयार पार्नुभयो– भौतिकवाद र अनुभवसिद्ध आलोचना । यो विशुद्ध आलोचना मात्र नभएर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा थप विकास पनि थियो । १८७१ मा केवल ७२ दिन मात्र टिकेको पेरिस कम्युनले वैज्ञानिक समाजवादको व्यावहारिक पुष्टि गरेको थियो । तर माक्र्सको समयभन्दा लेनिनको समयमा केही परिवर्तन भैसकेको थियो । त्यसैले लेनिनले क्रान्तिको नयाँ बाटो खोज्नुभयो– अक्टोबर क्रान्ति । उहाँको विचारअनुसार क्रान्ति सफल मात्र भएन, समाजवादी नीतिमा आधारित पहिलो राज्यव्यवस्था नै स्थापना भयो ।
लेनिनले अन्तर्राष्ट्रियतावादको पनि व्यावहारिक अभ्यास गर्न तेस्रो अन्तर्राष्ट्रियको कार्यक्रमलाई अगाडि बढाउनुभयो । त्यसैले लेनिनको समयदेखि समाजवादी आन्दोलन सुदृढ हुँदै गएको थियो । त्यसैले विश्वको एकतिहाइ भूभागमा समाजवादी क्रान्ति पनि सफल भएको थियो । उहाँले अन्तर्राष्ट्रियतावाद र सर्वहारा अधिनायकत्वको विकास र कार्यान्वयन गर्नुभयो । लेनिनका यिनै योगदानहरूले विश्वका सर्वहाराहरूले उहाँलाई सम्झिरहेका छन् । त्यसमा पनि सच्चा माक्र्सवादीहरूले उहाँलाई सम्झिने मात्र होइन, उहाँले प्रतिपादन गरेका वैचारिक पक्षहरूलाई आत्मसात गर्न जरुरी छ ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष भएको छ । यी ७५ वर्षमा कम्युनिस्ट आन्दोलनले महत्वपूर्ण गति पनि लिएको छ । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच भएको यो एकताको निर्णयले नेपालमा मालेमाको सही उपयोग अर्थात् क्रान्ति सम्पन्न गर्ने एउटा महत्वपूर्ण ढोका खुलेको छ । लेनिन दिवस र पार्टी स्थापना दिवसका साथै पार्टी एकताको सबै क्रान्तिकारी, मालेमावादीहरूलाई हार्दिक शुभकामना !सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :