देउवा–मोदी ४६ बुँदे सहमति–पत्र

१. नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु राणा देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २३ देखि २७ अगस्तसम्म त्यस भारत भ्रमण क्रममा हुनुहुन्छ । भ्रमण दलमा नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीतेन्द्रनारायण देव, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, सांसदहरू तथा नेपाल सरकारका अन्य उच्च पदस्थ अधिकारीहरू संलग्न हुनुहुन्छ ।
२. नेपालका प्रधानमन्त्रीलाई राष्ट्रपति भवनको प्रांगणमा अगस्त २४ मा विशिष्ट सम्मानका साथ स्वागत गरिएको थियो । देउवाले सोही दिन महात्मा गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति श्रद्धा प्रकट गर्नुभयो । नेपालका प्रधानमन्त्रीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बेन्किया नायडु, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्लीसँग पनि भेटवार्ता गर्नुभयो ।
३. नेपालका प्रधानमन्त्रीले भारतका उद्योग वाणिज्यसम्बन्धी विभिन्न निकायहरूले संयुक्त रूपमा आयोजित कार्यक्रममा त्यहाँको व्यापारिक समुदायसँग कुराकानी गर्नुभयो । उहाँले दिल्लीमा थिंकट्यांकहरूलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । दिल्लीमा औपचारिक भेटघाटपछि उहाँको हैदराबाद, तिरुपती र बोधगया जाने कार्यक्रम छ ।
४. दुई प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धका सबै पक्षबारेमा सघन छलफल गर्नुभयो । नेपाल र भारतबीचको निकट र आत्मीय सम्बन्ध प्रतिबिम्बित गर्ने हार्दिक र न्यानो वातावरणमा वार्ताहरू सम्पन्न भए । भ्रमणमा संलग्न अथितिहरूको सम्मानमा भारतीय प्रधानमन्त्रीले औपचारिक भोजको समेत आयोजना गर्नुभयो ।
५. भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई आफ्नो भारत भ्रमणको निम्ता स्वीकार गरेकोमा धन्यवाद दिँदै सन् २०१७ को जुनमा पद सम्हालेपछि पहिलोपटक यहाँ आउनुभएका देउवालाई न्यानो स्वागत गर्नुभयो । प्रधानमन्त्रीका रूपमा देउवाको यो चौथो महत्वपूर्ण भ्रमण हो र नेपाल–भारतबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ७०औं वर्ष पूरा हुँदै गर्दा यो भ्रमण भएकाले यसले विशेष अर्थ राख्छ । नेपालका प्रधानमन्त्रीले भारत सरकार र यहाँका जनतालाई स्वतन्त्रताको ७० वर्ष पूरा गरेकोमा बधाई दिनुभयो । उहाँले भारतीय प्रधानमन्त्रीलाई आफू र आफ्नो टोलीलाई भ्रमण निम्ता दिएको र आतिथ्य प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।
६. भारतीय प्रधामन्त्रीले भारत र भारतीय जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बाढीका कारण भएका अमूल्य जीवन, सम्पत्ति र पूर्वाधार क्षतिबारेमा गहिरो समवेदना र सहानुभूति प्रकट गर्नुभयो । उहाँले सम्भव भएसम्म सहायता प्रदान गर्न भारत तयार भएको धारणा व्यक्त गर्नुभयो । नेपालका प्रधानमन्त्रीले नेपालको सहायता प्रयासमा भारतले गरेको सहयोगका निम्ति धन्यवाद दिनुभयो । उहाँले भारतीय पक्षबाट भएका जीवन र भौतिक पूर्वाधारहरूको क्षतिका विषयमा पनि गहिरो समवेदना र सहानुभूति प्रकट गर्नुभयो ।
७. दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्ध अघि बढाउने गरी हुने गरेका नियमित उच्चस्तरीय भ्रमणमा भएका आदान–प्रदानबारे सराहना व्यक्त गर्नुभयो । उहाँहरूले सहकार्यका विविध क्षेत्रसम्बन्धी बैठकप्रति सराहना व्यक्त गर्नुभयो । दुवै प्रधानमन्त्रीले नेपालको व्यवस्थापिका–संसद्का सदस्यहरूको भ्रमणलाई स्वागत गर्नुभयो र दुवै देशका संसद्बीच यस्ता खालका भ्रमणमा वृद्धि हुने आशा व्यक्त गर्नुभयो ।
८. दुवै प्रधानमन्त्रीले दुई देशबीच रहेको गहिरो, बृहत् र बहुआयामिक उत्कृष्ट सम्बन्धबारे सन्तुष्टि व्यक्त गर्नुभयो । दुवैले दुई देशको हितनिम्ति द्विपक्षीय सम्बन्धलाई अझै गहिरो पार्न नयाँ सम्भावना खोज्ने र विद्यमान संयन्त्रहरूलाई पुनर्जीवित पार्ने विषयमा समेत संकल्प गर्नुभयो । दुवै प्रधानमन्त्रीले दुवै देशका आकांक्षा, संवेदनशीलता र स्वार्थहरूलाई ख्याल राख्दै द्विपक्षीय विश्वास, हार्दिकता, द्विपक्षीय हितका पक्षमा हुने गरी दुई देशीय सम्बन्धलाई मजबुत पार्ने विषयमा आफ्नो अडान दोहोर्‍याउनुभयो ।
९. दुवै प्रधानमन्त्रीले शान्ति, विकास र समृद्धिका लागि प्रजातान्त्रिक संस्थाको अपरिहार्यतामा जोड दिनुभयो । नेपालका प्रधानमन्त्रीले नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमबारे भारतीय प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । भारतीय प्रधानमन्त्रीले दुई चरणमा सम्पन्न स्थानीय तहको चुनावको सफलताको स्वागत गर्दै त्यसका लागि नेपाली प्रधानमन्त्रीलाई बधाई दिनुभयो । संविधान कार्यान्वयन प्रक्रियामा जाँदै गर्दा तथा नेपाललाई संघीय–लोकतान्त्रिक व्यवस्थामा स्थापित गर्दै गर्दा यसमा संलग्न समाजका सबै तहलाई समेट्न नेपाल सरकारले गरेको प्रयासको प्रशंसा गर्नुभयो । स्थानीय तहको चुनाव सम्पन्न गर्न भारतले गरेको सहयोगको लागि नेपालका प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नुभयो ।
१०. दुवै प्रधानमन्त्रीले सन् २०१५ को फेब्रुअरीमा स्थापना भएदेखि नेपाल–भारत सम्बन्धमा प्रबुद्ध व्यक्तिहरूको समूहले गरेका चार चरणका बैठकको प्रगतिबारेमा सन्तोष व्यक्त गर्नुभयो । दुवै प्रधानमन्त्रीले तोकिएकै अवधिमा दुई देशबीचको निकट र बहुआयामिक सम्बन्ध अझै सुमधुर पार्ने खालका सुझाव समेटेर उक्त समूहले कार्यविधि र क्षेत्राधिकारअनुसार विगतका जुनसुकै द्विपक्षीय सन्धि र सम्झौताहरूको समीक्षामा आधारित आफ्नो प्रतिवेदन बुझाउने अपेक्षा व्यक्त गर्नुभयो ।
११. दुवै प्रधानमन्त्रीले जारी रक्षा सहकार्यबारे सन्तुष्टि व्यक्त गर्नुभयो र भारतीय सेना र नेपाली सेनाबीच अझै सहकार्य वृद्धि गर्नेबारे प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालका प्रधानमन्त्रीले नेपाली सुरक्षाकर्मीको तालिम र क्षमता अभिवृद्धिमा जारी सहयोगको लागि भारत सरकारलाई धन्यवाद दिनुभयो ।
१२. दुवै प्रधानमन्त्रीले सुरक्षासम्बन्धी विषयमा उत्कृष्ट सहकार्यको निम्ति सन्तुष्टि व्यक्त गर्नुभयो । दुवै पक्षले भारत–नेपालको द्विपक्षीय सम्बन्धमा विशेष चरित्रको रूपमा रहेको र दुवै देशका नागरिकको विनारोकतोक आवागमन सम्भव तुल्याउने खुला सिमानाको अवाञ्छित तत्वबाट दुवैतर्फको सुरक्षामा चुनौती पर्ने गरी दुरुपयोग नगरिएको बारे प्रतिबद्धता व्यक्त गर्नुभयो । दुवै पक्षले आफ्नो देशको भूभाग अर्को पक्षको अहित हुने गरी प्रयोग नगर्ने विषयमा जोड दिनुभयो ।
१३. दुवै प्रधानमन्त्रीले सन् २०१६ मा स्थापित ‘निरीक्षण संयन्त्र’ र संयन्त्रमार्फत् असमझदारी हटाउन भएका प्रगति र द्विपक्षीय आर्थिक र विकास सहयोगअन्तर्गत भएका जारी योजनाहरूको द्रूत कार्यान्वयनबारेमा सन्तुष्टि व्यक्त गर्नुभयो ।
१४. भारतीय प्रधानमन्त्रीले भूकम्पपश्चातको पुनर्निर्माण प्रतिबद्धतालाई नेपाल सरकारसँग मिलेर शीघ्र अघि बढाउने विषयमा जोड दिनुभयो । दुवै प्रधानमन्त्रीले भारतले गर्ने पुनर्निर्माण सहयोग कार्यान्वयनको लागि प्रारूप चयन र पहिचान गरिएका चारवटा क्षेत्रमा योजना पहिचानबारेमा सन्तुष्टि व्यक्त गर्नुभयो । भूकम्पपछिको पुनर्निर्माणको लागि ७५० मिलियन अमेरिकी डलर अनुदान सहयोगअन्तर्गत सबैभन्दा अघिल्ला योजनाहरू पहिचान गर्ने सहमति भयो ।
१५. दुवै प्रधानमन्त्रीले नेपालको सडक निर्माण र विद्युत् पूर्वाधारको लागि एक सय मिलियन र २५० मिलियन अमेरिकी डलर अनुदान सहयोग उपयोगबारे सन्तुष्टि व्यक्त गर्नुभयो । दुवै प्रधानमन्त्रीले दुई सय अमेरिकी डलर सिँचाइ परियोजना र लाइन अफ कन्ट्रोलबाट ५५० मिलियन अमेरिकी डलरमध्ये ३३० मिलियन अमेरिकी डलर सडकको लागि छुट्याइएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो ।
१६. दुवै प्रधानमन्त्रीले प्रत्येक देशले परिवर्तनीय प्रकृतिका सामाजिक र आर्थिक प्रयासबाट सिक्ने गरी दीर्घकालीन प्रभावका रचनात्मक विकाससम्बन्धी एजेन्डाको लागि आह्वान गर्नुभयो । यो लक्ष्य प्राप्त गर्न वार्षिक रूपमा भारतको नीति आयोग तथा नेपालको राष्ट्रिय योजना आयोगबीच नीतिगत छलफल सुरु गर्नेबारे सहमति गरियो ।
१७. दुई देशका प्रधानमन्त्रीले भारत र नेपालबीचको सहज सम्पर्कले नागरिक–नागरिकबीच सम्पर्क र आर्थिक वृद्धि गर्नेबारेमा समान धारणा राख्नुभयो । द्विपक्षीय कनेक्टिभिटीका योजना कार्यान्वयनबारेमा भएका प्रगतिबारेमा समीक्षा गरियो । दुवै पक्षले जारी निम्न अन्तरदेशीय रेल सञ्जालसम्बन्धी दुई योजनालाई शीघ्र कार्यान्वयन गर्नुपर्ने आवश्यकताबारे महसुस गरियो ः (क) जयनगर–बिजलपुर–बर्दिबास र (ख) जोगबनी– विराटनगर रेल सञ्जाल । दुवै प्रधानमन्त्रीले जयनगरदेखि जनकपुर र जोगबनीदेखि विराटनगर भन्सार नाकासम्ममा सम्पन्न हुने रेललाइनबारे सन्तुष्टि व्यक्त गर्नुभयो । दुवै योजना छिटो सक्न यससँग सम्बन्धित सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाइयो ।
१८. दुवै प्रधानमन्त्रीले रेल सञ्जालले बढ्दो व्यापार र पर्यटकीय सञ्जालमार्फत् विकास र समृद्धिमा सकारात्मक असर पार्ने उल्लेख गर्दै यसको महत्वबारे जोड दिनुभयो । दुई प्रधानमन्त्रीले बाँकी निम्न तीन अन्तरदेशीय रेल सञ्जालको फिल्ड लोकेसन सर्भे शीघ्र सम्पन्न गर्नेबारे सहमति जनाउनुभयो ः (क) नयाँ जलपाईगुढीदेखि काँकडभित्ता (ख) नौतनवादेखि भैरहवा र (ग) नेपालगन्ज रोडदेखि नेपालगन्ज ।
१९. दुवै प्रधानमन्त्रीले विराटनगरमा एकीकृत चेकपोस्टको थालनीलाई स्वागत गर्दै त्यहाँका अधिकारीहरूलाई यसको निर्माण कार्य थाल्न र सन् २०१७ डिसेम्बरभित्र कार्य सञ्चालन गर्न निर्देशन दिनुभयो ।
२०. दुवै प्रधानमन्त्रीले तराई सडक परियोजनाअन्तर्गत नौवटा सडक समेटिने २४० किमि लामो सडकको १२ प्याकेजको ठेक्काबारे सन्तुष्टि व्यक्त गर्नुभयो । आयोजना शीघ्र सम्पन्न गर्न जग्गाको स्वामित्व, वन तथा अन्य विभिन्न संरचना हटाउनेबारे नेपाली पक्षले आश्वासन दियो ।
२१. दुवै प्रधानमन्त्रीले पशुपतिनाथ मन्दिरको प्रांगणमा निर्माण भइरहेको धर्मशालाको सन्दर्भमा सन्तुष्टि व्यक्त गर्नुभयो । धर्मशालासँगै हेटौंडामा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निक निर्माण छिटै सम्पन्न हुनेबारेमा दुवै प्रधानमन्त्रीले आशा व्यक्त गर्नुभयो ।
२२. नेपालका प्रधानमन्त्रीले नेपाल सरकारले मोतीहारी–अमलेखगन्जको पेट्रोलियम लाइनलाई प्राथमिकतायुक्त भएको बताउनुभयो । दुवै प्रधानमन्त्रीले योजनाको विस्तृत इन्जिनियरिङ रुट सर्भे र इन्जिनियरिङ डिजाइन रिपोर्ट बनेकोमा त्यसको स्वागत गर्नुभयो । दुवै प्रधानमन्त्रीले सम्बन्धित अधिकारीहरूलाई बाटोको अधिकार, जग्गाको स्वामित्व, वातावरणीय र नीतिनियमसँग सम्बन्धित सबै समस्या शीघ्र निराकरण गरी छिटो काम सम्पन्न गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो ।
२३. दुवै प्रधानमन्त्रीले तेल र ग्यास क्षेत्रमा सहकार्य गर्न संयुक्त कार्यदल बनाउने निर्णयलाई स्वागत गर्नुभयो । कार्यदलले निम्न क्षेत्रमा सहकार्य अभिवृद्धि गर्नेबारे राय दिनेछ– (क) मोतीहारीदेखि अमलेखगन्जसम्म एलपीजी पाइपलाइनको निर्माण (ख) गोरखपुरदेखि सुनवलसम्म प्राकृतिक ग्यासको पाइपलाइन निर्माण (ग) इन्डियन आयल निगमको सहयोगमा अमलेखगन्जदेखि नेपालको चितवनसम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार तयार गर्न डीपीआर तयार गर्न ।
२४. नेपालको समृद्धि र विकासका लागि नेपालका प्रधानमन्त्रीले जोड दिनुभएकोमा भारतका प्रधानमन्त्रीले त्यसको लागि सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । दुवै पक्ष नेपालको सुदूरपश्चिममा प्राविधिक संस्थान स्थापना गर्ने र तनहुँमा श्वासप्रवाससम्बन्धी जीपी कोइराला राष्ट्रिय केन्द्र स्थापना गर्नेसम्बन्धी अनुदान सहयोगबारे मूल सहमतिमा पुग्नुभयो । त्यसका साथै दुई प्रधानमन्त्री दुवै सरकारले द्विपक्षीय हितमा हुने खालका निम्न परियोजनाहरूको सम्भाव्यताबारे छलफल गर्न सहमत हुनुभयो : कुशीनगर–लुम्बिनी–कपिलवस्तु र बर्दिबास वीरगन्ज रेलवे, वीरगन्ज–पथलैया–नारायणगढ र बुटवल–पोखरा सडकलाई एक्सप्रेस सडकमा स्तरोन्नति, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, महाकालीमा मोटर चल्ने पुलहरू, वीरगन्ज–रक्सौल सीमामा मैत्री पुल, दोधारा र चाँदनीमा खुला बन्दरगाहको विकास, नेपालमा विशेष आर्थिक क्षेत्रको विकास, नयाँ १३२ केभी प्रसारण लाइनको विकास, बुटवल (नेपाल)– गोरखपुर (भारत) अन्तरदेशीय प्रसारण लाइन, लम्की (नेपाल)–बरेली (भारत) अन्तरदेशीय प्रसारण लाइन ।
२५. दुवै प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनाबारेमा भएका सकारात्मक र ठोस छलफललाई ख्याल गर्दै सम्बन्धित अधिकारीहरूलाई एक महिनाभित्र यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न निर्देशन दिनुभएको छ ।
२६. नेपालका प्रधानमन्त्रीले नौ सय मेगावाटको अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजनासम्बन्धी सबै विषय परियोजना विकास सहमति (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट) अनुसार प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता दोहो¥याउनुभयो ।
२७. भारतीय पक्षले टनकपुर ब्यारेजबाट नेपालतर्फको हेड रेगुलेटर र लिंक नहर निर्माण सम्बन्धमा नेपाली पक्षलाई विस्तृत परियोजना प्रतिवेदन हस्तान्तरण गर्यो ।
२८. दुई प्रधानमन्त्रीले हालसालै सम्पन्न पानीसम्बन्धी विशेष समितिहरूको बैठक र डुबान र बाढी व्यवस्थापनसम्बन्धी संयुक्त समिति र विज्ञहरूको संयुक्त समूहको बैठकप्रति सन्तोष व्यक्त गर्नुभयो । यस्ता बैठकले पानीसँग सम्बन्धित सिँचाइ, बाढी व्यवस्थापन र नदीसँग सम्बन्धित विभिन्न तालिमहरूमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने आशा पनि उहाँहरूले व्यक्त गर्नुभयो । दुई प्रधानमन्त्रीहरू सप्तकोसी उच्च बाँध र सुनकोसी स्टोरेज र डाइभर्सन स्किमका विस्तृत परियोजना प्रतिवेदन बनाउने विषयलाई गति दिन पनि सहमत हुनुभयो । सीमा क्षेत्रमा हुने डुबान र बाढी व्यवस्थापनजस्ता तत्कालै सम्बोधन गर्नुपर्ने महत्वपूर्ण विषयमा आपसी सामञ्जस्य र सल्लाहलाई थप प्रभावकारी बनाउन पनि दुवै प्रधानमन्त्रीहरू सहमत हुनुभयो । यी समस्याको दिगो समाधान खोज्न संयुक्त अवलोकन भ्रमणलगायत तत्कालै कदम चाल्न दुवै पक्षबीच सहमति भयो ।
२९. दुई प्रधानमन्त्रीहरूले ऊर्जा क्षेत्रका संयुक्त कार्य दलका बैठकहरू नियमित रूपमा भइरहेकोमा र भारतबाट नेपालतर्पm विद्युत प्रसारणको लागि मुजफ्फरपुर–ढल्केबर, कटैया–कुसाहा, रक्सौल–परवानीपुर अन्तरदेशीय विद्युत् प्रसारण लाइन कार्यान्वयनमा ल्याउन दुवै पक्षले चालेका हालैका कदमप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । नेपालका प्रधानमन्त्रीले सन् २०१७ जनवरीमा मुजफ्फरपुर सबस्टेसनमा थप ट्रान्सफर्मर राखी नेपाललाई थप विद्युत दिन भारतीय निकायहरूले देखाएको तत्परताको लागि भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो । भारतका प्रधानमन्त्रीले नेपालको तर्फबाट भविष्यमा पनि विद्युत् माग भइआएमा भारतले सहयोग गर्ने आश्वासन दिनुभयो ।
३०. दुवै पक्षबीच सन् २०१४ मा सम्पन्न ऊर्जा व्यापार सम्झौता (पावर ट्रेड एग्रिमेन्ट) का सबै पक्षलाई कार्यान्वयनमा लैजान कदमहरू चाल्ने सहमति भयो । २०३५ सम्ममा अन्तरदेशीय ऊर्जा प्रसारणको लागि गुरुयोजना बनाउन दुवै पक्षले चालेका कदमप्रति दुवै प्रधानमन्त्रीहरूले सन्तोष व्यक्त गर्नुभयो ।
३१. सकेसम्म धेरै क्षमतामा द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्ने विषयमा दुवै प्रधानमन्त्रीहरूले उच्च प्राथमिकता दिनुभयो । उहाँहरूले भारत सरकार र नेपाल सरकारबीच २०१६ अक्टोबरमा व्यापार र साझेदारी सन्धि सात वर्षको लागि नवीकरण भएकोमा स्वागत गर्दै त्यसले अनधिकृत व्यापार नियन्त्रण गर्ने आशा गर्नुभयो ।
३२. नेपालका प्रधानमन्त्रीले नेपालको भारतसँगको बढ्दो व्यापार घाटाबारेमा चासो व्यक्त गर्नुभयो । अहिले विद्यमान द्विपक्षीय व्यापारको अवस्थालाई मध्यनजर गर्दै दुवै प्रधानमन्त्रीहरूले द्विपक्षीय व्यापार अझै अभिवृद्धि गर्न सकिनेमा जोड दिनुभयो । भौतिक पूर्वाधारमा रहेका कमजोरी सुधारेर, व्यापारमा व्यवधान ल्याउने प्रक्रियाहरूलाई सरल बनाएर र व्यापार अभिवृद्धि गर्ने अरू कदम जस्तै– कृषिजन्य र औद्योगिक उत्पादनहरूलाई बजारको पहुँच सहज बनाइदिएर व्यापार अभिवृद्धि गर्न सकिने विश्वास पनि प्रधानमन्त्रीहरूले व्यक्त गर्नुभयो । दुवै पक्ष परीक्षण र प्रमाणित गर्ने प्रयोगशाला बनाउन, क्वारेन्टाइनको सुविधा स्थापना गर्न र वस्तुहरूको गुणस्तर निर्धारणमा एकरूपता ल्याउन पनि सहमत भए ।
३३. दुवै प्रधानमन्त्रीहरू विभिन्न किसिमका यातायातका साधनबाट नेपालमा ठूलो मात्रामा कार्गो लैजाने र नेपाललाई ट्रान्जिट बनाएर यातायातका साधनहरू चल्न दिन र रेल सेवा सम्झौतामा सुधार गर्न पनि सहमत भए । दुवै पक्ष दुई देशका व्यापारिक विन्दुहरू धनगढी–गौरीफाँटा, गुलरिया–मुर्थिया, जटही–पिपरौं र पशुपतिनगर–सुखियापोखरीलाई स्तरोन्नति गरी प्रयोगमा ल्याउन कदम चाल्ने विषयमा सहमत भएका छन् । भारतमा प्रयोगमा आएको ‘गुड्स एन्ड सर्भिस ट्याक्स (वस्तु र सेवा कर)’ का कारण द्विपक्षीय र ट्रान्जिट व्यापारमा पर्ने असरहरूका बारेमा द्रूतरूपमा अध्ययन गर्न सहमत भएका छन् । दुई पक्षबीच द्विपक्षीय र ट्रान्जिट व्यापार सहज बनाउन र अनधिकृत व्यापार नियन्त्रण गर्न सन् २०१७ को अन्तिमसम्म सचिवस्तरको अन्तरसरकारी कमिटी बैठक बस्ने सहमति भयो ।
३४. नेपालमा भारतबाट हुने प्रत्यक्ष वैदेशिक लगानी वृद्धि गर्नुपर्नेमा दुवै देशका प्रधानमन्त्रीहरूले जोड दिनुभयो । नेपालका प्रधानमन्त्रीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको विश्वास बढाउन आर्थिक क्षेत्र सुधारमा नेपाल सरकारले भर्खरै चालेका कदमहरूको बारेमा जानकारी दिनुभयो ।
३५. बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानले डिसेम्बर २०१६ स्थापनाको २५ वर्ष पूरा गरेकोमा दुवै प्रधानमन्त्रीहरूले प्रसन्नता व्यक्त गर्नुभयो । प्रतिष्ठानले जनता–जनताबीचको सम्बन्धलाई थप बलियो बनाएको र दुवै देशका जनतामा एकअर्काप्रति सदिच्छा जागृत गराउन सफल भएको उहाँहरूको विश्वास छ ।
३६. काठमाडौं–दिल्ली, काठमाडौं–वाराणसी, महेन्द्रनगर– नयाँदिल्ली र पोखरा–नयाँदिल्ली जस्ता रुटहरूमा बस सेवा सञ्चालनमा आइसकेकोमा दुवै प्रधानमन्त्रीहरूले सन्तुष्टि व्यक्त गर्नुभयो । अन्तरदेशीय यातायात सुविधा अभिवृद्धिका लागि अहिले चलेका रुटहरूको अवस्था र भविष्यमा थप्नुपर्ने रुटहरूका बारेमा छलफल गर्न संयुक्त कार्य दल (जोइन्ट वर्किङ ग्रुप) को बैठक बस्नेछ ।
३७. पर्यटन र आयुर्वे्दिक स्वास्थ्य प्रणाली क्षेत्रमा हुने सहकार्यलाई अगाडि बढाउनुपर्ने विषयमा दुवै प्रधानमन्त्रीहरूले जोड दिनुभयो । यसै सन्दर्भमा दुवै पक्षबीच परम्परागत औषधी र पर्यटन साझेदारीमा आपसी सहयोगका विषयमा समझदारीपत्र पूर्णरूपमा कार्यान्वयनमा ल्याउन कदमहरू चाल्ने र तीर्थयात्राका सर्किटहरू विकास गर्ने विषयमा पनि सहमति भए । दुई प्रधानमन्त्रीहरूले, सांस्कृतिक र पर्यटकीय सम्बन्ध बढाउन, पर्यटन, नागरिक उड्डयन र यातायात क्षेत्रमा काम गर्ने संयुक्त कार्य दलको बैठक सकेसम्म चाँडै बस्ने आशा गर्नुभयो ।
३८. पशुपति क्षेत्रको पुनर्निर्माण र पुनरोत्थानका लागि दुवै देशका प्रधानमन्त्रीहरूले आआफ्ना देशका अधिकारीहरूलाई पशुपति क्षेत्र विकास कोष र भारतीय पुरातत्व सर्वेक्षणबीचको समझदारीपत्रलाई अन्तिम रूप दिन निर्देशन दिनुभयो ।
३९. दुवै प्रधानमन्त्रीले बिमस्टेक र सार्कजस्ता क्षेत्रीय र उपक्षेत्रीय तहका संस्थाहरूको सहकार्यले फाइदा हुनेमा जोड दिनुभयो । बिमस्टेकको अध्यक्षको नाताले नेपालका प्रधानमन्त्रीले अक्टोबर २०१६ मा भारतले आयोजना गरेको बिमस्टेकका नेताहरूको रिट्रिट र ब्रिक्स–बिमस्टेक सम्मेलनको लागि भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो । स्थापनाको २० वर्ष मनाउँदै गरेको बिमस्टेकको अवधारणाभित्र जागृत भएको साझेदारीको प्रयासप्रति दुई प्रधानमन्त्रीहरूबाट सन्तुष्टि व्यक्त भयो ।
४०. दक्षिण एसियाली भूउपग्रहको सफल प्रक्षेपणलाई दुवै प्रधानमन्त्रीले अन्तरिक्ष क्षेत्रमा क्षेत्रीय सहयोगको अनुपम उदाहरणको रूपमा लिँदै सन्तुष्टि व्यक्त गर्नुभयो । यसले अन्तरिक्ष प्रविधि प्रयोगबाट दूरसञ्चार, प्रसारण, दूरशिक्षा, टेलिमेडिसिन, ई–गर्भनेन्स, बैंकिङ र एटीएम, मौसमसम्बन्धी तथ्यांकहरूको प्रवाह, दैवीप्रकोपका समयमा र प्राज्ञिक र अनुसन्धान केन्द्रहरूको सञ्जाल निर्माण गरेर यस क्षेत्रका जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने विषयमा सहमति भयो ।
४१. संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा भारत र नेपालले साझा चासोका विषयमा सहकार्य गरेको दुवै प्रधानमन्त्रीहरूले स्मरण गर्नुभयो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा भारतको स्थायी सदस्य राष्ट्रको लागि उम्मेदवारीलाई नेपालले समर्थन गरेको नेपालका प्रधानमन्त्रीले दोहो¥याउनुभयो ।
४२. आतंकवाद यस क्षेत्रमा शान्ति र स्थिरताको लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा पहिचान गर्दै जुनसुकै रूपको आतंकवादविरुद्ध लड्ने बलियो प्रतिबद्धता दुवै प्रधानमन्त्रीले गर्नुभयो । उहाँहरूले अन्तर्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत अन्तर्र ाष्ट्रिय आतंकवादविरुद्ध बृहत् सन्धि अनुमोदनको लागि आह्वान गर्नुभयो ।
४३. दुवै प्रधानमन्त्रीले निम्नलिखित दस्ताबेजहरू आदानप्रदान भएको अवलोकन गर्नुभयो–
(क) ५० हजार घरहरू पुनर्निर्माणका लागि भारतले दिने आवास अनुदानको मोडालिटीमा भएको समझदारीपत्र
(ख) भूकम्पपछिको पुनर्निर्माण प्याकेजमा शैक्षिक क्षेत्रमा भारतीय अनुदान कार्यान्वयनबारेमा समझदारीपत्र
(ग) भूकम्पपछिको पुनर्निर्माण प्याकेजमा सांस्कृतिक सम्पदा पुनर्निर्माण क्षेत्रमा भारतीय अनुदान कार्यान्वयनबारेमा समझदारीपत्र
(घ) भूकम्पपछिको पुनर्निर्माण प्याकेजमा स्वास्थ्य क्षेत्रमा भारतीय अनुदान कार्यान्वयनबारेमा समझदारीपत्र
(ङ) भारतीय मानक ब्युरो (ब्युरो अफ इन्डियन स्ट्यान्डर्डस) र नेपाल गुणस्तर तथा नापतौल विभाग (नेपाल ब्युरो अफ स्ट्यान्डर्डस एन्ड मेट्रोलोजी) बीच साझेदारी सहमति
(च) लागूऔषधको गैर–कानुनी ओसार–प्रसार र साइकोट्रोपिक वस्तुहरू र तिनको उत्पादनमा प्रयोग हुने रासायनिक पदार्थ ओसारप्रसार रोक्ने समझदारीपत्र
(छ) मेची पुल निर्माणमा समझदारीपत्र
(ज) भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था) बीचको समझदारीपत्र
४४. दुई प्रधानमन्त्रीले कटैया (भारत) र कुसाहा (नेपाल) र रक्सौल (भारत) र परवानीपुर (नेपाल) बीचको अन्तरदेशीय विद्युत् प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । यसले भारतबाट नेपालतर्फ थप सय मेगावाट विद्युत प्रसारण गर्न सक्छ ।
४५. दुई प्रधानमन्त्री यो भ्रमणले नेपाल र भारतका जनताबीचको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउने र दुवै देशका जनतालाई हित गर्ने बताउँदै यसले दुई देशको बहुआयामिक सम्बन्धलाई अर्को उचाइमा पु¥याउनेमा सहमत हुनुभयो ।
४६. नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको लागि दिनुभएको निम्तो भारतका प्रधानमन्त्रीले स्वीकार गर्नुभयो । दुवै पक्षलाई मिल्ने समयमा भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण हुने सहमति पनि भयो ।

नयाँ दिल्ली २४ अगस्त २०१७ (८ भदौ २०७४)

२०७४ भदौ २७ गते ८ : ५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :