वैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि बढाउनैपर्ने गहन कार्यभार : कञ्चन

सन्दर्भ : २८ औँ जनयुद्ध दिवस

वैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि बढाउनैपर्ने गहन कार्यभार : कञ्चन

काठमाडौँ : २८ औँ जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले वैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि बढाउनैपर्ने गम्भीर कार्यभार आफूहरूको रहेको बताएका छन् । उनले २८ औँ जनयुद्ध दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै उक्त कुरा बताए हुन् ।

संयोजक कञ्चनले भनेका छन्, ‘नेपाली श्रमिक, उत्पीडित जनता र राष्ट्रको मुक्तिको महान् उद्देश्य लिएर सञ्चालन गरिएको जनयुद्ध घोषणा भएको २८ वर्ष भएको छ । यस सन्दर्भमा सर्वप्रथम हाम्रो पार्टी सहिद, बेपत्ता योद्धाहरूप्रति अमिट सम्झना गर्नुका साथै घाइते योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण श्रमजीवी, उत्पीडित वर्गमा शुभकामना व्यक्त गर्दछ ।’

जनयुद्धको मूल्याङ्कन गर्दै कञ्चनले भनेका छन्, ‘सदियौँदेखि शोषण, दमन र उत्पीडनमा परेका जनताले मुक्तिको अनुभूति गरेका थिए । इतिहासमा नै पहिलोपटक महिला, दलित, जनजाति, क्षेत्रीय उत्पीडनमा परेका निमुखाहरू बेल्न सक्ने भएका थिए । आफ्नो मुक्तिका खातिर आफैँ हतियार उठाउन सक्षम भएका थिए । एक्काईसौँ शताब्दीमा माओको निधनपछि नेपालमा जनवादको अभ्यास गरिएको थियो । त्यसैले जनयुद्ध महान् छ, गर्व गर्नलायक छ । हामी जनयुद्धलाई यही रूपमा ग्रहण गर्दछौँ । स्मरण गर्दछौँ । साथै जनयुद्धका बाँकी कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने कठिन तर जाज्वल्यमान र समानतामूलक राज्यसत्ता निर्माणको बाटोमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

विप्लवहरू संसदीय व्यवस्थामा पलायन भएलगत्तै गत वैशाख २१ गते विशेष राष्ट्रिय भेला आयोजना गरी नेकपा (बहुमत) गठन भएको थियो । संयोजक कञ्चनले प्रचण्ड, बाबुराम र पछिल्लो क्रममा विप्लवहरूले क्रान्तिको कार्यदिशा छोडेपछिको वैचारिक चुनौतीबारे उल्लेख गर्दै भनेका छन्, ‘२८ औँ जनयुद्ध दिवस मनाउँदै गर्दा हाम्राअगाडि भीमकाय चुनौतीहरू पनि रहेका छन् । युद्धमोर्चामा अपराजित जनयुद्धलाई त्यसको नेतृत्व गरेका भनिएका केही मुख्य नेताहरूले टेबुलको मोर्चामा लगेर ‘जनयुद्धको अन्त्य’ गरिदिए । यसबाट एकातिर नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा रहेको संशोधनवाद, आत्मसमर्पणवादको नयाँ रूप देखाप¥यो । पछिल्लोक्रममा त्यही मात्रा र गुणमा नभए पनि ‘एकीकृत जनक्रान्ति’ का नायकहरू संसद्वादमा विलीन हुन पुगेका छन् । यस्ता संसद्वादी, संशोधनवादी र आत्मसमर्पणवादीहरूका विरुद्ध वैचारिक सङ्घर्ष गर्दै उनीहरूले उत्पन्न गरेका सबैखाले भ्रमबाट नेता, कार्यकर्ता र जनतालाई मुक्त गराई वैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि बढाउनैपर्ने गहन कार्यभार हाम्रासामु रहेका छन् ।’

नेपाली क्रान्तिलाई पूरा गर्न नेपालका क्रान्तिकारी शक्ति, उत्पीडित जनता एकताबद्ध हुनु आवश्यक भएको भन्दै संयोजक कञ्चनले अगाडि भनेका छन्, ‘यस विषम परिस्थितिमा नेपालका सबै क्रान्तिकारी शक्ति, आमउत्पीडित जनतालाई एकताबद्ध गरेर मात्र आगामी क्रान्ति पूरा गर्न सकिने भएकाले नेपालका क्रान्तिकारी पार्टीहरूका बीचमा एकताका लागि संयोजन समिति बनाएर घनीभूत छलफल भएको छ ।’

नेपाली जनता अहिले भ्रष्टाचार, महँगी, वित्तीय संस्थाको लुटबाट आक्रान्त भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘अहिले संसदीय व्यवस्था वैचारिक, राजनीतिक रूपमा भ्रष्ट भएको छ । यसले राष्ट्रियता, जनतन्त्र र जनजीविका झनै जटिल बनाएको छ । किसानले उत्पादित बस्तुको मूल्य नपाएर सडकमा फाल्नुपर्ने भएको छ तर उपभोक्ताले त्यही कृषि उत्पादन महँगोमा किन्नुपर्ने अवस्था रहेको छ । प्रतिकिलो रु. १३ मा नबिकेको गोलभेडालाई उपभोक्ताले रु. ६० मा किन्नुपर्ने अवस्था रहेको छ । त्यसैगरी रु. ५ को बन्दा रु. ५० मा किन्नुपरेको छ । मिटरब्याजी, लघुवित्तीय संस्थाले लिएको चर्को ब्याजका कारण डँडेलधुराजस्तो जिल्लाका ४० दलित परिवार घरवारविहीन भएका छन् । बिदेसिने युवाशक्तिको सङ्ख्या प्रतिदिन २ हजार ५ सय रहेको छ ।’

संयोजक कञ्चनले विगतका सरकारसँग भएको ३ बुँदे सहमति अहिलेसम्म लागू नभएको भन्दै अगाडि भनेका छन्, ‘२०७७ साल फागुन २१ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको ३ बुँदे सहमति कार्यान्वयन नभएकाले अहिले पनि ४० जना राजबन्दीले कठोर जेलजीवन बिताउनुपरेको छ भने सयौँ नेता–कार्यकर्तामाथि झूट्टा मुद्दा लगाइएको छ । वर्तमान सरकारले महँगी, भ्रष्टाचार, विभिन्न वित्तीय संस्थाले थोपरेको चर्को ब्याज नियन्त्रण गरोस् । किसानको उत्पादनको उचित मूल्य निर्धारणसहित बजार व्यवस्था गरोस् भन्ने जोडदार माग गर्दछौँ ।’

यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले दसबर्से जनयुद्धको मूल्याङ्कन गरेका छन् । जनयुद्धका पहलकर्तामध्येका मुख्य एकजना किरणले जनयुद्धले धेरै उपलब्धि दिएको बताएका छन् । उनले नेपालमा माक्र्सवाद—लेनिनवाद—माओवादलाई वैचारिक रूपमा आत्मसात गर्दै सुरु गरिएको जनयुद्धले प्रतिक्रियावादी शक्तिविरुद्ध जनताको सेना बनाएर लडेको, स्थानीय सत्ताहरू स्थापना भएका, आधारइलाका गठन भएको, नेपाल शोषित, पीडित जनताको ठूलो हिस्सा सहभागी भएको र फरक खालको संयुक्त मोर्चा निर्माण भएको बताएका छन् । जनयुद्धले सबैखाले संशोधनवादका विरुद्ध पनि धावा बोलेको, आंशिक रूपमा भए पनि अहिले गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षता आएको उनले बताएका छन् । उनले एकताको प्रसङ्ग निकाल्दै भनेका छन्, ‘नेपालका सच्चा क्रान्तिकारी पार्टीहरू नेकपा (बहुमत), नेकपा (मशाल) र नेकपा (क्रान्तिकारी माओवादी) का बीचमा एकताका लागि संयोजन समिति गठन भएको र वार्ता घनीभूत ढङ्गले अगाडि बढिरहेको बताएका छन् ।

यसैबीच २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा आइतबार साँझ नेकपा (बहुमत) ले देशैभरि दीप प्रज्वलन गरेको समाचार प्राप्त भएको छ । जनयुद्ध दिवसका अवसरमा जिल्लाजिल्लामा सिर्जनात्मक कार्यक्रम गर्ने पार्टी केन्द्रको निर्णयअनुसार ब्युरो र जिल्लाहरुमा एकदेखि सात गतेसम्म वैचारिक र रचनात्मक कार्यक्रम तय गरिएको पनि जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :