राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध काठमाडौँ लप्सेफेदीका जनताको प्रतिरोधलाई नेकपा (बहुमत) को समर्थन

गृहमन्त्री लामछिानेको क्रूरता र एमसीसीविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता

राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध काठमाडौँ लप्सेफेदीका जनताको प्रतिरोधलाई नेकपा (बहुमत) को समर्थन

काठमाडौँ : नेकपा (बहुमत) काठमाडौँले शङ्खरापुर नगरपालिका वडा नं. ३ बोजिनी लप्सेफेदीमा एमसीसी परियोजनाले जबर्जस्ती स्थानीय ५० बासिन्दाको करिब २०० रोपनी जग्गा अधिकरण गरेपछि स्थानीय जनता आक्रोशित भई आन्दोलन गरिरहेकोप्रति ऐक्यबद्धता व्यक्त गर्दै एमसीए नेपाल र गृहमन्त्री रवि लामिछानेको ठाडो निर्देशनमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी जनताको आन्दोलनमा निर्मम हस्तक्षेप गरी घाइते बनाएको घटनाको घोर निन्दा र भत्र्सना गरेको छ ।

पार्टीका काठमाडौँ जिल्ला इन्चार्ज सङ्गम र संयोजक अविरलले विज्ञप्ति प्रकाशित गरी जनप्रतिरोधमाथि भएको दमनको घोर निन्दा र भत्र्सना गर्नुका साथै नेपालबाट एमसीसी परियोजना खारेज नभएसम्म आफ्नो पार्टी यसका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्न तयार रहेकाले त्यसमा सबै देशभक्त, राष्ट्रवादी, क्रान्तिकारी र आमनेपाली जनसमुदायलाई सक्रियतापूर्वक साथ दिन पनि हार्दिक आह्वान गरेका छन् ।

सङ्गम र अविरलले विज्ञप्तिमा भनेका छन्, ‘यस्ता जनविरोधी र राष्ट्रविरोधी कार्य गर्ने र गराउने रवि लामिछाने नेतृत्वको गृहप्रशासनको जति नै भत्र्सना गरे पनि कम हुन्छ । स्थानीय जनताले आफ्नो राष्ट्र र राष्ट्रियतामाथि आउन लागेको गम्भीर सङ्कट र जबर्जस्ती जमिन अधिकरणका विरुद्ध गरेको सङ्घर्षमा हाम्रो पार्टी ऐक्यबद्धता जाहेर गर्न चाहन्छ । साथै स्थानीय जनतासँग सदैव पार्टी हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘जनताको न्यायपूर्ण सङ्घर्षमा निर्मम हस्तक्षेप गर्न आदेश दिने गृहमन्त्री रवि लामिछानेको कार्यप्रति घोर निन्दा गर्न चाहन्छौँ । उनी कसका लागि गृहमन्त्री बनेका रहेछन् भन्ने कुरा पनि जनताले बुझ्ने गरी सतहमा आएको छ । जबसम्म नेपालबाट एमसीसी परियोजना खारेज हुँदैन तबसम्म हाम्रो पार्टी यसका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्न तयार रहेको र त्यसमा सबै देशभक्त, राष्ट्रवादी, क्रान्तिकारी र आमनेपाली जनसमुदायलाई सक्रियतापूर्वक साथ दिन पनि हार्दिक अपिल गर्दछौँ ।’

विज्ञप्तिको सुरुमै भनिएको छ, ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निरन्तर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक सङ्घर्ष गरिरहेको सर्वविदितै छ । इतिहासमा कहिल्यै पनि पराधीन नभएको देश आज अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० नामक परियोजनालाई नेपालको सार्वभौम संसद्बाट कथित संसद्वादीहरूले पास गरेलगत्तै नेपाल रणनीतिक र सामरिक हिसाबले पराधीनताउन्मुख भएको र यसले देशलाई द्वन्द्वको भुमरीमा फसाउने कुरा प्रस्टै देखिन्छ । हिन्द–प्रशान्त सैन्य रणनीतिको अङ्गका रूपमा रहेको एमसीसी परियोजना, नेपालको भूमि प्रयोग गरी छिमेकी राष्ट्रका विरुद्ध चलखेल गर्ने र नेपालको प्राकृतिक स्रोत र साधनलाई कब्जामा राख्ने उद्देश्यसहित नेपालमा आएको प्रस्टै बुझिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :