सहिद सप्ताहमा नेकपा (बहुमत) द्वारा सहिद र बेपत्ता योद्धाका परिवारलाई सम्मान

हामी बलिदान भएर पनि सहिद–बेपत्ताका सपना पूरा गर्छौं : कञ्चन

सहिद सप्ताहमा नेकपा (बहुमत) द्वारा सहिद र बेपत्ता योद्धाका परिवारलाई सम्मान

लेखनाथ, कास्की

नेकपा (बहुमत) ले सहिद सप्ताह २०७९ को अवसर पारेर सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई सम्मान–अभिनन्दन गरेको छ ।

पार्टी केन्द्रीय समितिमा रहेका सहिद परिवार तथा कास्की जिल्लाका सहिद तथा बेपत्ता योद्धा परिवारलाई लेखनाथ, भण्डारढिकमा सम्मान तथा अभिनन्दन गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले आमूल परिवर्तनका लागि आरम्भ गरिएको जनयुद्धलाई बीचमै छोडेर मूल नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईहरू संसद्वादी धारमा धकेलिएकाले सहिद र बेपत्ता योद्धाका सपना साकार हुन नसकेको बताए ।
क्रान्तिको झन्डा झुक्न नदिने उद्घोष गर्दै कार्यक्रमका प्रमुख अतिथि कञ्चनले सहिद तथा बेपत्ता योद्धाका सपना साकार पार्न बलिदान दिनुपरे पनि आफूहरू तयार रहेको बताए । जनयुद्धका कार्यभार र सहिदका सपना पूरा गर्न आफूहरूले सबैखाले प्रतिक्रियावादविरुद्ध सङ्घर्ष र संशोधनवादविरुद्ध विद्रोह गरेर क्रान्तिको झन्डा उठाएको प्रस्ट पार्दै पार्टी संयोजक कञ्चनले क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नकै लागि मालेमावादी क्रान्तिकारी पार्टीहरूबीच पार्टी एकताका लागि पहल गरिरहेको पनि बताए ।

सहिद तथा बेपत्ता योद्धा परिवारका चिन्ता र चासो सम्बोधन गर्दै संयोजक कञ्चनले मालेमावादी मात्र नभएर अरू पार्टी पनि फुटेको तर अरू पार्टीको फुटको केन्द्रमा यही दलाल पुँजीवादी सत्ता रहे पनि क्रान्तिकारी फुट र एकताको उद्देश्य क्रान्ति सम्पन्न गर्नु रहेको बताए ।
प्रचण्ड, देउवा, वलीलगायत दलाल पुँजीवादका पक्षधर शक्तिहरू दलाल पुँजीवादी सत्ताकै लुछाचुँडीका लागि लडिरहेको तर नेकपा (बहुमत) लगायत मालेमावादी क्रान्तिकारीहरू सहिद, बेपत्ता र श्रमिक–उत्पीडित जनता र देशको मुक्तिका लागि लडिरहेको पनि कञ्चनले प्रस्ट पारे । जनयुद्धको नेतृत्व गरेका प्रचण्ड दलाल पुँजीवादमा पतन भएकाले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्नसमेत नसकेको र केही रकममा सहिदका सपना किन्न तम्सिए पनि बलिदानलाई रकममा किन्न नसकिने भन्दै कञ्चनले प्रचण्डले धोका दिए पनि आफूहरूले वैज्ञानिक समाजवादी सत्ता स्थापना गरेर सहिदका सपना पूरा गरेरै छोड्ने प्रतिबद्धता पनि दोहो¥याए ।

सहिद परिवारसमेत रहेका नेकपा (बहुमत) केन्द्रीय कार्यालयका सचिव गुणराज लोहनीले आफन्तले जनयुद्धमा बगाएको रगतको मूल्य, सहिदका अलपत्र सपना र आफूहरूले ती सपना साकार पार्न निर्वाह गर्नुपर्ने दायित्व बुझिदिन सहिद तथा बेपत्ता योद्धाका परिवारलाई आग्रह गरे । प्रचण्ड, विप्लवलगायत सहिद, बेपत्ता योद्धा र श्रमिक वर्गलाई धोका दिँदै दलाल पुँजीवादमा पतन भएकाले उनीहरूसँग विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपरेको उनले प्रस्ट पारे ।

कार्यक्रममा सहिदपिता एवम् नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, सहिदका पति गुणराज लोहनी, सहिद परिवार एवम् पार्टीको गण्डक ब्युरोका इन्चार्ज रूपेश, बेपत्ता योद्धा ऋषि लामिछानेका बुबा देवीलाल लामिछाने, बेपत्ता फणिन्द्र सिंखडाकी पत्नी र सहिद हेममणि सिंखडाकी आमा राधिका सिंखडा, बेपत्ता योद्धा नेत्र बरालका बुबा अणनाथ बराल, बेपत्ता योद्धा आनन्द आचार्यका दाजु केदार आचार्य, सहिद थमन परियारकी श्रीमती विष्णुमाया परियार, बेपत्ता देवराज बस्ताकोटीकी श्रीमती सीतादेवी बस्ताकोटी, बेपत्ता योद्धा शिव पराजुलीका बुबा कृष्ण पराजुली, जाजरकोटका सहिद बाले पुनका छोरा निशान पुन, सहिद परिवारका उपेन्द्र परियारलगायत सहिद तथा बेपत्ता योद्धाका परिवारलाई पार्टी संयोजक कञ्चनले खास्टो ओढाउँदै अबिर लगाएर अभिनन्दन गरेका थिए ।

सम्मान तथा अभिनन्दनका क्रममा सहिद–बेपत्ता योद्धाका परिवारहरूले जनयुद्ध लडेर आएका क्रान्तिकारी पार्टीहरूलाई एक भएर सहिद–बेपत्ताका सपना साकार पार्न आह्वान गरेका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा सहिद–बेपत्ता योद्धाका परिवारहरूलाई गरिएको सम्मान तथा अभिनन्दनका प्रमाणपत्रहरू भेला पारी बोरामा हालेर उनको कार्यकक्षमै पठाइदिएको स्मरण गराउँदै सहिद–बेपत्ता योद्धाका परिवारले सहिदका सपना साकार पार्न क्रान्ति पूरा गर्ने बाटोमा एक भएर हिँड्न सुझाव दिए । जनयुद्ध लडेका पार्टीहरू विभाजित हुँदा आफूहरू चिन्तित भएको र पार्टीहरूबीच एकता भएको देख्न चाहेको पनि उनीहरूले सुझाएका थिए ।

नेकपा (बहुमत) कास्कीका इन्चार्ज एवम् पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य गोकुल पराजुलीले सञ्चालन गरेको कार्यक्रममा पार्टी प्रवक्ता सुदर्शन, पार्टी केन्द्रीय कार्यालय सदस्य दीपक, पार्टी सचिवालय सदस्य पूर्णबहादुर सिंह, पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोका संयोजक अशोक सुवेदी, पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोकी सदस्य अम्बिका चन्द, पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईलगायत उपस्थित थिए । कार्यक्रममा नेकपा कास्कीका नेता–कार्यकर्ता, विभिन्न जवसका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :