क्रान्तिकारीहरू ध्रुवीकृत हुन आवश्यक छ : कञ्चन

क्रान्तिकारीहरू ध्रुवीकृत हुन आवश्यक छ : कञ्चन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले अहिलेको संसदीय चुनावमा नेपाली जनताले कम्युनिस्टलाई कारबाही गरेको बताएका छन् । शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा पार्टी संयोजक कञ्चनले नेपालका कम्युनिस्ट भन्नेहरूले आफ्नो सिद्धान्त छोडेका कारण जनताले चुनावमा मतदान नगरेर कारबाही गरेको बताएका हुन् ।
नेपालका कम्युनिस्ट भनिनेहरू एमाले, माओवादी केन्द्रलगायत सरकारमा गएपछि वर्गीय पक्षधरताबाट विचलित भएको र सर्वहारावर्गीय धर्मबाट च्यूत भएका कारण जनताले कारबाही गरेको संयोजक कञ्चनले बताए । नेपालका संसद्वादी कम्युनिस्टप्रति जनताको वितृष्णा बढेको भए पनि क्रान्तिकारीहरूका लागि विश्वपरिस्थिति अनुकूल भएकाले सबै क्रान्तिकारी कम्युनिस्टहरू एक हुनुपर्ने संयोजक कञ्चनको भनाइ थियो ।
नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कँडेलले नेपालमा विजय उन्मुख भैसकेको क्रान्तिलाई नेतृत्वको आत्मसुरक्षा र आत्मसमर्पणका कारण विसर्जन गरिएको र नेपाली जनतामाथि ठूलो धोका भएको भन्दै जनताको मुक्तिका लागि आफूहरू अझै पनि लागिपरेको बताए ।
कार्यक्रममा नेकपा मशालका प्रवक्ता रामबहादुर बुढाले नेपालमा अधुरो रहेको क्रान्तिलाई पूरा गर्नका लागि सम्पूर्ण बामपन्थी र क्रान्तिकारीहरूबीच एकताको आवश्यकता रहेको बताए ।
प्राडा जगदीशचन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक खेम थपलियाले गरेका थिए । रक्तिम सांस्कृतिक अभियानका संयोजक नारायण शर्माले स्वागत मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :