थपलियालाई अध्यक्ष चयन गर्दै जनसांस्कृतिक महासङ्घको राष्ट्रिय भेला सम्पन्न

केपी र प्रचण्डसँग असम्भव भएजस्तै विप्लवसँग एकता सम्भव छैन : कञ्चन

थपलियालाई अध्यक्ष चयन गर्दै जनसांस्कृतिक महासङ्घको राष्ट्रिय भेला सम्पन्न

काठमाडौँ : विश्वसर्वहारा वर्गका महान् नेता माओको १३० औँ जन्मदिवसको अवसर पारेर अखिल नेपाल जनसांस्कृतिक महासङ्घको भेला सम्पन्न भएको छ । काठमाडौँको संवादडबलीमा मङ्गलबार सम्पन्न भएको भेलाले खेम थपलियालाई अध्यक्षमा चयन गर्दै २९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
भेलामा सम्बोधन गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले नेपालको क्रान्तिकारी आन्दोलनमा सांस्कृतिक आन्दोलनको महत्वपूर्ण भूमिका रहने भन्दै महासङ्घले यसमा भूमिका निर्वाह गर्नुपर्ने बताए । हालै सम्पन्न चुनावमा ५८ प्रतिशत जनताले चुनाव अवज्ञा गरेकाले नीति र विधिको हिसाबले कुरा गर्ने हो भने यो चुनाव अवैधानिक भएको भन्दै कञ्चनले वर्तमान अवस्थामा देश राजनीतिक रूपले अन्योलमा फसेको वताए ।
वर्तमान व्यवस्थाको चरित्र अराजक भएको भन्दै उनले यो व्यवस्थामा चुनिएका मानिस यसैलाई सहयोग गर्ने खालका व्यक्ति उत्पादन भइरहेको र उनीहरूले यही व्यवस्थाको सहयोग गर्ने बताए । सरकार गठनका लागि विज्ञहरूको टिम हुनुपर्ने, निर्वाचित न्यायपालिका हुनुपर्ने भन्दै नेता कञ्चनले यो सरकारमा कुनै पनि व्यक्ति गए पनि उनीहरू दलाल पुँजीवादी व्यवस्थाको सेवक बन्ने भएकाले यो व्यवस्था नै खराब भएको बताए ।
वर्तमान अवस्थामा नेपालमा क्रान्तिका लागि वस्तुगत आवश्यकता तयार भएको तर आत्मगत अवस्था तयार नभएकाले क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाइमा उठाउनको लागि क्रान्तिकारीहरूवीच छिट्टै एकता हुने उनले बताए । विप्लवसँग छलफल भइरहेको छ रे भन्ने पत्रकारको प्रश्नको जबाफ दिँदै कञ्चनले विप्लवसँग अहिले कुनै विषयमा छलफल नभएको र उनले आफूले गरेका गल्तीहरू सच्याएर आए भने मात्र छलफल सम्भव हुने बताए । उनले भने, ‘जसरी अहिले केपी ओली र प्रचण्डहरूसँग एकता सम्भव छैन, त्यसरी नै अहिले विप्लवसँग एकता सम्भव छैन ।’
भेलामा शुभकामना दिँदै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य शार्दूलले नेपाली वर्गसङ्घर्षलाई उचाइमा उठाउने नेतृत्व महासङ्घलाई आवश्यक रहेको भन्दै क्रान्तिकारी आन्दोलनमा प्रतिक्रान्ति किन हुन्छ भन्ने कुराको खबरदारी महासङ्घले गर्नुपर्ने बताए । साथै उनले सांस्कृतिक रूपले नेतृत्व रूपान्तरण हुन आवश्यक भएको कुरामा जोड दिए । साथै उनले कम्युनिस्ट बन्नलाई ३ कुरा आवश्यक रहेको भन्दै सिद्धान्तमा ऐतिहासिक भौतिकवादी हुनुपर्ने, भौतिकवादी सिद्धान्तलाई अंँगाल्नुपर्ने र द्वन्द्ववादी बन्नुपर्ने बताए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अर्का सचिवालय सदस्य तथा बागमती ब्युरो इन्चार्ज शरद रसाइलीले जनयुद्धको समयमा सांस्कृतिक मोर्चाले निर्वाह गरेको भूमिका निकै महत्वपूर्ण भएको र यसले आन्दोलनलाई उचाइमा उठाएको भन्दै हरेक क्रान्तिकारी आन्दोलनमा यो मोर्चाको महत्वपूर्ण भूमिका रहने बताए । सांस्कृतिक सङ्गठन सम्झनेबित्तिकै कला, साहित्य, गीत, सङ्गीत, संस्कार संस्कृतिको विषय अगाडि आउने भन्दै उनले कला–साहित्य निकै शक्तिशाली हुने बताए ।
महासङ्घका नवनिर्वाचित अध्यक्ष थपलियाले सांस्कृतिक दृष्टिकोण पैदा गर्न आवश्यक भएको भन्दै सङ्गठनले भौतिक शक्ति पैदा गर्ने भएकाले सांस्कृतिक मोर्चा भनेको विचारधारात्मक मोर्चा भएको बताए । आत्मकेन्द्रित व्यक्तिवाद आजको मुख्य समस्या भएको र नेपालको क्रान्तिकारी सामाजिक रूपान्तरणको आन्दोलनमा सांस्कृतिक आन्दोलनको भूमिका महत्वपूर्ण हुने उनले बताए ।
भेलामा अखिल नेपाल टेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष विनोद थापा, किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ, दलित मुक्ति मोर्चाका अध्यक्ष दर्शन नेपाली, बुद्धिजीवी सङ्गठनका उपाध्यक्ष नन्दलाल खरेल र सल्लाहकार समितिकी सदस्य पवित्रा फुयालले शुभकामना मन्तब्य दिएका थिए । ढुण्डीराज अधिकारीले गीत र अग्निराज पौडेलले कविता प्रस्तुत गरेका थिए ।
भेलाबाट चयन भएका सदस्यहरूमा  अम्बिका चन्द (रुकुम), रोजन रखाल (भक्तपुर), ढुण्डीराज अधिकारी (काठमाडौँ), जयफुल्ला हसन (नवलपरासी), अग्निराज पौडेल ‘अराप’ (काठमाडौँ), वीपी विद्रोही (कास्की), जीवन हमाल (दाङ),रोहित ढकाल (भोजपुर), क्रान्ति पाण्डे (प्यूठान), नवराज न्यौपाने (मकवानपुर), खेम आचार्य (चितवन), पुरुषोत्तम आचार्य (मकवानपुर), सिद्ध खड्का (सुर्खेत), ईश्वर श्रेष्ठ (नुवाकोट), राकेश ओली (बर्दिया), रामबहादुर सिंह (जाजरकोट), भानु परियार (कैलाली), भरत परियार (सल्यान), दिनेश नेपाली (अछाम), बलराम राउत (चितवन),उज्ज्वल शाही (रूपन्देही), सीमाकुमारी राय (सप्तरी), निर्मला खड्का (दाङ) गरी २४ जना रहेका छन् जसमा ५ जना पछि थप गरिनेछन् । भेलाको अध्यक्षता र सञ्चालन खेम थपलियाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :