जुछे विचार र सङ्गुन नीतिबारेमा नेपालमा राष्ट्रिय स्तरको गोष्ठी गर्ने निर्णय

जुछे विचार र सङ्गुन नीतिबारेमा नेपालमा राष्ट्रिय स्तरको गोष्ठी गर्ने निर्णय

काठमाडौँ : जनगणतन्त्र कोरिया र त्यहाँको व्यवस्थालाई माया गर्ने नेपालमा क्रियाशील सङ्घसंस्थाको पहलमा कोरियाली नेता किम इल सुङ प्रतिपादित जुछे विचार र किम जोङ इल प्रतिपादित सङ्गुन नीतिका विषयमा नेपालमा राष्ट्रिय स्तरको विचारगोष्ठी र प्रदर्शनी हुने भएको छ ।

काठमाडौँमा सोमबार नेपालस्थित जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानको उपस्थितिमा कोरियासँग सम्बन्धित सङ्घसंस्थाका प्रमुखको बैठकले यही चैत २२ गते बुधबार (अप्रिल ५ मा) काठमाडौँमा जुछे विचार र सङ्गुन नीतिका विषयमा विचारगोष्ठी गर्नुका साथै कोरियासँग सम्बन्धित सङ्घसंस्थाले गरेका गतिविधि समेटिएका तस्बिर र पुस्तकसमेत प्रदर्शन गर्ने निर्णय गरेको छ । कार्यक्रम प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभा कक्षमा आयोजना हुने जनाइएको छ ।

बैठकमा राजदूत जो योङ मानले कोरियाली समाजवाद र कोरियाली नेताहरूद्वारा प्रतिपादित विचारप्रति नेपालका समाजवादीहरूको गहिरो रुचि र चाहना रहेको बताए ।

नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष सीपी मैनालीले नेपालका राजनीतिकर्मी, शासक र जनताले कोरियाली समाजवादबाट सिक्नुपर्ने बताए ।

नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका अध्यक्ष अशोक सुवेदीले कोरियाली जनताले राष्ट्रियता र समाजवाद स्थापनाका लागि साम्राज्यवादविरुद्ध लडेको युद्ध संसारकै देशभक्त र क्रान्तिकारीहरूका लागि प्रेरणादायी रहेको बताए ।

कोरियाली समाजवाद अध्ययनसँग सम्बन्धित एक संस्थाका प्रमुख नहेन्द्र खड्काको पहलमा आयोजित बैठकमा कोरियाली दूतावासका कन्सुलर किम जे एच, नेपाल–कोरिया मैत्री सङ्घका महासचिव फणिन्द्रराज पन्त, शङ्कर भारती, वसन्त श्रेष्ठ, चेतन कुँवर, गणेश चितौरेलगायतको सहभागिता थियो ।

कार्यक्रममा नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका सल्लाहकारसमेत रहेका नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंहद्वारा लिखित तथा मञ्चका अध्यक्ष सुवेदीद्वारा सम्पादित ‘वैज्ञानिक समाजवादका आधारहरू’ पुस्तक राजदूत जो योङ मानलाई हस्तान्तरण गरिएको थियो । उक्त पुस्तकको सार्वजनिकीकरण तथा नेकपा (बहुमत) का संयोजक कञ्चनले तयार पारेको अवधारणापत्र ‘वैज्ञानिक समाजवादको अपरिहार्यता’ विषयमा मञ्चले मङ्गलबार काठमाडौँमा अन्तरक्रियात्मक गोष्ठीसमेत गर्दैछ । राजदूत जो योङ मानले अन्तरक्रिया÷गोष्ठी कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :