तीन पार्टीद्वारा मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता

तीन पार्टीद्वारा मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) ले संयुक्त वक्तव्य जारी गरी महोत्तरीको बर्दिबासबाट १२ दिनको पैदलयात्रापछि मिटरब्याजपीडितहरू काठमाडौँ आइपुग्दा उनीहरूका समस्या समाधान गर्न पहल गर्नुको साटो आन्दोलनकारीका लागि खाना तथा कपडाको सहयोग गर्न चाहनेहरूलाई सहयोग गर्न नदिने र आन्दोलनकारीलाई रातभर चिसो सडकमा भोकै सुत्न बाध्य पार्ने प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको घोर अमानवीय तथा गैरजिम्मेवारपूर्ण व्यवहारको तीव्र विरोध तथा भत्र्सना गरेका छन् । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, क्रान्तिकारी माओवादीका प्रवक्ता प्रतीक र मशालका प्रवक्ता रामबहादुर बुढाले मङ्गलबार जारी गरेको वक्तव्यमा मिटरब्याज पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘केही वर्षयता नेपालमा स्थानीय सूदखोर, बैङ्क तथा लघुवित्तीय संस्थाहरूबाट मिटरब्याजी शोषण चर्को गरी मौलाउँदै आएको छ । नेपाल सरकार र पीडितहरूका बीचमा समस्या समाधानका लागि सम्झौताहरू पनि भएका छन् । तर समस्या समाधान हुनुको साटो अरू बल्झिँदै गएको छ । ंयसका पछाडि सम्झौता गरेर पीडितहरूप्रति सहानुभूति रहेको देखाउने तर पीडकहरूलाई कारबाही नगरी तिनको संरक्षण गर्ने नेपाल सरकारको द्वैधचरित्र जिम्मेवार छ । हामी यसको तीव्र विरोध गर्दै पीडितहरूलाई ऋणमुक्त गर्न, तिरेको बढी रकम फिर्ता गर्न र पीडकहरूलाई उचित कारबाही गर्न जोडदार माग गर्दछौं ।’
वक्तव्यमा अगाडि भनिएको छ, ‘मिटरब्याजी शोषणका पछाडिको मूल कारण नेपालको प्रतिक्रियावादी राज्यसत्ता र दलाल पुँजीवादी संसदीय व्यवस्था हो । संसदीय व्यवस्थाको अन्त्य र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको स्थापना मिटरब्याजीलगायत सबै प्रकारका शोषण तथा उत्पीडनबाट नेपाली जनतालाई सधैँका लागि मुक्त गर्ने एक मात्र बाटो हो । यही दिशामा अगाडि बढ्नका लागि हामी मिटरब्याज पीडितलगायत सम्पूर्ण शोषित तथा उत्पीडित जनतामा हार्दिक अपिल गर्दछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :