राष्ट्रपतिलाई लिएर संसदीय व्यवस्थामै भाँडभैलो

ओली–दाहाल गठबन्धन सरकारको आयु केही दिनमै तय हुने

राष्ट्रपतिलाई लिएर संसदीय व्यवस्थामै भाँडभैलो

काठमाडौँ :बिरालोलाई जतिसुकै डोकाले छोपे पनि आखिरमा त्यसले म्याउँ गरेरै छोड्छ भन्ने उखान यति बेला संसद्वादी दलहरूले चरितार्थ गरिरहेका छन् । राष्ट्रपतिको चुनावको विषयलाई लिएर ती दलहरूले एकापसमा गरेका शङ्का–उपशङ्का, दौडधूप, धोकाधडी र गुट फेराफेरका घटनालाई हेर्ने हो भने संसदीय व्यवस्थाको असली अनुहार हेर्न कहीँ जानु पर्दैन, यसैलाई हेरे पनि हुन्छ भन्ने छर्लङ्ग भएको छ । सत्तास्वार्थ नै दलाल पुँजीवादको एक मात्र र केन्द्रीय उद्देश्य हो भन्ने पनि यसबीचका संसद्वादी दल र नेताहरूका गतिविधिहरूले देखाएका छन् ।
हुनत माओवादी केन्द्र (माके) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कति बेला कोसँग सहमति गर्छन् र तत्कालै सहमति तोडेर कोसँग गठबन्धन गर्छन् भन्ने थाहा हुँदैन । यो अवस्था एक–डेढ दशकअघिसम्म एमालेको थियो । अस्थिरता र अवसरवादको पर्याय मानिने एमालेको स्थान यति बेला माके अर्थात् पुष्पकमल दाहालले लिएका छन् । जहाँ, जति बेला, जोसँग र जे विषयमा पनि हुन्छ, हओस्, भैहाल्छ, किन नहुनु जस्ता सकारात्मक प्रतिक्रिया दिने र फेरि अर्को विपरीत ठाउँमा त्यस्तै सहज प्रतिक्रिया दिने गर्नाले दाहाललाई अस्थिर र बोलीको ठेगान नभएको नेताका रूपमा पनि चर्चा गर्न थालिएको छ । कतिपय अवस्थामा उनका बाध्यता पनि होलान् । उनले संसदीय निर्वाचनमा पाएको मतका कारण पनि उनी जता मिल्यो उतै बहुमत हुने अवस्थाले अस्तित्व धानिँदै आएको छ र उनी आफैँले यो जिम्मेवारी आफ्ना लागि अन्तिम हो भन्ने प्रकारान्तरले स्वीकार्दै आएको देखिन्छ । तर पनि उनको यो गठबन्धनको दिनगन्ती भने राष्ट्रपति निर्वाचनमा उनको दलले निर्वाह गर्ने भूमिकाले तय गर्ने देखिएको छ ।
सत्तास्वार्थलाई केन्द्रमा राखेर कहिले काङ्ग्रेस त कहिले एमालेको फेरो समातेर छिनछिनमा गठबन्धन बनाउँदै र भत्काउँदै सरकारमा आसीन भएका पुष्पकमल दाहालको एमालेसँगको गठबन्धन र सरकारको आयु निकट भविष्यमै तय हुने आँकलन गर्न थालिएको छ । नेपालको संसदीय व्यवस्थाको संविधानले व्यवस्था गरेको मानार्थ (सेरेमोनियल) राष्ट्रपति को हुने भन्ने विषयले यति बेला संसद्वादी राजनीति झन् गिजोलिएको छ । हिजो काङ्ग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन बनाउँदाको सहमति लागू गर्दा दाहालले एमालेलाई राष्ट्रपतिमा साथ दिनुपर्ने हुन्थ्यो तर आफू एमालेको समर्थनबाट प्रधानमन्त्री हुँदा काङ्ग्रेसको समेत समर्थन पाएकाले दाहाल र काङ्ग्रेसका बीचमा राष्ट्रपतिका लागि कुनै अर्को गोप्य सहमति भएको छ कि भनेर एमाले तर्सिरहेको छ र दाहालले बारम्बार राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा दोहो¥याइरहेकाले एमालेलाई शङ्काको सुविधा पनि प्राप्त भएको छ । दाहालले काङ्ग्रेससँगको गठबन्धनबाट प्रधानमन्त्री नपाउने भएपछि एमाले रोजेका थिए तर काङ्ग्रेस राष्ट्रपति र सभामुख दुवै एमालेको हुँदा विगत दोहोरिन्छ कि भन्ने चिन्ताले ग्रस्त छ । दाहालले क्याम्प फेरेपछि सत्ताका सबै जिम्मेवारीबाट एकैपटक हात धुनुपरेको काङ्ग्रेस केपी वलीका विगतलाई सम्झाएर माओवादी केन्द्र अर्थात् दाहाललाई प्रभावित पार्ने दाउमा छ ।
राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुने बताइएको छ । निर्वाचन भने फागुन २५ गते तय भएको छ । त्यसैले अब यो गठबन्धन टिक्छ वा फेरिन्छ भन्ने कुर्न धेरै लामो समय धैर्य गर्नु नपर्ने भएको छ ।
राष्ट्रपतिका अनेक अनुहार
मानार्थ (सेरेमोनियल) राष्ट्रपतिका लागि यति बेला बजारमा अनेक अनुहारको चर्चा–परिचर्चा भइरहेको छ । नेपाली काङ्ग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव आएको भनेर भ्रम पार्न खोजिएको बताएको छ । नेपालले भने आफ्नो उम्मेदवारीको कुरा केही समय पर्दाभित्रै रहन दिनु राम्रो हुने बताएका छन् । काङ्ग्रेस महामन्त्री गगन थापाले भने राष्ट्रपतिमा काङ्ग्रेसको उम्मेदवारलाई दाहालले साथ दिने दोहो¥याएका छन् ।
‘केपी ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेको भनेर हल्ला चलाइएको छ । त्यो सबै कन्फ्युजन क्रिएट गर्ने कुरा मात्र हो’, थापाले सञ्चारमाध्यमसँग भनेका छन्, ‘राष्ट्रपतिका सन्दर्भमा माओवादी र काङ्ग्रेसबीच भएको सहमतिमा कुनै फरक पर्दैन । प्रचण्डले राष्ट्रपतिमा काङ्ग्रेसको उम्मेदवारलाई सहयोग गर्नुहुन्छ ।’
थापाले ओलीले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने सम्भावना नरहेको दाबी पनि गरेका छन् । ओलीले फैलाएको हल्लाको भरमा काङ्ग्रेसले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि नसार्ने उनको भनाइ छ । ‘कांङ््रेसले रामचन्द्र पौडेललाई अगाडि सार्ने निश्चित भएको छ । अरू दायाँ–बायाँ हुने अवस्था छैन’, उनले भनेका छन् । काङ्ग्रेसभित्रैबाट नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विकलाई पनि राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चा गराइएको छ । अमिक शेरचनको नाउँ पछिल्लोपटक राष्ट्रपतिका लागि चर्चामा ल्याइएको छ ।
चर्चाको दौडमा झलनाथ खनाल, बाबुराम भट्टराईदेखि महन्थ ठाकुरसम्म छन् । एमालेले भने यति बेलासम्म कुनै एक व्यक्तिको नाउँ अघि सारेको छैन तर सुवास नेम्बाङ, गुरु घिमिरे, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यहरूको नाउँ बारम्बार आउने गरेको छ ।
केही दिनअघि बालकोट पुगेका प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले १० पुसको सहमति स्मरण गराएका थिए जसमा माओवादीले प्रधानमन्त्री पाउँदा राष्ट्रपति र सभामुख एमालेले पाउनुपर्ने सहमति भएको बताइएको थियो । तर सहमतिविपरीत प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको अडान लिएको एमाले नेताहरूको गुनासो छ ।
जे होस् राष्ट्रपति को बन्ने भन्ने विषयले संसद्वादी दलहरूबीच भाँडभैलो मच्चिएको छ र यो जात्रा केही समयसम्म चल्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :