चीन र ब्राजिल : राजनीतिक मुद्दा र आर्थिक सहयोगलाई नजिकबाट नियाल्दा

४० वर्षअघि चीन र ब्राजिलबीच पूर्ण कुटनैतिक सम्बन्ध स्थापना भएदेखि दुई देशले दुई पक्षीय सम्बन्धलाई विस्तृत रणनीतिक साझेदारीसम्म झन् कसिलो बनाउँदै लगेका छन् । हालै चीनका लागि ब्राजिलका राजदूत भ्लादमिर क्यारनेइरा लिओले चाइना टुडेलाई विशेष अन्तर्वार्ता दिए । उनका अनुसार दुवै मुलुक दुई पक्षीय र बहुपक्षीय सम्बन्धका मुद्दामाथि समान विचार आदान प्रदान गर्छन् र नजिकको आर्थिक सम्बन्धलाई कायम राख्छन् ।

चाइना टुडे ः यो वर्ष चीन र ब्राजिल कूटनैतिक सम्बन्धको ४०औं र रणनीतिक साझेदारीको २१औं वर्षगाँठ मनाइरहेका छन् । चीन र अरु विकासोन्मुख मुलुकबीच यसप्रकारको सम्बन्ध पहिलो हो । बितेका वर्षमा दुई पक्षीय सम्बन्धमा के कस्तो प्रगति भएका छन् ?

क्यारनेइरा ः मेरो विचारमा यस क्षेत्रमा ठूलो प्रगति हासिल भएको छ । २० वर्ष अगाडि जे थियो त्यो भन्दा अहिलेको अवस्थामा दुईपक्षीय सम्बन्ध धेरै राम्रो भएको छ । चीन–ब्राजिल व्यापार र दुईपक्षीय लगानीमा उल्लेखनीय प्रगति हासिल भएको छ । उदाहरणको लागि ब्राजिल वायु कम्पनी इम्ब्राएरले चीनमा संयुक्त लगानी गरेको छ । दुवै देशले विज्ञान तथा प्रविधिमा सँगै काम गरिरहेका छन् । हालैमात्र ब्राजिलका पोष्ट ग्राजुयट विद्यार्थीले ‘साइन्स विडाउट बोर्डर’ कार्यक्रम अन्तर्गत चीनमा अध्ययन गर्ने सम्झौता भएको छ । समग्रमा हाम्रो दुई पक्षीय सम्बन्ध बिसौं वर्ष अगाडिभन्दा प्रगाढ बन्दै गइरहेको छ ।
राजनीतिको अतिरिक्त म के भन्न चाहन्छु भने चीन र ब्राजिल आर्थिक सहयोगलाई नजिकबाट हेरिरहेका छन् जुन सन् २००० देखि २०१० बीच दुबै पक्षको महत्वपूर्ण प्रगतिको लागि योगदान भएको छ । सन् २०१२ मा प्रधानमन्त्री वेन जिया वाओको ब्राजिल भ्रमणको समयमा रणनीतिक साझेदारीदेखि विस्तृत रणनीतिक साझेदारीसम्म दुई देशको सम्बन्धमा प्रगति भएको छ ।
बहुपक्षीय मामिलामा दुई देशले विश्वव्यापी मुद्दा, वातावरण, मानवअधिकार, उर्जा र विश्व व्यापार संगठनदेखि वैदेशिक व्यापारसम्मका एकै प्रकारका मत जाहेर गरेका छन् । दुवै देशको अहिले ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को अन्तर्राष्ट्रिय मञ्चमा ठूलो प्रभाव छ र समर्थन पनि पाइरहेका छन् ।

चाइना टुडे ः सन् २०१३ को पहिलो ८ महिनामा चीन–ब्राजिल ब्यापार ५९ दशमलव २ अरब डलर पुगेको छ जुन २ दशमलव ९ प्रतिशतको वार्षिक वृद्धिदर हो । यो वर्ष तपाईको आशा के छ ?

क्यारनेइरा ः ब्राजिलबाट चीनमा निर्यात हुने प्रमुख वस्तु कच्चा पदार्थको मूल्यमा आएको गिरावटले गर्दा बितेको वर्षजस्तै नै यो वर्ष पनि उस्तै होला जस्तो छ । तर दुई पक्षीय व्यापारमा सुक्ष्म परिवर्तन हुनसक्छ । हालैको वर्षमा चीनसँग ब्राजिलको व्यापार अनुकूलता कायमै हुनेछ तर कच्चा पदार्थको मूल्यमा आएको कमी र चिनियाँ अर्थतन्त्रमा आएको संकुचनले गर्दा व्यापारिक लाभ कम हुँदै गइरहेको छ । उदाहरणको लागि फलामको माग औद्योगिक क्रियाकलापसँग सिधै जोडिएको हुन्छ ।

चाइना टुडे ः सन् २०१२ मा ब्राजिलले १७ दशमलव ९७५ अरब डलरको कृषिजन्य उत्पादन चीनमा निर्यात गरेको थियो । यो कूल निर्यातको १८ दशमलब ७ प्रतिशत हुन आउँछ । राष्ट्रपति डिल्मा रुसेफले कच्चा पदार्थ निर्यातबाहेक चीनसँगको व्यापारलाई विविधिकरण गर्न विभिन्न उपाय अपनाउने कुरा गरेका थिए । यस सन्दर्भमा यहाँ के भन्नुहुन्छ ?

क्यारनेइरा ः यो सजिलो काम होइन । ब्राजिलसँग फलाम र सोयाबिन (भटमास) तेलमा निकै प्रतिस्पर्धात्मक क्षमता छ । इम्बेयर जहाजको राम्रो बिक्रीबाहेक चीनमा हाम्रो निर्यात पेट्रोल, भटमासको तेल, फलाम, चिनी र धागोमा सिमित छ जुन कूल निर्यातको ८० प्रतिशत हुन आउँछ ।
यो संरचनामा परिवर्तन गर्न राजनीतिक इच्छाशक्तिका साथै ब्राजिलको उत्पादन क्षमतालाई विश्वव्यापी प्रतिष्पर्धी बनाउन आवश्यक छ जसलाई हामीले स्वीकारेका छौं ब्राजिल सरकारले पूर्वाधारमा सुधार, ऊर्जा लागत न्यून र करदरलाई घटाउने काम गरिरहेको छ । चीनमा ब्राजिलका उत्पादनलाई प्रवद्र्धन गर्ने प्रयासको थालनी भएको छ । व्यापार प्रतिनिधि मण्डललाई चीनमा पठाएका छौं भने चिनियाँ आयातकर्तालाई ब्राजिलमा आमन्त्रित गरेका छौं । तर हामीले मनन् गर्नुपर्ने मुख्य विषय भनेको प्रतिष्पर्धी क्षमतालाई नै बढाउनु हो । हाम्रो निर्यात खस्किनुको प्रमुख कारणमध्ये ब्राजिलको मुद्रा रियलको अधिमूल्यन पनि हो । जसले हाम्रो उत्पादनको मूल्यलाई बढाएको छ । तर अझै पनि चीनसँगको व्यापार हाम्रो पक्षमा भएको हुँदा व्यापार सन्तुलनबारे ब्राजिलको कुनै गुनासो छैन । हामी अझ उत्कृष्ट दुई पक्षीय ब्यापारबारे सोचिरहेका छौं ।

चाइना टुडे ः पेइचिङमा पदभार ग्रहण गर्नुभन्दा अघि तपाई कोलम्बियाको राजदूत हुनुहुन्थ्यो । कोलम्बियामा सस्तो चिनियाँ वस्तुको पर्याप्त उपलब्धताले उत्पादनकर्ता चिन्तित देखिन्छ । यस्तै सोच तपाईको देशमा पनि छ । केही चिनियाँ वस्तुलाई ब्राजिलले एन्टी डम्पिङ लगाएको छ । यो सन्दर्भमा तपाईको विचारमा ब्राजिल र अरु ल्याटिन अमेरिकी देशका उत्पादनकर्ताले के गर्नुपर्छ ?

क्यारनेइरा ः मेरो विचारमा एन्टि डम्पिङबारे स्पष्ट धारणा हुनुपर्छ । विश्व व्यापार संगठनको विधि अनुसार केही व्यापार संरक्षण उपाय कानुनी नै छन् । एन्टि डम्पिङ लगाउनु अघि पहिला हामी अनुसन्धान गर्छौं कि आयातित सामानको डम्पिङको कारणले स्थानीय उत्पादनकर्ताले घाटा बेहोर्नु प¥यो कि परेन ? ब्राजिलको विकास मन्त्रालय, उद्योग मन्त्रालय र वैदेशिक व्यापार मन्त्रालय अन्तर्गत व्यापार सुरक्षा सम्बन्धी विज्ञको टोली छ । ती विज्ञहरुले शुक्ष्म र गहन अध्ययन गर्छ । एन्टि डम्पिङको अपीललाई रोकेको छ ।
चिनियाँ उत्पादनको उपस्थितिले ब्राजिलमा मात्र प्रतिष्पर्धा बढेको छैन बरु सम्पूर्ण ल्याटिन अमेरिका, युरोप, अमेरिका र क्यानडामा पनि उस्तै अवस्था छ । चिनियाँ श्रम लागतसँग मात्र जोडिएको छैन परिस्थिति नै परिवर्तन भइसकेका छन् । चिनियाँ ज्यालादर धेरै माथि पुगिसकेको छ । धेरै चिनियाँ उद्योगहरु कम ज्यालादर भएका मुलुकमा सरिसकेका छन् । यो ‘उत्पादन प्रतिफल स्तर’ को कुरा हो । स्वीट्जरल्याण्ड र चीनमा उत्पादित वस्तुको मूल्य फरक–फरक राखिन्छ । चीनले सस्तोमा उत्पादन गर्नसक्छ ।
यो तथ्यलाई हामी स्वीकार्छौं कि केही क्षेत्रमा हाम्रो उत्पादनले चिनियाँ वस्तुसँग प्रतिष्पर्धा गर्न सक्दैन । उदाहरणको लागि झण्डै आधा मेशीन र विद्युतीय सामान चीनबाट आयात गर्छौं । जब कि अरु क्षेत्रमा हाम्रो उत्पादनले राम्रो ठाउँ पाएका छन् ।

चाइना टुडे ः प्रविधि सहयोगको सम्बन्धमा चीन र ब्राजिल मिलेर तीनओटा भू–उपग्रह प्रक्षेपण गरिसकेका छन् र चौथोको तयारीमा छ । दुइ पक्षबीच सहयोगको लागि अरु कुनै प्राविधिक क्षेत्र छ ?

क्यारनेइरा ः अहिलेसम्ममा विज्ञान र प्रविधिको सन्दर्भमा दुई देशबीचको सहयोग भू– उपग्रह प्रक्षेपणमा महत्वपूर्ण उपलब्धी भएको छ । दुवैतिरका सम्बन्धित विभागलाई एकपटक मैले संकेत गरेको थिएँ । हामीले भूउपग्रह सहयोग जस्तै महत्वपूर्ण सहयोगको नयाँ क्षेत्र पहिचान गर्नुपर्छ । प्रष्टसित भन्नुपर्दा अहिलेसम्म हामीले सहयोगको नयाँ क्षेत्र भेटाएका छैनौं । वैधानिक अनुसन्धानलाई जोड दिने सवालमा चीन ब्राजिलभन्दा भिन्न छ । उदाहरणको लागि ब्राजिलसँग कृषि विज्ञान र प्रविधिमा प्रशस्त अनुभव छ जब कि चीनसँग उद्योग क्षेत्रमा धेरै अनुभव छ, जसमा ब्राजिल कमजोर छ । विज्ञान र प्रविधिमा सहयोगको अवसर पहिल्याउनमा दुई देशले मिलेर काम गर्नुपर्छ र यस सन्दर्भमा हाम्रा विश्वविद्यालयले राम्रो भूमिका खेल्न सक्छन् ।

चाइना टुडे ः चीनको पछिल्लो विकास योजनामा हरित अर्थतन्त्रलाई प्राथमिकता दिइएको छ । तपाईको विचारमा जैविक उर्जामा ब्राजिलले चीनलाई सहयोग गर्ला ?

क्यारनेइरा ः यो महत्वपूर्ण प्रश्न हो । चीनको उर्जामा कोइलाको योगदान लगभग ८० प्रतिशत रहेको छ । चिनियाँ जनता यो अवस्थालाई परिवर्तन गर्न चाहन्छन् । पेइचिङमा हालैको वायु प्रदूषणले चीनको कोइलामा अधिक निर्भरतालाई प्रतिबिम्बित गर्छ । ब्राजिल जैविक उर्जामा एकदम अनुभवी छ । मलाई लाग्छ, यस क्षेत्रमा चीनको चासो बढिरहेको हुँदा हामी यस क्षेत्रमा सहयोगलाई ठूलो अवसरको रुपमा हेर्नेछौं ।
दुई देशका सिन्ह्वा विश्वविद्यालय र रियो डि जेनेरियो विश्वविद्यालयले जलवायु परिवर्तन र नयाँ उर्जा अनुसन्धान केन्द्र स्थापना गरिसकेका छन् । दुई विश्व विद्यालयबीच जैविक डिजेल र वायु उर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपछि जैविक उर्जामा दुईपक्षीय सहयोगले काम गरिरहेको छ । मेरो विचारमा इथानोल बोटबाट मात्र उत्पादन हुने नभइ कुनै पनि रेशादार वस्तुबाट समेत उत्पादन गर्न मिल्ने जैविक उर्जाको नयाँ पुस्ता ब्राजिलले विकास गर्नेछ । जुन जैविक उर्जा क्षेत्रमा ठूलो उपलब्धी हुनेछ । हामीलाई थाहा छ चीनको कृषि घरेलु मागलाई धान्न मात्र हो । चीनले उखु अथवा कासभा खेती गर्न ठूलो भूमि छुट्याउन सक्दैन । जबकि ब्राजिलमा जैविक उर्जाको लागि प्रशस्त भूमि उपलब्ध छ ।

चाइना टुडे ः हालै ब्राजिलले चीनमा निकै सांस्कृतिक गतिविधि बढाएको छ । एक महिनाभित्र बोसा नोभा, क्यपोरिन र ब्राजिल सिनेमाबारे बजारि करण गतिविधि बढाएको छ । राजदूतको रुपमा तपाईले सांस्कृतिक क्षेत्रमा कस्तोखाले चुनौति सामना गर्नुपरिरहेको छ ?

क्यारनेइरा ः कूटनैतिक गतिविधिमा हामीले गर्न चाहेका योजनामा हाम्रो स्पष्ट धारणा छ । हामी फूटबल, साम्बा र कार्निभलजस्ता तीन आयाममात्र भन्दा पनि ब्राजिलको बहुपक्षलाई प्रदर्शित गर्ने प्रयासमा छौं । ब्राजिली संस्कृतिको हरेक पक्ष चिनियाँ जनताले हेरुन् भन्ने हामी चाहन्छौं । यसको अर्थ यो होइन कि पुराना कुरा खराब छन् । चिनियाँ जनताले धेरै कुरा थाहा पाउन भन्ने हामी चाहन्छौं ।
गरिबी पनि हाम्रो वास्तविकताको एउटा पाटो हो । जब चिनियाँ जनता हाम्रो देशबारे सोच्छन् तिनीहरुको दिमागमा अमेजोन नदी, सामुद्रिक किनार, सूर्यकिरण र संगीतजस्ता कुनै एउटा बिम्ब आओस् छोटोमा एउटा सुन्दर राष्ट्रको बिम्ब होस् त्यसैले हामी ब्राजिलको संगीत, सिनेमा र नाच लगायत राष्ट्रका अरु विशेषतालाई पनि प्रवद्र्धन गर्न चाहन्छौं । मेरो विचारमा चिनियाँ जनतासँग अन्तरक्रिया गर्ने यो एउटा उत्तम माध्यम भएकोले सांस्कृतिक गतिविधि गर्नु उपयुक्त नै हुन्छ । युवा र तिनीहरुको गजबको सामथ्र्यमा हामी जोड दिन्छौं । किनभने प्रौढ व्यक्ति निश्चित धारणा बनाउने प्रवृत्तिको हुन्छ । औपचारिक लेनदेनमा सरकार र राज्य नियन्त्रित संस्थानबीच वार्ता हुँदा कुराकानी औपचारिक, तालिकाजन्य र अप्ठेरो हुन्छ । यद्यपि सांस्कृतिक गतिविधिमा विभिन्न प्रकारका मान्छेसँग हाम्रो भेट हुन्छ । आनन्ददायी खुला वातावरणमा हामी आफ्नो धारणा एकापसमा साटासाट गरेर बढी आनन्द लिन सक्छौं ।

२०७४ भदौ २६ गते २२ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :