नेकपा (बहुमत) ले बुझायो लुम्बिनीका मुख्यमन्त्रीलाई ४४ बुँदे मागपत्र, पूरा नगरे सङ्घर्ष गर्ने चेतावनी

नेकपा (बहुमत) ले बुझायो लुम्बिनीका मुख्यमन्त्रीलाई ४४ बुँदे मागपत्र, पूरा नगरे सङ्घर्ष गर्ने चेतावनी

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई मागपत्र बुझाएको छ । पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी ४४ बुँदे माग मुख्यमन्त्रीलाई बुझाएको हो ।
राष्ट्रियतासम्बन्धी १० बुँदा, जनतन्त्रसम्बन्धी ५ बुँदा र जनजीविकासम्बन्धी २९ बुँदा समेटिएको पार्टी केन्द्रको मागपत्र पार्टीका लुम्बिनी ब्युरो इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य शार्दूलले वाचन गरेका थिए । मागपत्र वाचनपछि शार्दूलले केपी ओली सरकारसँग भएको ३ बुँदे सहमति लागू गर्दै जेलमा बन्दी बनाइएका सम्पूर्ण आस्थाका बन्दीलाई रिहा गर्न, विगतमा लगाइएका सम्पूर्ण झूट्टा मुद्दा खारेज गर्न, बन्दी बनाइएका तर दोषी नठहरिएकाहरूलाई क्षतिपूर्ति दिन पनि माग गरेका थिए ।
मागपत्र बुझ्दै मुख्यमन्त्री गिरीले विगतमा भएका सहमति र मागहरू पूरा गर्न ध्यानाकर्षण गराएकोमा आफू गम्भीर रहेको बताए । उनले आफ्नो प्रदेश स्तरबाट गर्न सकिने मुद्दा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । आस्थाका सबै बन्दी रिहा गर्ने र मुद्दा फिर्ता गर्ने विषयमा पनि केन्द्रीय सरकारको ध्यानाकर्षण गराउने उनले बताए ।
मागपत्र बुझाउने क्रममा ब्युरो इन्चार्ज शार्दूलले माग पूरा नगरिए कडा सङ्घर्षमा जान बाध्य हुने बताएका थिए ।

मागपत्र बुझाउने क्रममा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा कपिलवस्तु–अर्घाखाँची इन्चार्ज शेरमान, कपिलवस्तु पार्टी संयोजक महान, पाल्पा संयोजक दिग्दर्शन, दाङ संयोजक वीरेन्द्र, युवा जनस्वयम्सेवकका दाङ जिल्ला अध्यक्ष अजय, विद्यार्थीका केन्द्रीय सदस्य तथा पार्टी दाङ जिल्ला कार्यालय सचिव अमर, दाङ पार्टी कार्यालय सदस्य हिमाल, विद्यार्थी केन्द्रीय सदस्य तथा दाङ अध्यक्ष निर्मलालगायत उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :