त्यो रात जङ्गलमै बास बसियाे

२०६१ साल फागुन महिनाको २८ गते हुम्ला जिल्लाको मइला गाउँमा राता–राता झन्डा ब्यानर र महान् दार्शनिकहरू माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका भनाइहरू लेखेर सजाइएको रातो हलमा ‘एकीकृत अग्रगामी रूपान्तरण अभियान’ को अन्तिम समीक्षासहित अभियानको समापन गरेर हाम्रो विसु जनसांस्कृतिक कम्पनी माथिल्लो बाजुरा, कालिकोट हुँदै आफ्नो कार्यक्षेत्रतिर फर्किंदै थियो । बाटोमा अधिकांश साथीहरूका घर पनि परेकाले छोटो घर भेटघाटको योजना बनायौँ । कालिकोटको रूपसालाई सम्पर्क स्थान बनाएर कालिकोटतिरका सबै साथीहरू आ–आफ्नो घर भेटघाटमा गयौँ । झन्डै ५/७ महिना भइसकेको थियो घर नभेटेको । बाहिरका साथीहरूलाई एक– एकजना साथमा लिएका थियौँ । मैले भाइ असीमलाई साथमा लिएको थिएँ । उहाँ अछाम, पुल्लेतोलाको हुनुहुन्थ्यो ।

हाम्रो अन्तिम सम्पर्क स्थान अछामको रामारोशन थियो । भेरी–कर्णालीको भौगोलिक विकटताका कारण हाम्रो विसु सांस्कृतिक सैन्यकम्पनी ‘एकीकृत अग्रगामी रूपान्तरण अभियान’ पूर्ण सफल पार्नका लागि जाजरकोटबाट दुई टोली विभाजित भएर बाँके, बर्दिया, डोल्पा, सुर्खेत र जाजरकोटका लागि एउटा र कालिकोट, हुम्ला, जुम्ला मुगु र दैलेखका लागि अर्को गरिएको थियो । तल्लो क्षेत्रमा क. आकाश कमान्डर क. सङ्गीता भीसी अनि क. स्वर्णिम, क. जीवित, क. सान्त्वना, क. वीरतालगायतको टोली थियो भने माथिल्लो पहाडी भू–भागमा क. एमबी सर्वहारा कमान्डर र क. हिमशिखर भीसी अनि क. पर्वत, क. बबिता, क. रेश्मी, क. हिमचुली, क. कुशल बोगटी, क. प्रतिभा चौधरी, क. वस्ती, क. असीम, क. अपारलगायतका साथीहरू उकालो लागेका थियौँ । हामी अछामको रामारोशन पुगिसकेपछि निर्धारित समयमा दोस्रो टोली सम्पर्क स्थानमा नआइपुगेका कारण हामीलाई बाजुरामा केही कार्यक्रम लिएर जाने निर्देशन पार्टी एचक्युबाट प्राप्त भएपछि हाम्रो यात्रा रामारोशनबाट बाजुरातिर मोडियो । क. एमबी काम विशेषले मुगुबाट हाम्रो टोलीमा हुनुहुन्थेन । त्यसपछि टिमको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आएको थियो । रामारोशनबाट ऋषिदह पुग्नका लागि बीचमा एउटा अजङ्गको पहाड पार गर्नुपर्छ । यद्यपि त्यस्ता लेक हाम्रा लागि नौलो भने थिएनन् । त्यस्ता सयौँ पहाडहरू छिचोलिसकेका थियौँ हामीले ।

२०६१ सालको चैत महिनाको त्यस्तै आधीतिर हो, बाजुरा जिल्लाका डीसीएस क. क्षितिजको सम्पर्कमा पुग्नु थियो हामी । बाटोभरि नयाँ पालुवाहरू रक्ताम्य गुबा बनेर अङ्कुराउँदै थिए । लेखी फूलहरू आफ्नै धूनमा हाँसिरहेका थिए, रोइरहेका थिए । कति रमाइला थिए ती दिनहरू ! समयमै उक्त पहाड काटेर ऋषिदहमा पुग्यौँ सफलतापूर्वक । आधारइलाका भएकाले दुश्मनसँग जम्काभेट हुने डर थिएन हामीलाई । साथीहरूले फूलमाला र रातो टीका लाएर स्वागत गरे बाजुरा जिल्लामा प्रवेश गरेकोमा । डीसीएस क. क्षितिजले पार्टी जिल्ला समितिको बैठक छतारामा सम्पर्क स्थान बनाएर बोलाउनु भएको रहेछ । हाम्रो टोलीमा रहेका पार्टी साधारण शाखा सदस्यस्तरका साथीलाई बैठकमा आमन्त्रण गरिएको थियो । चैत १७ गतेदेखि २० गतेसम्म जिल्लाको समीक्षात्मक बैठक र प्रशिक्षण भव्य र शानदार तरिकाले सम्पन्न भयो । त्यसबखत पार्टीमा दुईलाइन सङ्घर्ष चर्को रूपमा चलिरहेको थियो । डा. बाबुराम भट्टराईले आफ्नो ४ बुँदे असहमति– पत्रसहित फरक विचार पार्टीमा दर्ज गराएर लाइनको बहस चलाएका थिए । यस बहसले युद्ध लडिरहेको पार्टीमा सङ्कट उत्पन्न गराइरहेको थियो ।

हामी ‘एकीकृत अग्रगामी रूपान्तरण अभियान’ कै निरन्तरतामा थियौँ । यद्यपि हुम्लामा अन्तिम समीक्षा तथा समापन कार्यक्रम गरेर आएका थियौँ । बाजुरा जिल्लाको विकट बस्ती दहकोट र मानाकोटमा जनसांस्कृतिक टोलीको अभियान चलाउनुपर्ने जिल्ला पार्टीको निर्णयपश्चात हामी त्यतातिरको यात्रामा पुनः हान्नियौँ । डीसीएस क. क्षितिजले केही खर्चको जोहो मिलाइदिनुभयो । कालिकोटका क. सगरमाथा र क. रोशन त्यस क्षेत्रका इन्चार्ज र एसीएस हुनुहँुदो रहेछ । “उहाँहरूलाई हिजै चिठी पठाइसकेको छ, तपाईंहरू ढुक्क भएर जानुहोस् ।” बिदाइ गर्नेबेला डीसीएस कमरेडले भन्नुभयो । उहाँहरू मेरा पूर्व परिचित साथीहरू पनि हुनुहुन्थ्यो । सजिलै हुने भयो, मनमनै सोचेँ ।

सबेरै बिहानको खाना खाएर भौनेरा, घच्मुना र काल्च्याको भीडको उकालो लाग्यौँ । हामीसँग भूगोलका जानकार रुट–गाइडर कोही थिएनन् । हामीमध्ये कोही पनि कसैलाई थाहा थिएन त्यो बाटो । सबै नयाँ थियौँ त्यो यात्राका लागि । सुरक्षाका कारण हामी कहाँ जाँदैछौँ भनेर धेरै हो हल्ला गर्नुथिएन गाउँमा । बाटो सोध्ने कुरा पनि भएन । हरियो घाँसमा बिषालु सर्प लुकेझैँ सर्वसाधरण जनताकै माझमा जालीफटाहाहरू लुकिबसेका हुन्थे । झोलामा मौजाद सातु र भटमास, चाउचाउ र बिस्कुटका एक–एक पाकेट थप्यौँ सबैले । समयमै पुगिहालिन्छ भन्ने लागेको थियो । उकालोमा खाँदै जाँदा भने जति हिँड्न सक्नुभएन भाइबैनीहरू लेक लागेर । जति उकालो चढ्यो, त्यति थपिएझैँ लाग्दै थियो पहाड । आहा ! कति रमाइलो थियो त्यो यात्रा । क्रान्तिकारी जोश र जाँगर भरिएका कलिला युवायुवतीहरूले ‘मरे सहिद बाँचे मुक्ति’ को कसम खाएका थिए । नयाँ संस्कृति र संस्कारको बीजारोपण गर्दै हिँडेका सांस्कृतिक क्रान्तिका यात्री थियौँ हामी । लेकैभरि लालीगुँरास ढकमक्क भई रातो पछ्यौरी ओडेर सजिएकी दुलहीझैँ सिँगारिएका थिए गुँरासका बोटहरू । लेकको बाटो घना जङ्गल, लेखिगुँरास, लालीगुँरास, धुपी सल्ला, दारसल्ला र गोब्रेका बोटहरू बाक्लोगरी उम्रेका थिए केही स–साना थिए भने केही अजङ्गका थिए रुखहरू । दिउँसै अनकन्टार र अत्यासलाग्दो थियो त्यो ठाउँ । जङ्गली जनवारहरू यत्रतत्र देखिन्थे । भाइहरू लखेटेर छोपौँ दाइ भन्दै थिए जोसिएर । यात्रा मनमोहक नै थियो प्राकृतिक सौन्दर्यले । जति उकालो चढ्दै गयो, त्यति उराठलाग्दा पहाडहरू देखिँदै थिए टाढा–टाढाका । सायद चैत महिना भएर होला । आकाश पूरै खुलेको थियो । रमाइलो अनुभव गर्दै लेखिपाटनमा बसेर एउटा गीत गायौँ । गीत यस्तो थियो ः
फुल्दैछ लेकैमा फूल युद्धको कोपिला बनेर
खुल्दैछ बिहानी अब कालो त्यो अँध्यारो चिरेर ।
घडीको सुईले बेलुकीको ५ बजाइसकेको थियो । हामीले उकालो पूरै खाएका थिएनौँ तर लेक भएर होला, घामले भने डुब्ने सङ्केत देखाएको थिएन । आधा दिन बाँकी जस्तो आभास भइरहेको थियो । “औलको घाम डुबे आधा दिन हुन्छ, लेखको घाम डुबे आधा रात हुन्छ ।” बूढापाकाले भनेको सम्झेँ । मन छटपटिन थाल्यो, यात्रा अनिश्चितजस्तै बन्दैछ, भूगोलको पटक्कै जानकारी छैन । सबै मुखामुख गर्न लाग्यौँ । एउटा डाँडो काटेपछि अर्को खोलो देखाप¥यो । अब पुनः अर्को लेक काट्नुपर्ने भयो । समय ढल्किसकेको छ । अलि तल पाटनमा बाटो बिराइसकेका रहेछौँ, पछि मात्र थाहा भयो । फेदीमा गोठालासँग सोधेर नक्सा बनाएका थियौँ, त्यो नक्सा नै फेल खायो । अब नआत्तिएर उचित निर्णय लिनुबाहेक हाम्राअगाडि अरू विकल्प थिएन । अब अलि छिटो हिँड्ने र त्यो उकालो घाम छँदै काट्ने निर्णय ग¥यौँ र सबैलाई छिटो छिटो हिँड्न आग्रह गरेँ । बिस्कुट र चाउचाउ अघि नै खाइसकेका थियौँ । खोलामा झरेर पानीसँग सातु खायौँ । त्यसपछि लगातार एकछिन् पनि आराम नगरी उकालो चढ्यौँ । डाँडामा पुगेपछि सूर्य धिपिक्कै निभ्यो । चराहरू बास खोजेर कराइरहेका थिए । पर कतै बाघको गर्जन सुनिँदै थियो । मृगहरू आफ्नो वासस्थानतिर फर्किरहेका होलान् । लेकको टुप्पोमा एकछिन् विश्राम ग¥यौँ । पसिना ओभाएर लेकको सिसेटोले जीउलाई छोइसकेको थियो । गर्मी मौसम बढिसकेकाले हुम्ला र मुगुमा बोकेका स्लिपिङ र कम्बलहरू रामारोशनमा थन्काएर आएका थियौँ । हामीलाई निरीह देखेर चिसोले पनि पौठेजोरी खोजिरहेको थियो । परिवेश प्रतिकूल बन्दै गइरहेको थियो । झ्याउँकिरी र निन्नेराले आफ्नो गोधुली सङ्गीत बजाइरहेका थिए । हामी भने लेकको टुप्पोबाट ओरालोतिर आफ्ना पाइला चालिरहेका थियौँ । १५ मिनेट ओरालो झरेपछि छोडेका गोठहरू भेटिए । आज यतै बास बस्ने निर्णय ग¥यौँ । अलि पछि दुईजना गाउँलेहरू देखापरे । तिनीहरू सिकारी रहेछन् । बाठो पर्वतले तिनीहरूको हातमा रगत लागेको पहिल्यै देखिसकेको रहेछ । त्यो कुरा उसले मलाई रिपोर्ट गरिसकेको थियो । तिनीहरू हामीलाई देखेर डराइरहेका थिए । हामी भने उनीहरूको साथ भेटेर खुसी भइरहेका थियौँ । उनीहरूलाई बाटो बिराएका यात्री हौँ भन्दै सविस्तार सम्झाई बुझाई ग¥यौँ । हाम्रो यात्राको अर्थ, औचित्य र महत्वबारे सायद प्रस्ट भए उनीहरू । बल्ल उनीहरू नजिक आए र आफूहरू सिकारी भएको र एउटा मृगको सिकार आफूहरूसँग भएको खुलासा गरे । उनीहरूको मूल्यभन्दा ५०० ज्यादा तिरेर हामीले त्यो सिकार किन्यौँ । उनीहरूसँग नै केही भाँडाकुँडा र नुन पनि रहेछ । भाँडो सानो भएकोले अलि–अलि गर्दै पकाएर हाम्रो टोलीले त्यसकै भोजन ग¥यौँ र त्यो रात जङ्गलमै बास बस्यौँ । भोलिपल्ट झिसमिसेमै आफ्नो यात्रा अगाडि बढायौँ– लेकबाट ओरालो गाउँतिरको ।

२०७४ भदौ २७ गते २२ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :