माया लुहारका हत्यारालाई अविलम्ब कारबाही गर : अखिल (क्रान्तिकारी)

माया लुहारका हत्यारालाई अविलम्ब कारबाही गर : अखिल (क्रान्तिकारी)

काठमाडौँ :अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिले हालै बैतडीमा भएको माया लुहार हत्याकाण्डका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ श्री जवलपुर मावि सैलोडामा कक्षा १२ मा अध्ययनरत २१ वर्षीया माया लुहारको हत्या र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत वर्ष १५ की नेहा लुहारमाथिको हत्या प्रयासको विषयलाई लिएर अखिल (क्रान्तिकारी) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । अखिल (क्रान्तिकारी) का सुदूरपश्चिम इन्चार्ज सुरेन्द्र धानुकले प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १३ गते मङ्गलबार बिहान १० बजे घरपरिवारको सल्लाहअनुसार हिउँदे मौसमको लुगा सिलाउन भनी स्थानीय कुलाँउबजार गएका छात्राहरूलाई धारिलो हतियार प्रयोग गरी हत्या र हत्या प्रयास भएको घटनाको विरोध गर्दै भनेका छन्, ‘आजको बदलिँदो विश्वपरिवेशमा अझै पनि नेपालमा बालबालिका, छात्रा र महिलाहरू सुरक्षित र स्वतन्त्र भएर हिँड्न र बोल्न पाइरहेका छैनन् । यस्ता जघन्य अपराधका घटना, हत्या–हिंसा, बलात्कार प्रतिदिन बढ्दै जानुमा वर्तमान सरकार र दलाल पुँजीवादी सत्ता जिम्मेवार छ । छात्रा मायाको हत्या र नेहालाई गम्भीर घाइते बनाएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायलाई हाम्रो सङ्गठन जोडदार माग गर्दछ । अन्यथा विद्यार्थी आन्दोलनलाई पेचिलो सङ्घर्ष बनाएर लैजाने जानकारीसमेत गराइन्छ । साथै यस्ता घटनालाई न्यूनीकरण गर्न प्रत्येक विद्यालयमा छात्राहरूलाई आत्मसुरक्षा तालिमको व्यवस्था मिलाउन तीनै तहका सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :