आसन्न सहिद सप्ताह र क्रान्तिकारी ध्रुवीकरणको अपरिहार्यता

आसन्न सहिद सप्ताह र क्रान्तिकारी ध्रुवीकरणको अपरिहार्यता

महान् लेनिनले एक सन्दर्भमा भन्नुभएको थियो–केही यस्ता दशक छन् जहाँ केही हुँदैनन् र केही यस्ता साता छन् जहाँ दशकका घटना हुन्छन् । नेपालको क्रान्तिकारी आन्दोलनमा जनयुद्धको दशक अन्य सामान्य शताब्दीभन्दा पनि बढी महत्वपूर्ण थियो र अबका केही साता पनि विगत व्यर्थ साबित दशकभन्दा धेरै महत्वपूर्ण हुनेवाला छ र बनाउनुपर्नेछ ।
२८ औँ महान् जनयुद्ध दिवस भर्खरै सकिएको छ । क्रान्तिकारीहरूले जनयुद्ध दिवसका अवसरमा जनयुद्धको प्रतिबद्धता नभुल्ने र त्यसलाई सफल बनाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । २८ वर्षअघि क्रान्तिकारी मालेमावादीहरूले जनयुद्ध सफल बनाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे पनि जनताको अपार लामबद्धता, त्याग, शौर्य र बलिदान हुँदाहुँदै र उपलब्धि हासिल गर्दागर्दै मूल नेतृत्वको पलायनका कारण जनयुद्ध स्थगित मात्र भएन, समाप्त नै भयो । मुलुकको असी प्रतिशत भूभागमा जनसत्ता स्थापित भइसकेको, तीसौँ हजार जनमुक्ति सेना र तिनका हातमा सुसज्जित जनताको रगतसँग साटिएका हतियार, जनन्यायालय सबैसबै जनयुद्धका कथित कमान्डरको एकै सनक, लहड र निर्णयमा समाप्त पारियो । यसका लागि जनयुद्ध हाँकिरहेका मुख्य पात्रहरूको मनमा पलाएको आत्मरक्षाको भावना, पुरानो सत्ताप्रतिको प्रलोभन, कार्यदिशा कार्यान्वयनमा हुनुपर्ने सिर्जनशीलताका समस्या मुख्य जिम्मेवार पक्ष थिए । त्यसैले जनयुद्ध विसर्जन गर्नेहरू घृणाका पात्र छन् भने जनयुद्धमा त्याग, शौर्य र बलिदानका साथ लामबद्ध भएका र बारम्बार क्रान्तिमा लामबद्ध बन्न आतुर जनता महान् छन् र सदैव धन्यवादका पात्र छन् ।
जनयुद्धका मुख्य भनिएका पात्रहरूले वर्ग र स्वार्थ बदले पनि नेपाली श्रमिक उत्पीडित जनताको अवस्था बदलिएको छैन, झन्–झन् दुरुह बनिरहेको छ । मुलुकको राष्ट्रियतामाथि सङ्कटहरू बढिरहेका छन् । मुलुक खर्बौंको विदेशी ऋणभारले थिचिएको छ । पछिल्लो आँकडाअनुसार व्यापारघाटा २१ खर्ब २० अर्बमध्ये आयात १९ खर्ब २० अर्ब ४४ करोड रहेको छ भने निर्यात २ खर्ब मात्र रहेको छ । आयात गरिएको अधिकांश वस्तु दैनिक उपभोगका रहेका छन् । सबैभन्दा धेरै आयात गरिने डिजेल, पेट्रोल र खाना पकाउने ग्याँस मात्र २ खर्बभन्दा बढीको छ भने आयातित प्रमुख पाँचवटा कृषिजन्य वस्तु तेल, तरकारी, खाद्यान्न, मल, पशुचारा मात्रै अढाइ खर्बबराबरको रहेको छ । नेपालका किसानहरूले आफ्नो उत्पादन बिक्री गर्ने सुरक्षित बजार अभावका कारण सडकमा पोख्नुपर्ने बाध्यता छ । समग्र बजार दलालहरूको कब्जामा छ । साना उत्पादकहरू दलालहरूको एकाधिपत्यबाट पीडित छन् । ठूला व्यवसायीहरूले साना व्यवसायीलाई निरन्तर लुटिरहेका छन् । बैङ्क र वित्तीय क्षेत्र पनि तिनै ठूला व्यवसायीहरूका कब्जामा छन् । पीडितहरू कोही आत्महत्याको गलत र पलायनवादी बाटो समाउन विवश छन् भने कैयौँ घरबारविहीन बन्न बाध्य छन् । दलाल पुँजीवादी राज्यसत्ता तिनै दलाल र ठूला व्यवसायीहरूको नियन्त्रणमा छ । धनी र गरिबबीचको खाडल दिनदिनै बढिरहेको छ । भ्रष्टाचार र कमिसन हरक्षेत्रमा व्याप्त छ । आमनेपाली जनताले सबैभन्दा ज्यादा लगानी गर्ने क्षेत्र शिक्षा र स्वास्थ्यमा डरलाग्दो दलाली, भ्रष्टाचार भइरहेको छ । ७० लाखभन्दा बढी युवकयुवती रोजगारीका क्रममा विदेशी मुलुकहरूमा बाहिरिएका छन् भने उनीहरूमध्ये औसत ५ जनाभन्दा बढीको लास प्रतिदिन देशभित्र आउने गरेको छ । देशलाई यसप्रकारको विकराल अवस्थाबाट दलालहरूले होइन, क्रान्तिकारीहरूले केवल क्रान्तिको मार्गबाट मुक्ति दिन सक्छन् । यसका लागि क्रान्ति आवश्यक छ । क्रान्ति सफल पार्न क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण आवश्यक छ । दलाल पुँजीवादी सत्ताका लागि निरन्तर लुछाचुँडी गरिरहेका संसद्वादीहरूबीच सत्तास्वार्थका विभिन्न गठबन्धन र एकता हुने तर मालेमावादीहरूबीच एकता र ध्रुवीकरण भई क्रान्ति अघि बढ्न ढिला हुने विषय देश र जनताका लागि त्यति सहज र स्वीकार्य छैन । त्यसैले मालेमावादलाई मार्गनिर्देशक सिद्धान्त मानेका र जनवादी क्रान्तिका कार्यभारसहित वैज्ञानिक समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्न सहमत नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा –मशाल) बीच क्रान्ति सम्पन्न गर्ने एक मात्र सर्तमा अविलम्ब एकता हुनु आवश्यक छ । एकता र ध्रुवीकरणका लागि यसबीचमा भएका पहलहरूलाई अब सार्थकतामा रूपान्तरण गर्नुपर्छ ।
जनयुद्ध दिवसकै निरन्तरतामा सहिद सप्ताह आरम्भ हुँदैछ । फागुन १४ देखि २१ गतेसम्म मनाइने सहिद सप्ताह महान् सहिदहरूका विचार, त्याग र बलिदानको शपथ खाँदै क्रान्ति पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्ने र तयारीका लागि गम्भीर चिन्तन–मनन गर्ने जनयुद्ध सिर्जित क्रान्तिकारी पर्व र अवसर पनि हो । क्रान्तिकारीहरूबीच एकता नहुँदा प्रतिक्रान्तिकारीहरू, संसदीय संशोधनवादीहरू जनताको आँखामा छारो हाल्न स्यालहुइँया मच्चाउन प्रेरित भइरहेका छन् । तीन क्रान्तिकारी पार्टीबीचको एकताले २०४८ सालको एकता महाधिवेशन र एकताकेन्द्र निर्माण हुँदै जनयुद्ध आरम्भ गर्दाका दिन र प्रणहरूको झझल्को गराउनुका साथै जनयुद्धका कार्यभार पूरा गर्ने दिशातिर अग्रसर गराउनेछ । त्यसैले असली क्रान्तिकारीहरूले जनयुद्ध दिवस र सहिद सप्ताहका अवसरमा नेपालमा जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नु आवश्यक मात्र होइन, अपरिहार्य छ ।सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :