‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ सम्बन्धमा काठमाडौँमा आज चार दलको अन्तरक्रिया

‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ सम्बन्धमा काठमाडौँमा आज चार दलको अन्तरक्रिया

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (माओवादी) ले आज काठमाडौँमा ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गर्दैछन् ।

नेकपा (बहुमत) केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार आज मध्याह्न काठमाडौँ अनामनगरस्थित संवाद डबलीको सभा कक्षमा चार राजनीतिक दलका साथै सरोकारवाला पक्षहरूका बीच अन्तरक्रिया आयोजना गरेका हुन् ।

जनयुद्ध लडिरहेको पार्टी नेकपा (माओवादी) निरङ्कुश राजतन्त्र अन्त्य गर्न संयुक्त रूपमा आन्दोलित हुने सहमतिसहित सात संसद्वादी दलसँग ‘शान्ति प्रक्रिया’ मा आएपछि तत्कालीन सत्ता पक्ष र माओवादीको मुख्य नेतृत्वबीच ‘शान्ति सम्झौता’ भएको थियो । सरकारले जनयुद्धकालीन विषयहरूलाई ‘सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ को माध्यमबाट टुङ्गो लगाउने सहमति गरेको भए पनि झन्डै दुई दशकसम्म इमानदारीसाथ प्रक्रिया अघि नबढ्दा र ‘शान्ति प्रक्रिया’ निष्कर्षमा पुर्याउन गठन गरिएका निकायबाट नभएर नियमित कामकार्य गर्ने अदालतको सहयोग लिएर माओवादीविरुद्ध आतङ्क उत्पन्न गराउन खोजिएपछि माओवादी वृत्त सरकारका गतिविधिसँग सशङ्कित बनेको छ । सरकार र विद्रोही माओवादीबीच विगतमा भएका सहमति लागू गर्न सत्ता पक्ष किन तत्पर र इच्छुक छैन वा यो विषयलाई बारम्बार किन विवादित बनाइरहेको छ भन्ने विषय हिजो जनयुद्धमा लामबद्ध सबै पक्षको चासो र चिन्ताको विषय बनेको सन्दर्भमा चार कम्युनिस्ट पार्टीले आज आयोजना गरेको अन्तरक्रियालाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :