नेकपा (बहुमत) द्वारा पार्टीका रूपन्देही संयोजक विजयलाई अविलम्ब रिहा गर्न माग

रूपन्देही / नेकपा (बहुमत) लुम्बिनी ब्युरोले पार्टीका ब्युरो सदस्य एवम् रूपन्देही जिल्ला संयोजक विजयलाई चैत १ गते राती १२ः४० बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा नवलपरासी प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै अविलम्ब रिहा गर्न माग गरेको छ ।

ब्युरो इन्चार्ज शार्दूलले विज्ञप्ति जारी गर्दै राज्यले गरेको दमन, धरकपड र गिरफ्तारीको घोर भत्र्सना पनि गरेका छन् । राज्यले लघुवित्त संस्थाबाट पीडित जनतालाई न्याय दिनुको सट्टा जनताको घरमा प्रहरी पठाई धम्क्याउने, घर सर्च गर्ने, घेरा हाल्ने र गिरफ्तार गर्ने गरेको भन्दै लघुवित्त संस्थाबाट पीडित जनतालाई न्याय दिन र गिरफ्तार गरी हिरासतमा राखिएका जिल्ला संयोजक विजयलाई तुरुन्त रिहा नगरिए त्यसबाट उत्पन्न परिणामको जिम्मेवार राज्य आफैँ हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

शार्दूलले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो देशमा दलाल राज्य व्यवस्थाको राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरेका तीन प्रकारका लघुवित्त संस्थामध्ये खुद्रा कारोबार गर्ने लघुवित्त संस्थाले विपन्न र न्यून आय भएका जनतालाई सदस्य बनाएर ऋण प्रवाह गर्ने गरिरहेको र लघुवित्तले ऋण प्रवाह गरेर जनताको जीवनस्तर उठाउनुको सट्टा जनताको उठीबास बनाएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र बैङ्कको भन्दा चौबर ब्याज लिने गरेको छ । विपन्नलाई झन् गरिब बनाउँदै लगेको छ । मासिक किस्ता असुल गर्दा ऋणीहरूको सामाजिक बदनाम गर्ने, आत्महत्या गर्न दुरुत्साहन गर्ने, गाली–बेइज्जती गर्ने, धम्क्याउने, मनपरी सेवाशुल्क काट्ने, जनताको जिन्सी, मोबाइल, खसीबाख्रा जफत गर्ने र असभ्य अभद्र व्यवहार गर्दै आएको छ ।’

अगाडि भनिएको छ, ‘लघुवित्त संस्थाका कारण ऋणीहरूको जङ्गलमा हप्तौँ बास हुने गरेको र पटकपटक गरी दर्जनौँले आत्महत्या गरेको समाचार सार्वजनिक भैरहेका छन् । आज लघुवित्त संस्थाहरू नवसामन्त भै जनतालाई धेरै दुःख दिइरहेका छन् । दलाल राज्य व्यवस्था भए–रहेसम्म जनताका समस्या कहिल्यै हल हुँदैनन् । यो दलाल पुँजीवादी सत्ताको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने आन्दोलनमा एकताबद्ध भई अगाडि बढ्न जरुरी छ ।’

शार्दूलले लघुवित्त संस्थाहरूले गरिब जनतामाथि गरेको अन्याय र अत्याचारको विरुद्ध नेकपा (बहुमत) आन्दोलनमा रहेको र यसै क्रममा लघुवित्त संस्थाको ज्यादतीका विरुद्ध पार्टीको २०७९ चैत १ गते जनतामारा लघुवित्त संस्थाको कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको पनि विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :