मानव बधशालाबाट फर्केपछि

संस्मरण

मानव बधशालाबाट फर्केपछि

२०७७ साल वैशाख १५ गतेको दिन थियो सर्वोच्च अदालतको आदेशमा म र चीनकाजी विश्वकर्मालाई म्याग्दी जिल्लाबाट रिहा गरियो । दस महिनामा सातवटा जिल्लाका जेल र हिरासत भोगेर फासिवादी शासकको षड्यन्त्रलाई परास्त गर्दै म्याग्दी जिल्लाबाट रिहा हुँदा जनयुद्धमा हारेको रुकुमको खारा लडाइँ जितेर फर्किएको जस्तै अनुभूति भएको थियो ।
सायद साँझको ४ः५० बजेको थियो, हामीलाई जिल्ला प्रशासन कार्यालयबाट छोडिएको थियो तर पनि मनमा हामीलाई नवलपुर जिल्ला लैजान्छ होला भन्दै कमरेड चीनकाजी विश्वकर्मा र म हल्का सल्लाह गरिराखेका थियौँ । हमीलाई जिल्ला प्रशासनमा एकजना असईको कमान्डमा लगेको थियो तर असईले पनि ‘जाम सर, डीएसपीले बोलाउनुभएको छ’ भनेर हामीलाई भने । हाम्रो मनमा झनै चिसो पस्यो । अब पक्कै छोड्दैन होला भन्ने परिहाल्यो । हामी डीएसपी कार्यालयमा पुग्यौँ । डीएसपी किरणजङ्ग कुँवरले हामीलाई कार्यालयअगाडिको बगैँचामा लगेर ‘कमरेडहरूलाई हामी आजै छोड्दैछौँ । कुनै जिल्लामा पनि लग्दैनौँ’ भने । हामीले ‘हुन्छ, तपाईंहरूको इच्छा हो’ भन्यौँ । डीएसपी कुँवरले भने– कमरेडहरूको सामान प्याक गर्न लैजानुस् । हामीले आफ्नो सामान तयार ग¥यौँ अनि सामान ल्याएर बाहिर निस्क्यौँ । डीएसपी कुँवरले भने– कमरेडहरू राम्रोसँग जानुस्, ढुक्क भएर जानुस् । हामीले हात मिलाउँदै हिरासतभित्र भएका थुनुवा साथीहरूसँग ‘ल हामी जान्छौँ’ भन्दै बिदा माग्यौँ । जिल्ला प्रशासन कार्यालयको गेटबाट बाहिर निस्कियौँ । साँझ परिसकेको थियो । कोरोनाका कारणले पनि गाडी चलिराखेका थिएनन् तर पनि क. चीनकाजी र मैले सल्लाह ग¥यौँ, अब हामी यो ठाउँमा बस्नै हुन्न । तल पुलको छेउमा बस्न जाऊँ । जे पाइन्छ, त्यसैमा जाउँला । यस्तो सल्लाह गर्दै हामी पुलको छेउमा गएर बस्यौँ ।
एक छिनपछि मुस्ताङबाट गाडी आयो । त्यो गाडी काठमाडौँबाट मुस्ताङमा मान्छे पु¥याउन गएको रहेछ । हामी पनि त्यो गाडीमा आयौँ । रात परिसकेको थियो । गाडी पाउँदाखेरि मनमा एकदमै खुसी जाग्यो । मनमा अर्को पिर पनि सँगै भएर आएको थियौँ– म र चीनकाजी कमरेडसँग गाडीभाडा पनि थिएन । त्यो गाडीमा यात्रुका रूपमा हामी दुईजना मात्रै थियौँ । मनमा पिर पनि त्यत्तिकै जागिरहेको थियो– चालक दलका मान्छेले कुन बेला भाडा माग्ने हुन् भनेर ।
रात पनि छिप्पिँदै गयो । केही घन्टा यात्रा ग¥यौँ । चालक दलका मान्छेले हामीलाई भाडा दिनोस् भने । कमरेड चीनकाजी र म मुखामुख हेर्न थाल्यौँ अनि मैले भनेँ– हामीसँग भाडा छैन । हामी नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता हौँ । भर्खरै हिरासतबाट छुटेर आएका हौँ ।
त्यसो भए गाडीबाट झर्नुस् भन्दै गाडी रोकाउँलाजस्तै ग¥यो । मनमा धेरै कुरा खेल्न थाले– यो कोरोनाको बेला कुन साथीलाई बोलाएर भाडा माग्ने होला ? कुनै साथीको फोन नम्बर पनि छैन, के गर्ने होला भन्दै चिन्ता लागिरह्यो ।
चालक दलका मान्छेहरूले फेिी पनि भाडा मागे । अनि मैले एकजना साथीले कारागारमा मलाई लगाउनुस् भनेर उपहार दिएको हातमा लगाएको घडी फुकालेर ‘लैजानुस् यो घडी’ भनेर दिएँ । चालक दलको मान्छेले एक छिन समातेर राम्रोसँग हे¥यो । चालक दलका सदस्यहरू एकापसमा खासखुस गर्दै घडी हेर्दै कुरा गरिरहेका थिए । मलाई भने त्यो घडी सस्तो भएको हुनाले एकापसमा खासखुस गरेको हो भन्ने लाग्यो । सायद त्यस्तै भएर होला त्यो मेरो घडी फिर्ता गरिदिए ।
अनि मैले भनेँ– तपाईंको नाम, फोन नम्बर दिनुस्, तपाईंलाई केही दिनमा पैसा पठाइदिउँला ।
उनीहरूले हुन्छ भने र नाम, फोन नम्बर दिए ।
रातको समय थियो । एकातिर कोरोनाको भयावह अवस्थाले मान्छेलाई विक्षिप्त बनाएको थियो । अर्कोतिर हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएको हुनाले आफन्त र साथीभाइहरूसँग जान पनि गाह्रो हुने अवस्था थियो ।
रातको तीन बजे पोखराको सुनसान सडकमा गाडीले झारिदियो । कता जाने हो, कता झर्ने हो भन्ने भएर एकछिन अल्मलिएँ । मेरा धेरै सपनाहरू कारागार र हिरासतभित्रै हुने बेला नै टुटिसकेका थिए । सुनसान सहरमा एक्लो महसुस भैरहेको थियो तर पनि मनले हार खाएको थिएन ।
अनि सडकको किनारैकिनार धुलो, मैलो भएको झोला काँधमा भिर्दै भित्री बाटोतिर लागेँ । आधा घन्टाजति हिँडेपछि म पहिले बस्ने घरमा पुगेँ । रातको समय भएकाले दुई घन्टाजति घरबाहिरको सडकको किनारामा नै झोलाको सिरानी हालेर सुतियो । केही समयपछि उज्यालो भयो । घरका मान्छे पनि उठ्नुभयो । म पनि घरभित्र छिरेँ । घरपरिवारका सबै खुसी भए । अनि केही समय सबैलाई जेल र हिरासतका कुराहरू सुनाएर बसियो । जीवन सङ्घर्षमा बिताउनै पर्दछ भन्ने अनुभूति भएको थियो । सबैलाई जीवनमा केही गर्नु छ भन्ने, सङ्घर्ष नै जीवन हो भन्ने लागेको थियो ।
म जेल र हिरासतबाट निस्केको केही दिन भैसकेको थियो । शारीरिक र मानसिक रूपमा कमजोर, भावनात्मक रूपमा एकदमै कमजोर अवस्थामा थिएँ । मेरा प्रिय कमरेडहरू अनावश्यक कुरा गर्दै हिँडेका थिए तर पनि म ती कुरा काट्ने मान्छेको पछि हिजो पनि लागेको थिइनँ, आज पनि लाग्दिनँ तर मन भने दुख्दो रहेछ । एकजना कमरेड बाहिर निस्किँदा खुसी मान्नुपर्ने ठाउँमा मेरै भाग खोस्न आएको जस्तै गरेर सुजन यस्तो र उस्तो भन्दै टीकाटिप्पणी गर्दै बजारमा हल्ला गरिराख्नुभयो । मलाई खासै फरक पर्ने कुरा नै भएन । क्रान्ति गर्नुपर्छ भन्ने मान्छेलाई सामान्य लाग्नुपर्छ । मलाई पनि सामान्य लागिरहेको थियो र आफूले आफैँलाई बलियो बनाउने कोसिस ंगरेको थिएँ । हुनत कम्युनिस्ट आन्दोलनमा नै सङ्कीर्णताको समस्या आज मात्रै होइन, हिजोदेखिकै समस्या हो तर हाम्रो पार्टी क्रान्तिकारी हुनुको नाताले पनि कम शङ्का र बढी विश्वास खुला र स्पष्ट तरिकाले बहस–छलफलमा भाग लिनुपर्ने अवस्था सिर्जना गर्नुपर्ने हो तर यी सबै कुरालाई त्यागेर व्यक्ति–व्यक्तिमा अनावश्यक छलफल चलाउने खालको समस्या देखापरेको थियो । यो विचारको अब हामीले हल दिने ठाउँमा पु¥याउनुपर्छ । मनमा लागेका कुराहरू खुला र स्पष्ट रूपमा बैठकमा रचनात्मक रूपले छलफल गर्ने, आफ्ना कमरेडहरूका गल्ती–कमजोरीलाई सच्याउने, मद्दत गर्नेखालका हामी हुनुपर्छ अनि मात्रै सङ्गठन र आन्दोलनको विकास गर्न सक्छौँ ।
म वैशाखमा जेल–हिरासतबाट बाहिर निस्केको थिएँ । पार्टीका कमरेड र नेतृत्वसँग पनि सम्पर्क मात्रै भएको थियो । केही महिना, सायद जेठ महिनाको अन्तिम साता हुनुपर्छ हाम्रो गौरवशाली पार्टीका गण्डक ब्युरो इन्चार्ज क. आस्थासँग क. काजी गुरुङको घरमा हाम्रो भेट भयो । मैले जेल र हिरासतको अनुभूति सुनाएँ । पार्टी इन्चार्ज क. आस्थाले बाहिरी पार्टीका बारेमा सुनाउनुभयो । राष्ट्रिय राजनीति, दलाल सरकारमा आएको असन्तुलनबारे छलफल गर्नुभयो ।
प्रतिबन्धको बेला थियो । मनमा कतै हामी आएको पुलिसले थाहा पाएको त छैन भन्ने शङ्का–उपशङ्का उब्जी नै राखेको थियो । त्यति हुँदाहुँदै पनि पार्टी ब्युरो इन्चार्जसँग लामो समयसम्म छलफल र बहस गरियो । मलगायत धेरै कमरेड जेल–हिरासतबाट मुक्त भएको हुनाले सबै कमरेडलाई पार्टी जिम्मेवारी दिन बाँकी नै थियो ।
केही समयपछि नेपाल कम्युनिस्ट पार्टीको तीन नं. कमान्डको तेस्रो बैठक २०७७ साउन १७–१९ गतेसम्म सचिवालय सदस्य क सन्तोष बुढामगर ‘विषम’ को अध्यक्षता, पार्टी महासचिव कमरेड विप्लवको विशेष उपस्थिति, सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र केन्द्रीय कार्यालय सचिव क. विजयको उपस्थितिमा सम्पन्न भएको रहेछ । त्यो ३ नं. कमान्डको बैठकबाट पार्टी सङ्गठनसम्बन्धी जिम्मा बाँडफाँट भएको रहेछ ।
हाम्रो ब्युरोअन्तर्गत पनि स्याङ्जा जिल्ला इन्चार्ज क. बुलेट, सेक्रेटरी क. दुर्गा थापा ‘सागर’, कास्की जिल्ला इन्चार्ज क. पूर्णजित पुन ‘उभार’, सेक्रेटरी क. गोकुल पराजुली ‘योजन’, तनहुँ जिल्ला इन्चार्ज क. लोकेन्द्र विश्वकर्मा ‘सुजन’, सेक्रेटरी क. राजु विक ‘एटम’, गोरखा जिल्ला इन्चार्ज क. कपिल भट्ट ‘प्रतीक’, सेक्रेटरी क. दिनेश वली, लमजुङ जिल्ला इन्चार्ज क. विवेक भण्डारी ‘आक्रोश’ र सेक्रेटरी क. गौरवलाई निर्धारण गरिएको थियो भने ब्युरो सदस्य क. कृष्ण वाग्ले ‘रूपेश’ लाई केन्द्रीय प्रकाशन विभाग र क. योगेन्द्र कुमाल ‘गोविन्द’ लाई केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको थियो । क. विजयलाई ब्युरोको आर्थिक विभाग, क. निरू थापा ‘उत्तम’ लाई ब्युरो उत्पादन विभाग र क. विनोद विक ‘निशान’ लाई स्कुलिङ विभागको जिम्मेवारी दिइएको थियो ।
झन्डै एक वर्षपछि फिल्डको जिम्मा मेरो काँधमा आएको थियो । म जिल्लामा आफ्नो जिम्मा पूरा गर्न तनहुँ जिल्लामा पुगेँ पार्टी इन्चार्ज भएर । प्रतिबन्धको समय थियो । पार्टी सङ्गठनमा देशैभरि र तनहुँ जिल्लामा पनि केही कमरेडले आत्मसमर्पण गरेका थिए भने कुनै कागज गरेर निस्केका थिए । कुनै कमरेड पार्टीको काम नगरी घरमा नै स्वतन्त्र भएर बसेका थिए । यो अवस्थाका बीचबाट नै हामीले पार्टीको काम गर्नैपर्ने अवस्था थियो ।
अर्कोतिर विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाले आमनेपाली जनतालाई भयवह बनाएको अवस्था थियो । हामीले पार्टीको पहिलो काम नै कोरानाले थिलथिलो बनाएका आमजनतालाई हाम्रो पार्टीको अवस्थाअनुसार राहत वितरण गर्न सुरु ग¥यौँ ।
सम्भव भएका पार्टीका नेताहरूलाई बोलाउँदै छलफल ग¥यौँ । इन्चार्ज म र सेक्रेटरी क. एटमबीच छलफलपछि विद्यार्थी सङ्गठन र युवा सङ्गठनलाई भरपूर तरिकाले परिचालन गर्ने निर्णय ग¥यौँ । विद्यार्थीको नेतृत्व क. ममता रुचालले गर्नुभयो । युवाको नेतृत्व क. नेत्र थापा र क. दृष्टि श्रेष्ठले गर्नुभयो । आमजनतालाई राहत वितरण गर्ने काम सुरु भयो । विद्यार्थी र युवाले कुन–कुन ठाउँमा राहत वितरण गर्ने भनेर ठाउँहरू ठोस गरियो । विद्यार्थी सङ्गठनले राहत वितरण गरेका ठाउँहरूमा विद्यार्थी केन्द्रीय कोषाध्यक्ष क. नरेन्द्र विश्वकर्मा पनि उपस्थित हुनुभयो । धेरै ठाउँमा त पुलिस र हाम्रो लुकामारीजस्तै पनि भयो ।
युवा सङ्गठनले पनि राम्रो काम गरेको थियो । धेरै ठाउँमा राहत वितरण गरेको थियो । युवा सङ्गठन र विद्यार्थी सङ्गठनसँग म आफैँ पनि सहभागी हुँदै जनतालाई पार्टीमाथि लगाइएको प्रतिबन्ध र कोरानाको अवस्था राम्रोसँग बुझाउने काम भयो । राहत वितरणसँगसँगै कोणसभासमेत गरेका थियौँ । यसले पार्टीको विचारलाई जनताका बीचमा पु¥यायो । आमतनहुँबासी जनतासँग गहिरो वर्गीय माया, ममता गाँस्ने कोसिस ग¥यौँ । केही हदसम्म पार्टीको विचार र पार्टीमाथि लगाइएको प्रतिबन्धका विषयमा जनताका बीचमा पु¥याउँदै खुलमखुला बहस र छलफल गर्न पनि सफल भयौँ ।
मेरो मानसपटलमा पार्टीको निर्देशनलाई माया गर्दै फिल्ड कार्यान्वयन गर्न तयार क. निरू थापा, क. ममता रुचाल, क. नेत्र थापा, क. दृष्टि श्रेष्ठ, क. पर्वत सेढाईंलगायतले पार्टीको आदेश पूरा गर्नुभयो र धेरै पार्टी, युवा, विद्यार्थी र अप्ठ्यारो परेको बेला पार्टीका धेरै नेता–कार्यकर्ता बस्नका लागि सेल्टर बनाउने काम भयो । मलगायत धेरै कमरेडले पार्टीको आदेशको पालना गरेका थियौँ । हाम्रो पार्टीका केही जिम्मेवार कमरेडबाट नै मेराविरुद्ध लड्नका निम्ति होलास् नि आएको जस्तो अनेकथरीका बकबास गर्दै हिँड्ने काम भयो । केही कमरेड आफू पार्टीको काम र जिम्मेवारीबाट बर्सौंवर्षदेखि काम नगरी बस्ने तर काम गर्ने कमरेडहरूलाई निरास र अनावश्यक बकबास गर्दै निरास बनाउने काम पनि भएको थियो । केहीले त खाएको, लगाएको कुरा काट्न लगाउने काम पनि गरे । बजारिया हल्ला र हावादारी कुरा गर्दै हिँड्ने कमरेडहरूले पार्टीको काम र पार्टीको योजनालाई राम्रोसँग कार्यान्वयन गर्नुभएन । दलाल संसदीय पुँजीवादी राज्यसत्ताले प्रतिबन्ध लगाएको अवस्थामा पनि पार्टीको योजना कार्यान्वयन गर्ने हाम्रो पार्टीका नेता, कार्यकर्तालाई आमजनताले राम्रोसँग साथ दिएका थिए ।
मलगायत धेरै साथीहरूलाई हाम्रो पार्टीका ब्युरो समिति सदस्य क. निरू थापा र उहाँकी जीवनसँगिनी चन्द्रा थापाको घरमा धेरैपटक पुलिसले घेरा हालेको थियो तर जनताको मायाले हामीलाई बचाएको थियो । धेरै रात धनबहादुर बाजे, हर्क गुरुङ, छत्र सारु, विनोद थापा, पुष्पा थापा, चन्द्रा थापा, माधव भुजेल, तनहुँका पहिलो सहिदका भतिज क. सुदीप र जनयुद्धको बेला लामो समय जेल–हिरासत बस्नुभएका कृष्ण गुरुङ, बुद्धि जीसी, दुर्गाबहादुर थापा, बाहुन भञ्ज्याङ गाउँमा हाम्रो पार्टीका जिल्ला समिति सदस्य तथा विद्यार्थी नेता क. पर्वत सेढाईंका गाउँका जनताको घरमा धेरै रात बिताएको छु । जनताले धेरैपटक पुलिसबाट बचाएर धेरै मायाका साथ राखेका थिए । मैले जनतासँग मिलेर कोदो टिपेको छु, बारी खनेको छु । जनतासँग प्रगाढ मायाममता गाँसेको छु । दुर्गाबहादुर थापाको घरमा धेरैचोटि पार्टीका ठूला–ठूला बैठक बसेका छन् ।
पार्टीका केही नेताभन्दा जानताले आँट र साहसका साथ हामीलाई कुनै डरत्रास नमानीकन सहयोग र साथ दिएका थिए । हाम्रो पार्टीका केही प्रिय कमरेडले पनि म जाँदाखेरि असहज मानेका रहेछन् भन्ने राम्रोसँग थाहा भएको अनुभूति हुने गरेको थियो भने केही काम गर्ने कमरेडहरूलाई यिनीहरू सैद्धान्तिक–राजनीतिक–वैचारिक केही छैन भन्ने आरोप लगाउने गरेका थिए । तर पनि ती मिथ्या आरोपलाई काम गर्ने कमरेडहरूले पैतालाले कुल्चेर हिँड्नुपर्छ भन्दै पार्टीको काम र योजना सशक्त तरिकाले कार्यान्वयन गर्दै गयौँ ।
तर पनि काम गर्ने कमरेडहरूले आफ्नो काम र पार्टीको आदेशलाई आफ्नो क्षमताले भ्याएअनुसार निरन्तर खटी नै रहेको अवस्था थियो । पार्टीको गण्डक ब्युरोको इन्चार्ज फेरिएर क. उमा भुजेल ‘शिलु’ आउनुभयो । केही महिनाको अन्तरालमा मलाई स्याङ्जा सरुवा गरिदिनुभयो । आवश्यकता, निरन्तरता र क्षमतालाई ख्याल गर्नेभन्दा आफन्तवादको विकास भएर गएको अवस्थामा पनि पहिला पार्टी नीतिको पालना गर्नुपर्छ । हामी क्रान्तिकारी हौँ । आलोचना र आत्मालोचना आत्मसातीकरण गर्नुपर्दछ । अरू कमरेडको आलोचना गर्दा रचनात्मक तरिकाले गर्नुपर्दछ । आलोचना गर्दा कमरेडहरूलाई सहयोग र मद्दत हुने किसिमको हुनुपर्दछ । के हामीले रचनात्मक आलोचनामार्फत पार्टी नेतृत्वलाई खबरदारी गर्न छोडेका हौँ त ? के सबै युवा–विद्यार्थीहरू लम्पसारवाद र चाप्लुसीमा मस्त भएकै हौँ त ? यो प्रवृत्तिको विकास भएको हो त ? के हामी सबै पहिलो फुट र क. वैद्यको नेतृत्वमा पार्टी पुनर्गठन गर्दाको समयमा बैठक भेलामा हुनेजति खबरदारी आज नभएकै हो त ? आज हाम्रो पार्टीमा यस्तैयस्तै कुराले कहिलेकहीँ पिरोल्ने गरेको त छैन ? यी विषयवस्तुलाई हामी युवा–विद्यार्थी पङ्क्तिले राम्रोसँग ख्याल गर्नुपर्छ । हामी युवा नेताहरूले रचनात्मक तरिकाले पार्टी नेतृत्व पङ्क्तिलाई खबरदारी गर्नै पर्दछ अनि मात्रै हामीले हाम्रो पार्टी नेतृत्व र सङ्गठन, आमनेता–कार्यकर्तालाई प्रतिक्रान्तिबाट बचाउन सक्छौँ र कम्युनिस्ट पार्टीलाई जीवन्त बनाइरहन्छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :