रामेछापमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा बुझाए ज्ञापनपत्र

‘जनयुद्ध जारी छ’ नारा लगाउँदै दीप प्रज्वलन र कोणसभा

रामेछापमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा बुझाए ज्ञापनपत्र

मन्थली (रामेछाप) : रामेछापमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई बन्दी रिहाइ र झूट्टा मुद्दा खारेजीको मागसहितको ज्ञापनपत्र बुझाउँदै २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरेका छन् ।

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) का नेता–कार्यकर्ताले दीप प्रज्वलनपछि जिल्ला सदरमुकाममा आयोजित कोणसभामा उत्पीडित नेपाली जनता र देश मुक्त नभएसम्म जनयुद्ध जारी रहने उद्घोष पनि गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीलाई बन्दी रिहाइ र झूट्टा मुद्दा खारेजीको मागसहितको ज्ञापनपत्र बुझाउनुअघि नेकपा (बहुमत) केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्य्ुरोका संयोजक अशोक सुवेदी, पार्टी जिल्ला इन्चार्ज अग्रीम, संयोजक उजिर, अखिल नेपाल महिला सङ्गठन रामेछापकी संयोजक तथा सङ्गठनकी केन्द्रीय सदस्य सीता गौतम, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी रामेछापका संयोजक ध्यानबहादुर तामाङ, क्रान्तिकारी माओवादी रामेछापका सेक्रेटरी लाङ्घाली मगर, क्रान्तिकारी माओवादीका जिल्ला सदस्य एवम् मन्थली नगर इन्चार्ज रमेश बोहोरालगायतको टोली नेकपा (बहुमत) जिन्दावाद, आस्थाका बन्दी रिहा गर, झूट्टा मुद्दा खारेज गर, क्रान्तिकारी माओवादी जिन्दावाद, जनयुद्ध जारी छ, महान् सहिदहरू लालसलामलगायत नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारीसमक्ष पार्टी र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीनबुँदे सहमतिका बुँदाहरू प्रस्तुत गर्दै पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यसमेत रहेका प्रचार ब्युरो संयोजक अशोक सुवेदीले सहमतिअनुसार पार्टी शान्तिपूर्ण गतिविधि सञ्चालन गरिरहेको भए पनि सरकारले आस्थाका बन्दी रिहा गर्न र झूट्टा मुद्दा खारेज गर्न आनाकानी गरिरहेकाले पार्टी आन्दोलित बनेको बताएका थिए । उनले पार्टीका ४२ जना नेता–कार्यकर्ता अझै पनि अन्यायपूर्वक जेलमा बन्दीको अवस्थामा रहेकाले तत्काल मुक्त हुनुपर्ने र झूट्टा मुद्दाहरू खारेज हुनुपर्ने बताए ।

पार्टी जिल्ला संयोजक उजिरले ज्ञापनपत्र वाचन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीलाई बन्दीको नामावलीसहित मागपत्र हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्र र बन्दीको सूची बुझेपछि प्रजिअ रेग्मीले आफूहरू सहमति कार्यान्वयन हुनुपर्नेमा दृढ रहेको बताउँदै ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साँझ जिल्ला सदरमुकाम मन्थलीस्थित देवकोटाचोकमा २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा आयोजित दीप प्रज्वलन कार्यक्रममा २८ वटा मैनबत्ती बालेर आतिशबाजी गरिएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का जिल्ला इन्चार्ज अग्रीम, संयोजक उजिर, पार्टी जिल्ला समिति सदस्यहरू सीता गौतम, ध्यानबहादुर तामाङ, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् रामेछाप इन्चार्ज गगन, सेक्रेटरी लाङ्घाली मगर, जिल्ला समिति सदस्य एवम् नगर इन्चार्ज रमेश बोहोरालगायत सयौँ सर्वसाधारणको उपस्थितिमा सङ्क्षिप्त सम्बोधन गर्दै पार्टी प्रचार ब्युरो संयोजक एवम् नवौँ महाधिवेशन आयोजक समितिका सदस्य सुवेदीले देश र जनताका समस्या झनै बल्झिरहेको, जनयुद्धको मुख्य नेतृत्व भनिएका पात्रहरू जनयुद्धलाई धोका दिँदै र आफ्नै टाउकाको मूल्य तोक्नेसँग गठबन्धन गर्दै दलाल पुँजीवादको मतियार बनेको, प्रतिक्रियावादले टाउको उठाउँदै गएको, देश झन्झन् साम्राज्यवादी स्वार्थहरूको खेलमैदान बनिरहेको, संशोधनवाद र संसदीय संशोधनवाद हाबी बनिरहेको अवस्थामा जनयुद्धको निरन्तरता आवश्यक रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन क्रान्तिकारी माओवादीका सेक्रेटरी लाङ्घाली मगरले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा नेकपा (बहुमत) जिन्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद, २८ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाऔँ, वीर सहिदहरू लालसलामलगायत नारा लगाइएको थियो ।

२८ औँ जनयुद्ध दिवसका अवसरमा सोमबार दुवै पार्टीको संयुक्त आयोजनामा जनयुद्ध दिवसको महत्व विषयमा बृहत् अन्तरक्रिया तथा चियापान कार्यक्रम आयोजना गरिएको नेकपा (बहुमत) रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :