जिउँदा लासहरू

जिउँदा लासहरू

पहिलो पाइला उठाएर
विद्रोह त ग¥यौ
तर ठूलो गल्ती ग¥यौ
सबैलाई थाहा छ तिमी एक्लै छैनौ
त्यो तिमीलाई पनि थाहा थियो
निर्धाको चित्कार सुन्ने कोही छैन
तिमीलाई यो पनि थाहा थियो
सदीयौँदेखिको निरन्तरता हो यो
मरेकालाई पटकपटक मार्नेहरूका बीचमा
रमिते बनेर घस्री–घस्री मर्न चाहेनौ
त्यसैले आफैँलाई जलायौ
जिउँदा लासहरूको बस्तीमा ।

तर तिमीले भूल ग¥यौ
आवेशमा आएर ।
तिमीलाई पक्कै थाहा हुनुपर्छ
धेरैथोक हुनेछ तिम्रा नाउँमा
मञ्चन हुनेछन् ठूलाठूला नाटकहरू
वादैवादका वादविवादहरू
राजनीतिका दाउपेचहरू
भीड पनि लाग्न सक्छ
हिलो छ्यापाछ्याप गर्नेहरूको
झन्डा ओढाउनेहरूको
खिल्ली उडाउनेहरूको
प्रशंसामा आँसु चुहाउनेहरूको ।

आउनेछन् मलामी भएर
तिमीलाई विवश पार्नेहरू पनि
रमितेहरूको भीडमा मिसिएर
आउनेछ निदाएको सरकार पनि
सहानुभूति देखाउनेछ
समस्या सुल्झाउने वाचा गर्नेछ
फेरि भ्रष्ट र दलालहरूका खोपीमा
निर्धक्क निदाउनेछ ।

हुनेछैन चर्चा
तिम्रो खबरदारीको
तिमीले भोगेका पीडाहरूको
अन्धकारमा विलीन हुँदै गएका
तिम्रा परिवारहरूको
लिलामीमा चढेका आशा र भरोसाहरूको
तिमीलाई पक्कै थाहा हुनुपर्छ
कुरिरहेका छन् गिद्दहरू
एक–एक चोक्टा मासु लुछ्न
खिल बनेको घाउ कोतरेर
फर्जी तमसुक देखाएर
नलिएको ऋणसमेत जोडेर
मिटरब्याजी दलाल
सहकारी र लघुवित्तका भरौटेहरू
टाँस्न सक्छन् ३५ दिने म्याद
तिम्रो परिवारका छातीमा ।

विद्रोह त ग¥यौ तर गल्ती ग¥यौ
थाहा छ हिजो गुहार माग्नेहरू
धाइरहेका छन् अझै पनि
घस्रिरहेका छन्
खुम्चिरहेका छन् न्याय खोज्दै
जिउने आशामा ।

यो पनि थाहा छ
थकाउनेछन्, गलाउनेछन्
घस्री–घस्री पटकपटक मरेर
बिलाउनेछन्
तिम्रा लागि न्याय माग्नेहरू ।

हो, तिमीले गल्ती गरेकै हो !
तिमी त मात्र प्रतिनिधि पात्र भयौ
माया, प्रेम, सहानुभूति हराएको समाजमा
तिम्रो हार होइन यो
हारेको हो समाज, हारेका हौँ हामी
हारेका हुन् झूट र लूटका मतियारहरू
अनि मौनता अँगालेका रमितेहरू
जो पटकपटक मरेर बाँचिरहेका छन्
अनुहारमा मोसो पोतिएका
महान्हरूका बीचमा
जिउँदा लासहरूको बस्तीमा ।

मर्ने जिउँदाहरू नै हुन्
लास मरेको इतिहास छैन
अमर छन्, अजर छन्, जब्बर छन्
गोजीसहितको कात्रो ओढेका
ती जिउँदा लासहरू
तिनलाई न घिन लाग्छ, न सरम
कागजी हतियार बोकेका
तिनका मतियारहरू
झाडीमा लुकेका ब्वाँसाहरू
अधिकार सम्पन्न
लोकतान्त्रिक गणतन्त्रका भरौटेहरू ।

पहिलो पाइला उठाएर
विद्रोह त ग¥यौ
तर ! ठूलो गल्ती ग¥यौ
सबैलाई थाहा छ तिमी एक्लो होइनौ
त्यो तिमीलाई पनि थाहा थियो
आफू डढेर मासिनुको अर्थ छैन
जल्नुपथ्र्यो
कुण्डली मारेर बसेका अजिङ्गरहरू
सत्ताका दलालहरू
न्यायालयका ठेकेदारहरू
कर्मचारीतन्त्रका भरौटेहरू
लुटेरा व्यापारी र तिनका दलालहरू
अब खरानी बनाउनुपर्छ
हातहातमा राँको बोकेर
भ्रष्ट, दलाल र लुटेराहरूको सत्ता
ज्वालामुखी बन्नुपर्छ
तिमीले झोसेको फिल्को
टुङ्गिनुपर्छ बेथितिको लामो यात्रा
टुङ्ग्याउनैपर्छ अब लुटेराहरूको जात्रा ।

११ माघ, २०७९

(प्रेमप्रसाद आचार्यप्रति समर्पित)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :