गठबन्धन फेरबदलका नग्न दृश्य

गठबन्धन फेरबदलका नग्न दृश्य

एमालेसँग गठबन्धन गरी काङ्ग्रेससँगको चुनावी गठबन्धन तोडेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहालको सरकारबाट एमाले पनि बाहिरिएको छ भने उसले दाहाल सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिएको छ । दलाल पुँजीवादी व्यवस्थाका पक्षधर सबै शक्ति अन्ततः एउटै खोटा सिक्काका विभिन्न पाटाहरू हुन् र कुनै पनि समयमा तिनीहरू जसलाई धोका दिएर जो कसैलाई पनि समर्थन गर्न सक्छन् किनकि उनीहरूको उद्देश्य केवल विदेशीहरूको इशारामा सत्तामा पुग्न र विदेशीहरूकै स्वार्थमा काम गर्नु हो भन्ने पूर्ण रूपमा प्रमाणित भएको छ ।
नेपालको दलाल पुँजीवादी सत्ताका पछिल्ला केही वर्षहरूमा यही व्यवस्थाका पक्षधर काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेस केन्द्रित वा स्वतन्त्र नामका पार्टी र समूहले यो व्यवस्था वास्तवमा खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने कसाईखाना मात्र नभएर कुकुरकै टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने कसाईखानाका रुपमा नग्न, भ्रष्ट र असफल प्रमाणित भएको छ । एमाले–माके एकता–विघटन हुँदै माके–काङ्ग्रेस गठबन्धन–विघटन, माके–एमाले गठबन्धन–विघटन र पछिल्लो अवस्थामा माके–काङ्ग्रेसलगायत आठ दल÷समूह गठबन्धन र एमालेको फिर्ती–अविश्वाससम्म आउँदा नेपालमा पचासको दशकमा संसद्वादी दलहरूले सत्ता दुरुपयोग गर्दै प्रदर्शन गरेका रातो पासपोर्ट बिक्री, पुरुष सांसदले सुत्केरी भत्ता, प्राडो–पजेरो, सांसद किनबेच, सुरा–सुन्दरी र सांसद–मन्त्रीहरू सामूहिक रूपमा बिरामी परेको बहाना बनाएर विदेश सयर गरे–गराइएका विकृत सन्दर्भ र नजिरहरूलाई समेत उछिनेको छ । दलाल संसदीय व्यवस्थाका बदनाम खेलाडी काङ्ग्रेस–एमाले–माकेलगायत पार्टी÷समूहहरूले सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, चुनाव, दुईतिहाइ बहुमत, गठबन्धनलगायत नाममा जेजस्ता खेलहरू खेलेर सरकार, पदप्रतिष्ठा, पार्टी÷समूह र विशेषतः विदेशी शक्तिकेन्द्रलाई खुसी पार्दै देश र जनताको अपमान गर्ने काम गरेका छन्, ती सबै घटना–परिघटनाले यो व्यवस्थाको असफलता मात्र प्रमाणित गरेको छैन, यसको औचित्यहीनतालाई नै पुष्टि गरेको छ ।
दलाल संसदीय व्यवस्था जनताको शत्रु र साम्राज्यवादको चाकर व्यवस्था हो । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयमा दलाल संसदीय व्यवस्था अत्यन्त अनुदार मात्र होइन, घातक र द्रोही पनि प्रमाणित भएको छ । साम्राज्यवाद अन्यायपूर्ण युद्धको स्रोत मात्र होइन, कारण र चरित्र पनि हो । त्यस्तै दलाल पुँजीवाद गरिबी, महँगी, भ्रष्टाचार र बेथितिको पर्याय हो । नेपालको दलाल पुँजीवादी व्यवस्था साम्राज्यवादी स्वार्थ अनुकूल निर्माण र विघटन हुने भएकाले यहाँका शासकहरूको मिलन र बिछोड, गठबन्धन निर्माण र विघटन पनि साम्राज्यवादी स्वार्थ अनुकूल नै भइरहेको छ । दाहाल–ओली गठबन्धन निर्माण र विघटन तथा दाहाल–देउवा ८ दलीय गठबन्धन निर्माण पनि साम्राज्यवादकै डिजाइनमा भएकाले देशभक्त, क्रान्तिकारी, मालेमावादी शक्तिहरूले समयमै दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी क्रान्तिबाट वैज्ञानिक समाजवादी सत्ता निर्माणको दिशामा लामबद्ध हुनु अपरिहार्य बनेको छ । नेकपा (बहुमत) केन्द्रीय समितिको जारी चौथो पूर्ण बैठकले मुलुकलाई दलाल पुँजीवादी शक्तिहरूको लुट, दोहन र चरम भ्रष्टीकरणबाट मुक्त गरी वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अग्रसर गराउन मालेमावादी शक्तिहरूबीच पार्टी एकता–क्रान्तिकारी ध्रुवीकरणका लागि ठोस वातावरण निर्माण गर्ने अपेक्षा गर्न सकिन्छ ।सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :