नेकपा (बहुमत) ले बुझायो चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मागपत्र

नेकपा (बहुमत) ले बुझायो चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मागपत्र

काठमाडौँ :नेकपा (बहुमत) भक्तपुरले चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पार्टी केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको ४४ बुँदे मागपत्र बुझाएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज रोजन, जिल्ला पार्टी सङ्गठन विभाग प्रमुख डीबी, मजदुर अटोमेकानिक सङ्घका अध्यक्ष इन्द्रसहितको टोलीले शुक्रबार दुवै नगरपालिकाका प्रमुख–उपप्रमुखलाई मागपत्र बुझाएको हो ।
मागपत्र बुझ्दै चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले पार्टीले राखेका मागमध्ये केही राष्ट्रिय सबालबाहेक अधिकांश बुँदा लागू गर्दै गएको, आफूले राज्यबाट अहिलेसम्म तलबभत्ता नलिएको र अब पनि नलिने प्रतिबद्धता व्यक्त गरेका थिए । राष्ट्रियताका विषयमा छलफल गरेर समाधान निकाल्नुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमल्सिनाले मागपत्र बुझ्दै विचार र दृष्टिकोण फरक भए पनि मागहरू जायज रहेको, संविधानले दिएका विषयहरू कार्यान्वयन हुँदै गएको, जनताका कयौँ समस्या संविधान संशोधन गरेर भए पनि सम्बोधन गर्नुपर्ने धारणा राखिन् । उनले कतिपय राष्ट्रिय मुद्दाहरूको हकमा राजनीतिक रूपले राष्ट्रिय सहमति गरेर कार्यान्वयन गर्नुपर्ने बताइन् ।
पार्टी जिल्ला इन्चार्ज रोजनले पार्टीको कार्यक्रम र उद्देश्यबारे प्रस्ट पार्दै ४४ बुँदे माग तुरुन्त लागू गर्न र स्थानीय तहमा जनताले पाउने सेवासुविधा ढिलासुस्ती र झन्झटिलो नगराई सहजतापूर्वक प्रदान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :