रोजाइ

कविता

रोजाइ

गलत कदमका विरुद्ध बोलेकै कारण
घरि प्रहरी हिरासत पुग्छ, घरि पुग्छ
जनसम्मानसहित आमसभामा
उसलाई आफ्नो ज्यानको परबाह छैन
मात्र सरोकार छ जनजीविकाको, विद्यार्थी हकहितको
ऊ नेता पनि हो र जनता पनि !

खोक्रो आदर्शवादको ढ्याङ्ग्रो ठोक्दैन ऊ
देखावटी राष्ट्रियताको नारा लगाउँदैन
दुईचारजनालाई निःशुल्क भर्ना गरिदिने सोच राख्दैन
छात्रवृत्ति दिलाइदिने आस देखाउँदैन
न त आश्वासन दिन्छ निरपेक्ष समानताको
किनकि उसलाई थाहा छ समस्याको जड
क्याम्पस, विद्यालय होइन
समग्र दलाल तथा निगम पुँजीवादी शिक्षाप्रणाली
र यसलाई निर्देशित गर्ने
दलाल पँुजीवादी व्यवस्था हो
त्यसैले ऊ क्षणिक र सीमित सुधार होइण्न
समग्र परिवर्तनको कुरा गर्छ
निःशुल्क शिक्षा मात्र होइन
अनिवार्य र वैज्ञानिक शिक्षाप्रणालीको कुरा गर्छ
कुरा गर्छ आमूल रूपान्तरणको
किनकि ऊ क्रान्तिकारी विद्यार्थी नेता हो ।

कठिन घडीमा छौँ हामी
भीडको पछि लाग्ने जमातमा छौँ हामी
शून्य छ स्वविवेक र दृष्टिकोण
खडेरी लागेको छ आत्मगत चिन्तनको
यस्तो बेला
एकथरी खोक्रे नेता खैलाबैला मच्चाइरहेछ
बहकाइरहेछ तथानाम आश्वासन बाँडेर सर्वत्र
र अर्को नेता सुमधुर गतिलाई निरन्तरता दिइरहेछ
अब भन्नुस् कुनचाहिँ नेता तपाईंको रोजाइको ?
अस्थायी कि स्थायी
आफैँ निरन्तर खट्ने कि माथिको आदेशमा ?
जिम्मा तपाईंको हातमा
कुसंस्कारलाई प्रश्रय दिने कि
परिवर्तनको झन्डा फहराउने !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :