स्ववियुप्रति नवयुवा विद्यार्थीको दृष्टिकोण र आगामी कार्यभार

स्ववियुप्रति नवयुवा विद्यार्थीको दृष्टिकोण र आगामी कार्यभार

कुनै पनि वस्तुलाई अध्ययन, अनुसन्धान, संश्लेषण, ग्रहण र प्रयोग गर्ने सन्दर्भमा वर्गीय स्वार्थअनुरूपको दर्शनशास्त्र प्रयोग गरी व्यक्तिले आआफ्नो दृष्टिकोण निर्माण गर्ने गर्दछ । त्यस्तैगरी स्ववियुलाई बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा पनि व्यक्ति र विद्यार्थी सङ्गठनहरूले वर्गीय पक्षधरताका आधारमा दृष्टिकोण बनाई यसलाई सहयोग गर्ने कार्यक्रमहरू बनाएको देखिन्छ । त्रिभुवन विश्वविद्यालयले यही २०७९ चैत ५ गते स्ववियु निर्वाचन घोषणा गरेको छ । वि.सं. २०६५ यता नियमित रूपमा स्ववियु निर्वाचन सम्पन्न गराउन नसकेको अवस्थामा त्रिविले आफ्नो यो निर्णय कार्यान्वयन गराउन बिभिन्न प्रकारका चुनौती भए पनि पश्चगामी, यथास्थितिवादी, संसद्वादी र क्रान्तिकारी सङ्घ–सङ्गठनहरूले यो निर्णयलाई आआफ्नो दृष्टिकोणका आधारमा सकारात्मक र नकारात्मक दुवै रूपमा लिएको पाइन्छ । यद्यपि राजनीतिक चेतना अभाव भएका कारणले नयाँ युवा पुस्ताले स्ववियुलाई सतही रूपमा बुझेको देखिन्छ जसले गर्दा वर्तमान स्ववियु निर्वाचनमा समेत सिद्धान्तहीन, विचारहीन, पश्चगामी, यथास्थितिवादी, सुधारवादी, संसद्वादी विद्यार्थी सङ्घसङ्गठनहरूले नै यसको फाइदा लिँदै स्ववियुलाई झनै भ्रष्टीकृत, विकृत र गुण्डागर्दीको अखडा बनाउने निश्चित देखिन्छ र यस्ताखालका आपराधिक गतिविधिले अहिलेका नवयुवा विद्यार्थी र पुस्तालाई राजनीति प्रति वितृष्णा बनाइदिने र राजनीतिमा सदैव विचारहीन, सिद्धान्तहीन मुठीभर शोषकहरूले हालिमुहाली गरी सत्ताको बागडोर चलाइरहने सम्भावना रहेको छ । त्यसैले यसलाई चिर्न नयाँ युवा पुस्तालाई वर्तमान राज्यसत्ता र राज्यव्यवस्थाको विकल्पको मालेमावादी सिद्धान्त र विचारको स्पष्टतासहित राजनीतिमा सहभागी गराउन क्रान्तिकारी सङ्गठनलाई चुनौती रहिआएको छ । सर्वप्रथम हामीले स्ववियु कहिले, किन र कस्तो प्रकारको परिस्थितिमा कुन उद्देश्यको साथ जन्मिन पुग्यो, यसले आफ्नो उद्देश्य प्राप्त गर्न कति सफल भयो र कति बाँकी छ ? वा वर्तमान अवस्थामा कस्तो प्रकारको परिस्थितिमा यो गुज्रिरहेको छ भन्ने विषयमा बुझ्न र पश्चगामी, यथास्थितिवादी, सुधारवादी चिन्तनलाई बदली स्ववियुको बाँकी कार्यभार पूरा गर्न हामी क्रान्तिकारी विद्यार्थीको काँधमा जिम्मेवारी आएको छ । हामीले हाम्रो श्रमिक वर्गको बौद्धिक हतियार मालेमावादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रयोग गरी स्ववियुलाई बुझ्न र वर्तमान मानवताविरोधी र प्रकृतिविरोधी सामाजिक व्यवस्थालाई रूपान्तरण गर्न हाम्रो भूमिका केन्द्रित गर्नुपर्ने छ ।
१. स्ववियुको सामान्य परिचय
प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठलगायत कयौँ वीर योद्धाहरूको त्याग, बलिदान र सङ्घर्षको बीचबाट २००७ सालमा स्थापना भएको प्रजातन्त्रलाई कु गरेर राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित प्रम बीपी कोइरालालाई अपदस्थ गरी प्रजातन्त्रको घाँटीमा निरङ्कुशताको जन्जिरले बाँधेर हत्या गरी पञ्चायती व्यवस्था लागू गरे । त्यसपछि राजनीतिक विचार, दल, सङ्घ–सङ्गठनमाथि प्रतिबन्ध लगाई पार्टीका नेता–कार्यकर्ता र विद्यार्थीलाई गिरफ्तार गरी जेलमा बन्दी बनाइयो । राजा महेन्द्रले जनहितविपरीत लादेको पञ्चायती व्यवस्थाको विरुद्धमा विद्रोह गर्न आवश्यक थियो र त्याग, बलिदान र साहसको भावनाले ओतप्रोत रहेका विद्यार्थीहरूले राजनीतिक विचारका आधारमा दल, सङ्घ, सङ्गठन खोल्न, बन्दी रहेका नेता–कार्यकर्ता र विद्यार्थीहरूको रिहाइ, स्ववियु गठन, पञ्चायती व्यवस्थाको खारेजीको माग राखेर छिटफुट आन्दोलनबाहेक २०१९ सालबाट परिवर्तन र क्रान्तिप्रेमी विद्यार्थीहरूले आन्दोलनको प्रारम्भसँगै नेतृत्व लिन पुगे । बलिदानी र गौरवपूर्र्ण सङ्घर्षको बीचबाट २०२० सालमा त्रिविमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को स्थापना भयो जसले विद्यार्थीहरूको राजनीतिक र शैक्षिक अधिकारका निम्ति निष्पक्षताका साथ सङ्घर्ष गर्ने साझा संस्था बन्न पुग्यो । यसले कानुनी मान्यता भने २०२४ सालमा प्राप्त गरेको थियो । स्ववियुमार्फत विद्यार्थीहरूले निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध आफ्नो निरन्तर गतिविधि अगाडि बढाएपछि २०२९ सालमा तत्कालीन शासकले स्ववियु खारेज गरे पनि विद्यार्थीहरूको बलिदानीपूर्र्ण आन्दोलन र अथक सङ्घर्षमार्फत २०३६ सालमा स्ववियु पुनः स्थापित हुन पुग्यो । यही विद्यार्थी र राजनीतिक दलहरूको साहसपूर्र्ण आन्दोलनकै कारण २०४७ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भई विद्यार्थी आन्दोलन र स्ववियु नै यसको चिहान खन्नका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भए ।
स्ववियु निर्वाचनको इतिहासलाई हेर्दा त्रिविमा २०२० साल भदौ २० गते प्रथमपटक स्ववियु निर्वाचन भएकोमा २०२९ सालमा स्ववियु खारेजीसँगै २०३५ सम्म स्ववियु निर्वाचन हुन सकेन । २०३६ सालदेखि २०६५ सालसम्म १५ औँ पटक स्ववियु निर्वाचन गराउन त्रिवि सफल रह्यो । तर पछिल्लो समयमा त्रिविको वार्षिक क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्ववियु निर्वाचन हुनुपर्नेमा २०६५ सालयता फागुन १४ गते स्ववियुको निर्वाचन त्रिविको कार्यतालिकामा मात्र सीमित हुन पुगेको छ ।
पञ्चायती व्यवस्थामा समेत स्ववियु निर्वाचन भएको अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थामा समेत २०६५ सालयता नियमित रूपमा निर्वाचन नहुनुमा अहिलेको व्यवस्थाको रूप लोकतान्त्रिक भए पनि सारमा पञ्चायती व्यवस्थाको निरङ्कुश प्रवृत्ति रहेको छ भन्ने कुरा स्पष्ट हुन्छ । २०७३ चैत १५ गते ६२ वटा आङ्गिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमध्ये उपत्यकामा ९ र उपत्यकाबाहिर १७ गरी जम्मा २६ क्याम्पसमा निर्वाचन गरी त्रिविले झारा टार्ने काम ग¥यो र करिब १५ वर्षपछि हाल आएर त्रिविले यही २०७९ चैत ५ गते स्ववियु निर्वाचन घोषणा गरेको छ । सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गराउन सफल हुन्छ वा हुँदैन भन्ने कुरा भविष्यले नै बताउनेछ । स्ववियु निर्वाचन नियमित हुन नसक्दा स्ववियुको अस्तित्व नै सङ्कटमा परेको छ ।
२. वर्तमान अवस्थामा स्ववियु र यसको भूमिका
राजनीतिक र शैक्षिक अधिकारका निम्ति गौरवपूर्र्ण सङ्घर्षको बीचबाट जन्मिएको स्ववियु वर्तमान अवस्थामा आएर हेर्दा देशमा राष्ट्रियता, जनतन्त्र, जनजीविका सङ्कटमा पर्दासमेत स्ववियुको भूमिका के रहन्छ भन्नेमा अहिलेका पश्चगामी, यथास्थितिवादी, सुधारवादी, संसद्वादी र संसदीय संशोधनवादी विद्यार्थी सङ्घ–सङ्गठनहरूले नयाँ युवा पुस्तालाई द्विविधाग्रस्त बनाएको अवस्था छ । नेपालको निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध विद्रोह गर्दै विद्यार्थी आन्दोलनको जगबाट स्थापना भएको स्ववियु अहिले विचार र सिद्धान्तहीन, गुण्डाहरूको अखडा बनिरहेको छ । नेपालको सामन्तवादको प्रतिनिधित्व गर्ने संस्था राजतन्त्रको अन्त्य भए पनि विभिन्न घात र सम्झौताका कारण नयाँ जनवादी व्यवस्था स्थापना हुन नसक्दा देशमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकदेखि हरेक क्षेत्रमा सङ्कट यथावत् नै रहेको छ । राजनीति र शिक्षादेखि लिएर हरेक क्षेत्रमा दलाल पुँजीपति वर्गको नै हालिमुहाली रहेको हुँदा गरिब–निमुखा जनसमुदायहरूले मौलिक हकअधिकारबाट वञ्चित हुनुपर्ने बाध्यता रहेको छ ।
नेपालको आर्थिक अवस्था हेर्ने हो भने दयनीय छ । ०७८÷७९ आयात व्यापार २४.७२ प्रतिशत बढेर १९ खर्ब २० अर्ब ४४ करोड ८ निर्यात व्यापार ४१.७४ प्रतिशतले बढेर २ खर्ब ३ करोड पुगेको छ । यसरी आर्थिक वर्ष २०७८÷७९ मा व्यापारघाटा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ जब कि ०७७÷७८ मा यस्तो घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ मात्र थियो । अर्कोतिर भने नेपालको ऋण २० खर्ब ७ अर्ब पुगेको छ जसको प्रतिव्यक्ति ऋण ६८७५५ हुन जान्छ । यसरी नेपालको अर्थतन्त्र चरम सङ्कटमा पुगेको छ । अर्कोतिर दलाल पुँजीवादी राज्यसत्ता र व्यवस्थाले नेपालको शिक्षामा निजीकरण र व्यापारीकरण गरी गरिब किसान, मजदुरका छोराछोरीहरूको हातबाट शिक्षालाई खोसेको छ । साथै शिक्षालाई श्रम र उत्पादनबाट अलग गराई शैक्षिक बेरोजगार जन्माउने गरेको छ । नेपाल अहिलेसम्म कसैको प्रत्यक्ष उपनिवेशमा नरहे पनि नेपालका युवाहरूलाई आधुनिक तरिकाले अर्काको देशमा दास बनाई देशको स्वाधीनता र नागरिकको स्वाभिमान गुमाउन बाध्य बनाएको छ । वर्तमान शैक्षिक प्रणालीले राजनीतिक, आर्थिक, सांस्कृतिक हरेक क्षेत्रमा परनिर्भर, परजीवी बनाउने जनशक्ति उत्पादन गर्ने नेपालको शैक्षिक प्रणाली असफल सिद्ध भएको छ । त्यस्तै गरी संसद्वादी दलहरूले पनि १९५० को असमान सन्धिसहित पछिल्लोपटक बिप्पा सम्झौता, एमसीसी, एसपीपीलगायत राष्ट्रघाती सन्धिसम्झौता गर्नाले राष्ट्रियता धरापमा परेको छ । तर पश्चगामी, यथास्थितिवादी, सुधारवादी, संसद्वादी विद्यार्थी सङ्घ–सङ्गठनले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत समग्र क्षेत्रमा देखिएको सङ्कटको विकल्पको ढोका खोल्न सकिरहेका छैनन् जसले गर्दा स्ववियुमा पनि विचार र सिद्धान्तको खडेरी परी पैसा र शक्तिको पूजा गर्ने दास मानसिकता भएका नेतृत्वहरू जन्माइरहेका छन् र समग्र देशकै नीति निर्माण गर्ने तहमा पुगी नेतृत्व गरिरहेका छन् । त्यसकारण वर्तमान अवस्थामा स्ववियु र यसको भूमिका परिवर्तन र क्रान्तिकारीहरूको आन्दोलनको केन्द्रबिन्दु बन्नुभन्दा पनि सत्ताको गुलामी गर्ने क्रीडास्थल बनेको छ । तपाईं–हामीले मालेमावादी राजनीतिक चेतना, विचार, सिद्धान्तको स्पष्टतासहित स्ववियुलाई साँच्चिकै क्रान्तिकारी आन्दोलनको केन्द्रबिन्दु बनाई वर्तमान सङ्कटको समाधान गर्न आवश्यक छ ।
निष्कर्ष
आजभन्दा करिब ६ दशकअगाडि राजनीतिक विचार, सिद्धान्त, दलमाथि प्रतिबन्ध लगाएको जटिल परिस्थितिमा विद्यार्थीहरूको साहसपूर्र्ण र बलिदानपूर्र्ण आन्दोलनको जगमा स्ववियुको स्थापना भएको थियो । यसबीचमा राजनीतिक परिवर्तन र उथलपुथल धेरै भए पनि शोषणको रूप बदलिएको छ तर शोषण भने यथावत् नै रहेको छ । नेपालको राजनीतिक र विद्यार्थी आन्दोलनमा गौरवपूर्र्ण भूमिका निर्वाह गरेको स्ववियुले करिब ६ दशक हँुदा पनि शैक्षिक प्रणालीमा सामान्य सुधारको पहलसमेत गर्न सकेको छैन । वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाले शैक्षिक जगत्मा निजीकरण र व्यापारीकरण गर्नाले श्रमजीवीका छोराछोरीहरूले शिक्षा लिने मौलिक अधिकारबाट वञ्चित हुनुपरेको छ भने पढेलेखेका शिक्षित मानिससमेत बेरोजगारीको सिकार भई अर्काको देशमा सस्तो मूल्यमा श्रम गर्न बाध्य भएका छन् । शिक्षालाई कसरी निःशुल्क र समान बनाउने, शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादन र रोजगारसँग जोडी समृद्ध बनाउनेतर्फ संसद्वादी विद्यार्थी सङ्घ–सङ्गठन र स्ववियुको ध्यान गएको देखिँदैन । यो विद्यार्थीको हक, हित र शैक्षिक अधिकारको केन्द्रबिन्दु बन्ने भन्दा पनि विचार, सिद्धान्तरहित गुण्डागर्दी गर्नेहरूको अड्डा र भ«ष्टाचारको अखडा बन्दैछ । यसो हुनुको प्रमुख कारण भनेको दलाल पुँजीवादी संसदीय व्यवस्था हो जसले गर्दा संसद्वादी विद्यार्थी सङ्घ–सङ्गठन र स्ववियु प्रतिपक्ष हुनुको सट्टा सत्ता पक्ष भई सत्ताको दलाली र गुलामी गर्ने स्थल बन्न पुगेको छ । त्यसकारण अब हामीले बुर्जुवा सत्ता र शिक्षाका विरुद्ध क्रान्तिकारी आन्दोलन र क्रान्तिको केन्द्रबिन्दु बनाई स्ववियुको गौरवपूर्ण इतिहासको रक्षा गर्दै वर्तमान अवस्थामा राष्ट्रियता, जनतन्त्र र जनजीविकामा देखिएको सङ्कटको समाधान गर्नुपर्ने जिम्मेवारी हाम्रासामु आएको छ । हामीले यो जिम्मेवारी पूरा गर्नका निमित्त तत्कालीन र दीर्घकालीन उद्देश्य राखी कार्यभारहरू पूरा गर्नुपर्ने हुन्छ । तत्कालीन कार्यभार भनेको त्रिविले २०७९ साल चैत ५ गते तोकेको स्ववियु निर्वाचन हो । यस निर्वाचनमा विचार र सिद्धान्तरहित सत्ताको दास र गुलाम भएका सङ्घ–सङ्गठनलाई पराजित गर्नुपर्ने चुनौती हामीसामु रहेको छ । यस निर्वाचनमा विजय वा पराजय जे परिणाम आए पनि हाम्रो दोस्रो दीर्घकालीन कार्यभारतिर लाग्छौँ जो वर्तमान दलाल पुँजीवादी व्यवस्थाको चिहान खन्नु हो । निरङ्कुश पञ्चायती व्यवस्थाको मलामी बनेको विद्यार्थी आन्दोलन र स्ववियु अब संसदीय व्यवस्थाको मलामी बन्नका निम्ति विद्रोह र क्रान्तिकारी आन्दोलनको केन्द्रबिन्दु बनाउन आवश्यक रहेको छ । यसको जगमा जनवादी क्रान्तिको बाँकी कार्यभारसहितको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नेछौँ । यसका निम्ति व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका तीनै अङ्ग प्रत्यक्ष जननिर्वाचित र नागरिकको जन्मजात जमिनमाथिको मालिक हुने संवैधानिक व्यवस्थासहितको राजनीतिक स्थिरता, लैङ्गिक, जातीय विभेदको अन्त्य, रोजगारीको सुनिश्चिततासहित सिद्धान्त र व्यवहारको तालमेलसहितको सर्वसुलभ शिक्षा र स्वास्थ्यको उपलब्धतासहित सामाजिक रूपान्तरण, शान्ति, समृद्धि, स्वाधीन हुने स्वाधीन संयुक्त सरकार गठनका निमित्त क्रान्तिकारी दृष्टिकोण बनाई सक्रिय भूमिका निर्बाह गर्नका लागि अबको विद्यार्थी आन्दोलन र स्ववियुको आगामी कार्यभार बनाउन आवश्यक रहेको छ ।
(लेखक नेकपा (बहुमत) निकट अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :