करिष्मा र युवराजले पाए २०७९ सालको बितु सिंह–बिन्दासरा सिंह छात्रवृत्ति

करिष्मा र युवराजले पाए २०७९ सालको बितु सिंह–बिन्दासरा सिंह छात्रवृत्ति

गुमथले, टालेगाउँ (जाजरकोट) : नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंहद्वारा बाबाआमाको स्मृति र सम्मानमा स्थापित ‘बितु सिंह–बिन्दासरा सिंह छात्रवृत्ति’ यस वर्ष करिष्मा सिंह र युवराज सिंहले प्राप्त गरेका छन् । आफूले अध्ययन गरेको जनकल्याण आधारभूत विद्यालय कुशे २, गुमथलेमा अध्ययनरत छात्रछात्रामध्ये दुईजना मेधावी छात्रछात्रालाई प्रदान गरिने पाँच-पाँच हजार राशिको छात्रवृत्ति यस वर्षका लागि उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा करिष्मा र कक्षा ८ मै अध्ययनरत छात्र युवराजले प्राप्त गरेका हुन् ।
बिन्दासरा सिंहको निधनको आठौँ स्मृति दिवसका सन्दर्भमा विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा बितु सिंह र बिन्दासरा सिंहका जेठा छोरा गोरखबहादुर सिंहले छात्रवृत्ति हस्तान्तरण गरेका हुन् ।
नेकपा (बहुमत) का सचिवालय सदस्य सिंहले बुबा बितु सिंह र आमा बिन्दासरा सिंहको स्मृति र सम्मानमा ‘बितु सिंह–बिन्दासरा सिंह स्मृति प्रतिष्ठान’ र छात्रवृत्ति कोष घोषणा गरी गत वर्ष पनि दुई छात्रालाई छात्रवृत्ति हस्तान्तरण गरेका थिए । प्रतिष्ठानद्वारा शुक्रबार जनकल्याण आधारभूत विद्यालय प्राङ्गणमा आयोजित यस वर्षको छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलकबहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर शाही अतिथिका रूपमा उपस्थित थिए भने स्थानीय बासिन्दा, अभिभावक र शिक्षकहरुको उल्लेखनीय उपस्थिति थियो । जनकल्याण आधारभूत विद्यालय नेकपा (बहुमत) का नेता सिंहका बुबा बितु सिंह र स्थानीय मानबहादुर सिंहको पहलमा २०४५ सालमा स्थापना भएको हो । स्मरणीय छ, बिन्दासरा र बितु सिंहले छोरा पूर्णबहादुर सिंह र छोरी जल्दरा सिंहलाई खुसीसाथ टीका लाएर महान् जनयुद्धमा लामबद्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :