अखिल (क्रान्तिकारी) द्वारा स्ववियुलक्षित प्रशिक्षण

अखिल (क्रान्तिकारी) द्वारा स्ववियुलक्षित प्रशिक्षण

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले प्रदेशस्तरीय स्ववियु निर्वाचन विशेष एकदिने प्रशिक्षण दाङको घोराहीमा सम्पन्न गरेको छ ।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशका १३ जिल्लाका विद्यार्थी नेता–कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राईले बिद्यार्थी नेताहरुलाई स्ववियु चुनाव जित्ने गरी अन्य राजनीतिक दलका विद्यार्थी सङ्गठनभन्दा भिन्न आचरण–व्यवहार देखाउन र निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । उनले भने, ‘माके, नेका, एमालेका विद्यार्थी सङ्गठन मिति सकिएको औषीजस्ता हुन् । उनीहरुले विद्यार्थी हकहितका पक्षमा सङ्घर्ष गर्लान् भन्ठान्नु दिवासपना मात्र हो । स्ववियुभित्रका बेथिति उजागर गर्न र विद्यार्थी आन्दोलनलाई सही दिशातिर हाँक्न स्ववियु चुनाव जित्नैपर्छ ।’ विगतमा स्ववियु जतेर गएका व्यक्तिहरुले क्याम्पस प्रमुखहरुसँग मिलेर स्ववियुको रकम हिनामिना गर्ने गरेको उनले बताए ।
कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज लालबहादुर बीसीले अहिलेको शिक्षा प्रणाली व्यावहारिक नभएको बताए । ‘मास्टर डिग्री गरेको प्रमाणपत्र छ तर रोजगार छैन । बाबु, आमा वा परिवारको सदस्य सरकारी तलबभत्ता खान्छन् तर छोराछोरी बोर्डिङमा पढाउँछन् । मजदुरी गर्ने जनताका छोराछोरीले भने सरकारी स्कुलमा पनि पढ्न पाउँदैनन्’, बीसीले भने ।
दलाल संसदीय व्यवस्थाको अन्त्य नभएसम्म शिक्षा, स्वास्थ्य, रोजगारलगायत मानिसका आधारभूत आवश्यकता परिपूर्ति नहुने उनले बताए । अहिले वैज्ञानिक र व्यावहारिक शिक्षा प्रणालीको आवश्यकता भएको तर दलाल संसदीय व्यवस्था अन्त्य नगरी त्यो सम्भव नभएको उनको भनाइ थियो ।
कार्यक्रममा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलक पुन, अखिल (क्रान्तिकारी) की महासचिव रूपा बुढामगर, लुम्बिनी ब्युरो जवस इन्चार्ज रमेश, प्युठान जिल्ला संयोजक नारायण भण्डारी ‘नवीन’ लगायतले आआफ्नो भनाइ राखेका थिए । कार्यक्रममा पार्टी ब्युरो सदस्य तथा घोराही नगर इन्चार्ज हिमाल, ब्युरो सदस्य युवकलगायत उपस्थित थिए ।
कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो इन्चार्ज प्रेमप्रशान्त बोहोराले, स्वागत मन्तब्य अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज अमर खड्काले सञ्चालन अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागकी प्रमुख इन्दुले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :