नेपाली जनताले समाजवाद चाहेको महसुस भएको छ : राजदूत जो यङ मान

विभिन्न कार्यक्रमसहित कोरियाली नेता किम जोङ इलको स्मृति दिवस मनाइँदै

नेपाली जनताले समाजवाद चाहेको महसुस भएको छ : राजदूत जो यङ मान

काठमाडौँ : नेपालका लागि जनवादी गणतन्त्र कोरियाका राजदूत जो यङ मानले अहिलेको चुनावको वातावरण हेर्दा नेपाली जनताले समाजवाद चाहेको महसुस गरेको बताएका छन् । समाजवाद चाहनेको सङ्ख्या नेपाललगायत विश्वका अन्य देशहरूमा पनि बढिरहेको भन्दै राजदूत जो यङ मानले कोरियाली नेता किम जोङ इलले समाजवादप्रति गरेको योगदानका बारेमा धेरैभन्दा धेरै मानिसले जान्न आवश्यक रहेकोमा जोड दिए ।

काठमाडौँमा शुक्रबार जनगणतन्त्र कोरियासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरूका प्रतिनिधि सहभागी बैठकमा राजदूत जोले कोरियाली समाजवादका बारेमा धेरैभन्दा धेरै मानिसले बुझ्नुपर्दछ भन्ने आफूलाई लागेको प्रस्ट पार्दै संसारभरि नै नेता किम जोङ इलको स्मृति कार्यक्रम हुने जानकारी दिए । कोरियामा राष्ट्रपति किम इल सुङको जन्मदिन र साम्राज्यवादलाई परास्त गरेर जनगणतन्त्र स्थापना गरेको सन्दर्भमा राष्ट्रिय दिवस मनाइने गरेको जानकारी दिँदै उनले ती दुवै दिनमा राष्ट्रिय उत्सव हुने गरेको बताए ।

बैठकमा यही डिसेम्बर १७ मा पर्ने कोरियाली मुक्ति आन्दोलनका एक नेता, सङ्गुन पोलिसी अर्थात् विचारसहितको जनसेना र जनसेना प्रथम नीतिका प्रतिपादक किम जोङ इलको ११ औँ स्मृति दिवस मनाउन नेपालमा रहेका कोरियाका मित्र सङ्घसंस्थाका प्रतिनिधि रहेको तयारी समिति गठन गरिएको छ । बैठकले ‘कमरेड किम जोङ इलको एघारौँ स्मृति दिवस मनाउने राष्ट्रिय तयारी समिति नेपाल’ गठन गरेको हो । नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष सीपी मैनालीको अध्यक्षतामा गठित समितिमा अशोक सुवेदी, अम्बिका चन्द, मञ्जुरत्न शाक्य, कुमार बेलबासे, सुरेन्द्र ढकाल, शङ्कर भारती, वसन्त श्रेष्ठ, राजन कार्की, चेतलाल कुँवर, माणिक लामालगायत सदस्य रहेका छन् । समितिको सदस्यसचिव फणिन्द्रराज पन्तलाई तोकिएको छ ।

बैठकले डिसेम्वर ६ र ९ तारिखमा काठमाडौँमा दुईवटा छुट्टाछुट्टै कार्यक्रम गर्ने तय गरेको छ । त्यसैगरी डिसेम्बर १५ मा कोरियाली दूतावासमा कोरियाली नेता किम जोङ इलप्रति श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । नेता किमको स्मृतिमा संसारभरि विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दूतावासले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :