प्रचण्ड, बाबुराम र उर्मिलाहरु

मेरो मेरुदण्डको थोर्याक्सी भर्टिब्रेटा नम्बर सात, आठ, नौ र दस ब्याम्बो उडन (बाँस सुकेको जस्तो) भएको भनी वीर अस्पतालका डाक्टर दीर्घराज आरसीको टिमले पत्ता लगायो । यसको उपचार नेपालमा नहुने भएकाले विदेश जानका लागि सल्लाह दिए । सङ्गठनका साथीहरूको आर्थिक सहयोगमा म उपचारका लागि भनेर गत फागुनमा दिल्ली गएँ । त्यहाँबाट फर्किंदा बुटवल हुँदै आउँदा मलाई पाल्पाको कचहल जाऊँजस्तो लाग्यो । शारीरिक रूपमा धेरै समय उभिन नसक्ने, लामो समय पैदल हिँड्न नसक्ने र गाडीमा लामो यात्रा गर्न नसक्ने भैसकेको छु म । मलाई अबका दिनमा फेरि योभन्दा बढी स्वास्थ्य बिग्रिएला र मैले चाहेको स्थानमा पैदल हिँड्न नसकूँलाजस्तो लाग्यो । पार्टीभित्रको अन्तरसङ्घर्ष तीव्र भैराखेको थियो । कुनै पनि समयमा पार्टी विभाजन हुन सक्थ्यो । त्यसपछि आन्दोलनमा कहाँ र कस्तो जिम्मेवारी पर्ने हो, थाहा हुने कुरा भएन । त्यसैले फेरिफेरि कचहल जाने वातावरण बन्छ कि बन्दैन ? भन्न सकिने अवस्था थिएन । कचहल एकपटक म जानैपर्ने ठाउँ हो । बुटवल आएको यसैपालि कचहल जानुपर्यो भन्ने लाग्यो । हाम्रा सङ्गठनका केन्द्रीय सदस्य गुणाखर भट्टराईको मोटरसाइकलमा चढी म २०६८ साल फागुन ६ गते बिहान सात बजे नै पाल्पाको कचहल गाविसतिर लागेँ । हामीसँग रूपन्देहीका अर्का शिक्षक केशवराज अर्याल पनि थिए । दोभानबाट हामीले सिद्धार्थ मार्गलाई छाड्यौँ । दोभान नदीमाथिको झोलुङ्गे पुल तरेर हामी कचहलतिर लागेका थियौँ । गएराती परेको पानीले कच्ची बाटो हिलाम्मे भएकाले मोटरसाइकल चलाउन अप्ठ्यारो परिराखेकाले अधिकांश ठाउँमा पैदल हिँड्नु परेको थियो । मोटरसाइकल चलाउन असाध्यै अप्ठ्यारो परिराखेको थियो ।

लेखक : गुणराज लाेहनी

एघार बजे मात्र हामी लड्दैपड्दै कचहल गाविस भवन पुगेका थियौँ । त्यहाँ एकदिने आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन भएको रहेछ । गाविसको प्राङ्गणमा रहेको एक मात्र गाउँले होटेलमा मीठो मानी खाना खायौँ । त्यहाँ बसिन्जेल मलाई देखेका, चिनेका र नाम सुनेका मान्छेहरूको सासानो भीड जम्मा भयो । यो यस्तो गाउँमा अहिले किन आयो होला भन्ने जिज्ञासात्मक प्रश्नवाचक उनीहरूको मुखाकृति पढ्न सकिन्थ्यो । उनीहरूका प्रश्नहरूको उत्तर दिनका लागि आफू आउनुको उद्देश्य प्रस्ट्याउनु पर्दथ्यो । मैले प्रस्ट्याएँ पनि । मेरा कुरा सुनिसकेपछि उनीहरूको मुखाकृति आश्चर्यजनक र संवेदनशील बन्न पुगेको थियो । उनीहरूमा केही गर्व, केही हीनताबोध र आश्चर्यबोध भयो भन्ने मैले अनुभूत गरेँ । मेरा लागि यी परिघटनाले रोमाञ्चकारी बनायो । हामीसँग रेवन्तबहादुर छहरी, चुमनबहादुर रायमाझी, धनबहादुर गाहा, नारायणबहादुर बुचा र हेमबहादुर बगाले जाने भए । उनीहरू बाटो देखाउँदै अगाडि लागे । त्यहाँबाट उकालो लाग्यौँ । मोटरबाटो खन्नका लागि डोजरले अलिअलि खोस्रिएको रहेछ । गेगर ढुङ्गा र ठूला ढुङ्गाले बाटो भरिएको थियो । उकालो, त्यसमा पनि बिग्रिएको बाटोका कारण हिँड्न अप्ठ्यारो भैराखेको थियो । छ वर्षको सहर बसाइ, लवाइखवाइ र मोटर यात्रा गर्ने बानीले उकालो उक्लिन हामीलाई महाभारत भएको थियो । युद्धकालभरि भारत बसेका, मीठोमीठो खाएर यमानको भुँडी बनाएका प्रचण्ड, बाबुराम र उनका सन्तान २०६१ सालका केही महिना रोल्पाका डाँडाकाँडामा घोडामा सवार भएर हिँड्नुपर्दा, दुस्मनका घेराहरू तोड्नु पर्दा, दिल्ली, मुम्बै, चेन्नई वा चन्द्रगढीका पकवानहरूको रसास्वादन गर्न नपाउँदा नै बन्दुक उठाउनु, क्रान्ति हाम्रो बशको कुरा होइन । यो त ‘मूर्ख’ हरूको काम हो भन्ने निष्कर्षमा प्रचण्ड र बाबुराम पुग्नुका धेरै कारणहरूमध्येको एउटा कारण थियो कि भन्ने मलाई लागेको थियो । जनयुद्धकालमा नै दिल्लीमा प्रचण्ड र बाबुरामसँगै बसेर सोमरसको स्वाद लिँदै ‘रोल्पा, रुकुमका बुद्धि नभएका मगरहरू मूर्खै हुन् । बत्तीमा पुतली होमिएझैँ होमिएका छन् ज्यानको परबाह नगरी…’ यस्ता संवाद गरेका कुरा नआएका होइनन् ।

डोटीबाट पैदल हिँडेर सुर्खेत, जाजरकोट, रुकुम, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, तनहुँ, गोरखा, धादिङ, चितवन, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, फेरि काभ्रे हुँदै लगातार हिँडेर काठमाडौँ पुग्ने ज्यान पनि यही हो । हामी उक्लिएको डाँडो मैले चढिसकेको न त टोप्लाको लेकजस्तो थियो, न त गोरखाको थलबाट गुम्दा जाँदाको जस्तो उकालो न त अछामको रामारोशन वा जाजरकोटका डाँडाहरूजस्ता नै थिए तर पनि सास बढेर मेरो फोक्सो कामीको खलाँतीभन्दा बढी फुकिरहेको थियो । एक घन्टाको उकालो काटेर हामी बुढीकोट पुग्यौँ । त्यहाँका स्थानीय जनता स्कुल बनाउनका लागि कोही खनिरहेका थिए भने कोही ढुङ्गा बोकिरहेका थिए । गुणाखरले पहिला यतै पढाउने काम गरेका रहेछन् । त्यसैले धेरैले उनलाई गुणाखर सर भनेर चिन्दा रहेछन्, बोलाउँदा रहेछन् । हामीले केहीबेर त्यहाँ गफ गर्यौँ । अनि उत्तरतिर लम्पसार परेको बूढीडाँडा जुन कचहल गाविसमा अवस्थित छ– को तर्पाएँतर्पाएँ बाटो हुँदै ओरालो लागियो । प्रत्येक पाइला अगाडि बढ्दै जाँदा मेरो मुटुको धड्कन त्यत्ति नै तीव्र हुँदै गइरहेको थियो । म बोल्न सकिराखेको थिइनँ । साथीहरूले विभिन्न प्रसङ्ग निकालेर कुरा गरिराखेका थिए । अलि पर एकजना मान्छे बूढा ढुङ्गामाथि बसेका रहेछन् । गुणाखरले मलाई भने– दाइ, ऊः पर

ढुङ्गामाथि झिल्के बा बस्नुभएको रहेछ ।

मैले प्रसङ्ग नै बुझिनँ । केहीबेरमा नै हामी ती बूढा बसेको ठाउँमा पुग्यौँ । एकजना बूढा मान्छे ठूलो ढुङ्गोमाथि बसेर बाँसका चोया काढिरहेका थिए । सबैले पालैपालो नमस्कार गरे । मैले पनि उनलाई दुवै हात जोडी नमस्कार गरेँ । अरूलाई त झिल्के बाले चिनेका थिए । उनका लागि म नयाँ मान्छे थिएँ । ‘यी बाबु को हुन् नि ?’, झिल्के बाले मेरो परिचय लिन खोजे ।

गुणाखरले मेरो परिचय गराए, ‘२०५९ साल भदौ ३ गते सोमबार सेनाले एकजना महिलालाई मारेको थियो नि यतै कता हो, उहाँ तिनै महिलाका श्रीमान् हुनुहुन्छ । त्यो घटना कसरी भएको थियो भनी जान्न आउनुभएको ।’ गुणाखरका कुरा सुनेपछि बुढाले अँध्यारो मुख लगाए ।
‘बालाई के–के थाहा छ, भनिदिनुस् न’, गुणाखरले विनम्रतापूर्वक अनुरोध गरे ।

झिल्के बा भन्न थाले, ‘म ऊः त्यो पाखामा गाई र बाख्रा चराइराखेको थिएँ । सेना तपाईंहरू आएको बाटो लुकीलुकी आइरहेका थिए । खप्टे गैराको झोलुङ्गे पुल तरेर तीनजना मान्छे गुनगुन गर्दै यही बाटो आए । सबैभन्दा अगाडि रक्षा थिइन् । हामीले ती नानीलाई रक्षा भनेर चिनेका थियौँ । मास्टरनी रहिछिन् । त्यसैले यताहुँदी रक्षा मेडम पनि भन्थे । मेरो नजिकै सेनाको फौजै थियो । मैले कराएर सेना आएको छ भन्न सक्ने स्थिति थिएन । हातले त इशारा गरेको थिएँ । उनीहरूले देखेनन् होला । उनीहरूको सेनासँग जम्काभेट भयो । पछाडिका दुईजना फरक्क पछाडि फर्किएर भागे । रक्षा पनि त्यसै गरी भाग्न खोजिन् । उनको खुट्टामा सेनाले गोली हान्यो । रक्षा खोच्याउँदै तल झरिन् । यही ढुङ्गाको ओढारमा लुकिन् ।’ बाले हातले लुकेको ठाउँ देखाए ।

‘सेनाले खोज्यो तर देखेन । भिरालो झर्न अप्ठ्यारै थियो । सेनाबाटै बाटो पर पुगेपछि रक्षा ओढारमा लुकेको देखेछन् । अनि अन्धाधुन्ध गोली चलाए । अब त मरी होली भन्ने ठानेर उनीहरू नजिकै गएर ताने । गोली खट्टामा मात्र लागेको रहेछ । सेनाले तँ को होस् भनेर सोधपुछ ग¥यो । उनले ‘म ऊः त्यो डाँडाको ज्ञानमाला माध्यमिक विद्यालयमा पढाउँछु’ भनिन् । सेनाले घिसार्दै डेदु दोभान (फेक र कचहलको सिमाना) मा लग्यो । उनी हिँड्न सक्ने अवस्थामा थिइनन् । स्कुलबाट प्रधानाध्यापक मोहनसिंह यादवलाई बोलाएर सेनाले ल्यायो । सेनाले प्रअलाई सोध्यो । उनले म यिनलाई चिन्दै चिन्दिनँ, कसरी हाम्रो स्कुलकी शिक्षिका हुनु ? भन्ने जबाफ दिए । ती हेडमास्टर हाम्रो स्कुलकी शिक्षिका हुन् भनिदिएको भए रक्षा बाँच्थिन् । त्यसपछि त के चाहियो र ! सेनाले वर्णन नै गर्न नसकिने यातना दिन थाल्यो । ‘भन्, तँ को होस्’ भनेर प्रश्नहरू गर्न थाल्यो । रक्षाको अनुहारबाट डर हराएको थियो । उनलाई देखेर म त अचम्मित भएँ । उनको अनुहारमा साँच्चै आतङ्क थिएन, बरु आक्रोश थियो । घृणा थियो । उनले भनिन्– म माओवादी हुँ । तिमीहरूलाई जे गर्न मन लाग्छ गर । म माओवादी पार्टीकी डीसीएम हुँ ।

त्यसपछि यातना सुरु भयो । राइफलको कुन्दाले हानेर उनका अगाडिका सबै दाँत झारिदिए । बलात्कार गरे । गुप्ताङ्गमा सुकेको खुर्सानीको धुलो छरिदिए । उनी चिच्याउँदै गइन् । उनको चित्कारले बुडीडाँडा र फेकडाँडा थर्किए । म निरीह भएर सबै कुरा हेरिरहेँ । मलाई सेनाले कतै हलचल गर्न पनि दिएन । यो बाटोमा जति पनि मान्छे ओहोरदोहोर गर्दथे । सबैलाई त्यसै गर्यो सेनाले । उनीसँग सेनाले नानाभाँतीका प्रश्न सोध्यो– तँ कुनै नेतालाई देखाइदे, कुनै नेताको नाम भनिदे । तँलाई हामी जेल चलान गर्दछौँ…। तर उनले ‘मलाई केही पनि थाहा छैन । भए पनि म भन्दिनँ । तिमीहरूले हदै भए मार्ने न हौ, मार’ भनिराखिन् ।

खोलामा बाढी आइराखेको थियो । सेनाले यही भीरबाट खसालिदियो । उनको टाउको ऊः त्यो ढुङ्गामा बजारियो । मुखबाट चित्कार निस्कियो । सेनाको मुख्य मान्छेले ‘ए केटा हो, त्यो अझै ज्यूँदै रहिछे । ढुङ्गाले थिचेर मार’ भनेर आदेश दियो । सेनाका पाँचजना जवान कमान्डरको आदेश पालना गर्दै बच्चाले चिप्लेटी खेलेझैँ खोलामा झरे । रक्षालाई पानीमा घिसारे । खोलाको पल्लो तीरपारि लगे । रक्षालाई सर्वाङ्ग नाङ्गो पारे । उनको ज्यूँदो शरीरमाथि ढुङ्गा बर्साउन थाले । प्रत्येक ढुङ्गा हान्दा उनको मृतप्रायः शरीर चल्मलाउँथ्यो । छाती तल–माथि गरिराखेको थियो । सेनाले रक्षाको टाउको मात्र देखिने गरेर सबै शरीर ढुङ्गाले पुरिदिए र पाँचै जना सकिनसकी बाटोमा उक्लिए । कमान्डरले सबै गाउँलेलाई जम्मा गरेर फर्मान गर्यो– ‘यसको लासलाई यत्तिकै राख्नू, कसैले नचलाउनू ।’

तीन दिनसम्म त्यो लास त्यत्तिकै बस्यो । चौथो दिन घनघोर वर्षा भयो । लासलाई बगाएर दुई किलोमिटर तल पुर्याएछ । त्यहाँका जनता खेतमा पानी लगाउन आउँदा देखेछन् । स्यालले शरीरको केही भागको मासु लुछेर खाएको रहेछ । लास गनाएको पनि थियो रे । गाउँलेले खोलाको बगरमा ल्याएर गहिरो खाडल खनी लास पुरिदिएछन् ।

सच्चा कम्युनिस्टहरूले आफ्नो जीवनको अन्त्यमा महान् किसान र मजदुरहरूको मुक्तिको ध्वजा कम्युनिस्ट पार्टीको झन्डा ओढ्न चाहन्छन् तर भीषण क्रान्तिकालमा क्रान्तिकारीहरूको यो अन्तिम इच्छा पूरा नहुन सक्छ तापनि उनीहरू त्याग, बलिदान र समर्पणका शृङ्खला खडा गरिराखेका हुन्छन् । उर्मिलाले पनि अन्तिम बिदाइ पाइनन्, न त उनीलाई झन्डा नै ओढाइयो ।

झिल्के बुढाबाको मुखबाट उर्मिलाको सहादतको प्रकृति मैले सुनिराखेको थिएँ । मलाई थाहा थिएन, यी घटना सुन्ने साहस ममा कहाँबाट आइरहेको छ ! म केवल सुिनराखेको थिएँ । कुनै प्रतिक्रिया जनाइराखेको थिइनँ । म सुकेको रूखसरि ठिङ्ग उभिई मात्र राखेको थिएँ । मेरा आँखाबाट आँसु झरेको सबै साथीहरूले देखिराखेका थिए । त्यसैले गुणाखर मतिर नहेरेर अन्तै हेरिराखेका थिए । धेरैबेरसम्मको सन्नाटापछि मैले आवाज निकालेँ, ‘एकपटक उर्मिलालाई सेनाले पुरेको ठाउँ हेर्न जाऊँ न ।’

केही पनि नबोलीकन सबैले स्वीकार गरे । हामी खोलामा घिस्रिघिस्री झर्यौँ । बाटैबाट झर्लङ्गै देखिने ठाउँ तर ठूलो ढुङ्गाको कोप्चेरामा रहेछ उर्मिलाले अन्तिम सास फेरेको ठाउँ । त्यहाँ पुग्दा साथी के–के भनिराखेका थिए । म उनीहरूको कुरामा ध्यान दिइरहेको थिइनँ । मेरी उर्मिलाको अन्तिम सास चलेको ठाउँलाई स्पर्श गर्न मन लाग्यो । मैले हातले त्यहाँको ढुङ्गा छोएँ । सहादत प्राप्त गरेको दस वर्षपछि पनि उर्मिला यतै कतै त छैनन् ! भन्ने भ्रम पनि पर्यो । मेरो मानसपटलमा हामीले अन्तिमपटक हात मिलाएको, हामी छुट्टिँदा उनका ठूला आँखाहरू राता भएका र ‘तपाईं त सुपुर्दगीमा पर्ने हो, म त सहिद हुने हो’ भनेको दृश्य घुमिरहेको थियो । मनमनै मैले ‘तिमी साँच्चै महान् मान्छे हौ’ भनेँ । श्रद्धाञ्जली दिएँ । साथीहरूको कल्याङकुलुङ भने कायमै थियो । मलाई भने ‘ए गद्दार प्रचण्ड र बाबुरामहरू ! तिमीहरूले मेरी प्यारी उर्मिलालाई फिर्ता ल्याइदेओ, नत्र…’ भनी चिच्याऊँजस्तो लाग्यो । उनीहरू मेरासामु भइदिएको भए के गर्दथेँ, भन्न सक्दैनथेँ । हाम्रा प्रिय मान्छेहरूको रगतमा टेकेर उनीहरू हिजो दिल्ली र मुम्बैमा पैसाको डस्नामा सुते । अहिले लाजिम्पाट र बालुवाटार दरबारमा मस्त निदाएका छन् । हामीले नै हो उनीहरूको निद्रा भङ्ग गर्ने । अरू कसैले सक्दैन पनि । उनीहरूले आफू र आफ्ना परिवारलाई चाउचेस्कु बनाएका छन् ।

नेपाल आमाका असल छोरी उर्मिलाहरू बलात्कार, हत्या र यातनाको कुनै परबाह नगरी जनयुद्धमा लामबद्ध भैराखेका थिए । ठीक त्यसै समयको सेरोफेरोमा एसडी मुनीका अनुसार प्रचण्ड र बाबुरामहरू भारतीय विस्तारवादका सामु बिन्तीपत्र बुझाइरहेका थिए । भारतका ठूला सहरका उच्च महलहरूमा बसेर विदेशी रक्सीको स्वाद लिँदै देश र जनताको मुक्तिका खातिर जीवन न्यौछावर गर्ने उर्मिलाहरूलाई मूर्खहरूको संज्ञा दिइरहेका थिए सायद । उनीहरू यसो किन गरिराखेका थिए भने क्रान्ति उनीहरूका सामु खडा भैराखेको थियो । क्रान्तिले उनका स्वास्नी, छोराछोरी, नातागोतालाई समेट्दै थियो । क्रान्तिबाट परिवारलाई अलग गर्ने उनीहरूको चिन्तन थियो । हामीजसरी अङ्कित, अनुज्ञाजस्ता दूधे बालकलाई टुहुरो पारेर क्रान्तिमा होमिल चाहँदैनथे । ओजोनजसरी युद्धमोर्चामा नै आमाको काखमा भोक, प्यासबाट तड्पाउन चाहँदैनथे ।

कथित शान्तिप्रक्रियाका यी छ वर्षमा प्रचण्ड र बाबुरामका राष्ट्रघात, जनघात र वर्गघातका विरुद्ध पार्टीभित्रको क्रान्तिकारी तप्काले भीषण अन्तरसङ्घर्ष लड्यो । त्यसमा म पनि सामेल मात्र भइनँ, अग्रमोर्चामा नै रहेँ । क्रान्तिकारी भैराख्ने र सर्वहारा वर्गका विरुद्ध चल्ने दूषित सुनामीका विरुद्ध सतिसालझैँ उभिइरहन्छु भन्ने आत्मविश्वास ममा उर्मिलाको सहादतको प्रेरणा हो । म कुनै हालतमा उर्मिलाका सपना मार्न सक्दिनँ । उनले अन्तिम सास लिँदै गर्दा लिएको अभीष्ट कुण्ठित गर्न सक्दिनँ । यस्तो अवस्थामा मलाई कमरेड माओको जीवनको सम्झना आउँछ । च्याङ्काई सेकले माओकी जीवनसाथी आङ्काई हुईको हत्या गर्यो । यसै सन्दर्भलाई लिएर माओले मृत्युको नयाँ परिभाषा निकाल्नुभएको थियो– ‘कस्तो मृत्यु ? पहाडजस्तो गह्रौँ कि प्वाँखजस्तो हलुको ?’ क्रान्तिकारीहरूले पीडालाई आक्रोशमा कसरी बदल्नुपर्छ भनेर माओले क्रान्तिकारी जीवनको संश्लेषण गर्नुभएको थियो । माओले जीवनसाथी मात्र गुमाउनुभएन, छोरा पनि गुमाउनुभयो । त्यसै उहाँलाई सर्वहारा वर्गप्रति बढी निष्ठावान हुन पे्ररित गरेको हुनु पर्दछ । लेनिनले दाइ अलेक्जेन्डर गुमाउनुभयो । जनयुद्धकालमा हामी पनि प्रचण्डलाई माओसँग दाँज्ने गथ्र्यौं । लेनिनसँग दाँज्थ्यौँ तर तिनीहरूले जनयुद्धकालमा कुनै शारीरिक वा मानसिक कष्ट बेहोर्नु परेन । न परिवारको कुनै सदस्य नै गुमाउनुपर्यो । त्यसैले आफ्नो परिवारलाई जोखिममा राख्न चाहेनन् । जनताका छोराछोरीलाई बन्दुकको नाल समाउन लगाए, मोहरीका सामु बाँच्न आदेश दिए तर आफ्ना सन्तानलाई बन्दुकको आवाज पनि सुन्न दिएनन् ।

उर्मिलाको अन्तिम सास सदाका लागि बन्द भएको ढुङ्गामाथि उभिएर मैले एकपटक प्रतिबद्धता व्यक्त गरेँ, ‘उर्मिला, तिमीले सँगै खाएको मुक्ति वा मृत्युको कसम आज फेरि एकपटक खाँदैछु तिम्रो चिहानमा उभिएर । तिमीले मृत्युवरण ग¥यौ । मेरो जीवनको फेरि परीक्षण हुँदैछ । नेपाली कम्युनिस्ट आन्दोलनभित्रका नयाँ संस्करणका निखिता ख्रुस्चेब, तेङ सियाओ पिङहरूविरुद्ध जेहाद छेडिसकेका छौँ । तिमी ज्यूँदी भएकी भए अचम्म मान्थ्यौ होला, प्रचण्ड, बाबुराम र बादलहरूको अहिलेको रूप देखेर । त्यसैले हामी जनक्रान्तिमा लाग्यौँ । तिमीले नामै नसुनेका अर्का नेता मिलेराँवादी बन्न पुगे । उनले पनि भैँसीपूजकको पदचाप पछ्याउँदै ग्रहदसा सपार्न फलामे औँठी लगाउन पुगे । हामी नयाँ तरिकाले नयाँ संस्करणका पुरानाका विरुद्ध जेहाद छेडिराखेका छौँ । छेडिरहनेछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :