शान्तिको कुरा नगर

कविता
म आकाशतिर हेर्छु
बादल उही छ
कुइरो उही छ
कतैतिर नहेरुँ भन्छु
कुरो उही छ
बस्छु– पीडा उही छ
सुत्छु– चिन्ता उही छ
कविता पढ्न थाल्छु
बिम्ब उही छ
यद्यपि सबै कुरा उही छ
तापनि शीर्षक उही छ भन्न सकिन्न
यहींनेर म अधःपतन भएको छु
शान्तिको कुरा नगर ।
म हावामा हेर्छु
गाली उही छ
क्षितिजतिर हेर्छु
बन्दुक उही छ
अनि मान्छेमा हेरिरहेछु
हा उही छ
चौतर्फी हेर्छु
निशाना उही छ
पत्रिका पढ्छु
घाउ बोकेको छाती उही छ
गाउँहरुमा घुम्न जान्छु
क्रूरता उही छ
बुद्धिजीवीहरुसँग कुरा गर्छु
सत्ता उही छ
धरतीमा हेर्छु
त्रसित बस्ती उही छ
कोठामा आएर बस्छु
यद्यपि यावत् कुरो उही छ
केवल
आदेशलाई यसरी फेरिएकोछ कि
खै ! के कुरा गरुँ !!
कारागारभित्रको कडा निगरानी
उही छ म भन्छु
शान्तिको कुरा नगर
नगर, शान्तिको कुरै नगर ।
नरुने कै हो त्यो रात
चाहिएको एउटा सुनौलो बिहान थियो
चाहिएन यो रात पनि
तिमीसँगै छिप्पिराखोस्
म अस्वस्थ छु तिम्रो शान्तिमा रमाउन
शान्तिको कुरा नगर
शान्तिको खेल खेल्ने केटाकेटीहरु पनि
सडकमा शान्ति–शान्ति नभन
सडकहरु फैलिन पाउनुपर्छ
शान्तिको कुरा नगर
नगर, शान्तिको कुरै नगर ।

स्रोत : रातो खबर साप्ताहिक

२०७४ भदौ २८ गते ७ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :