काठमाडौँमा चुनावविरुद्ध प्रदर्शन जारी, नेकपा (बहुमत) का सचिवालय सदस्य तथा बागमती इन्चार्ज शरदसहित २५ जना गिरफ्तार

काठमाडौँमा चुनावविरुद्ध प्रदर्शन जारी, नेकपा (बहुमत) का सचिवालय सदस्य तथा बागमती इन्चार्ज शरदसहित २५ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा बागमती ब्युरो इन्चार्ज शरद रसाइलीलाई प्रहरीले चुनाव अवज्ञा आह्वान गर्दै आयोजना गरिएको प्रदर्शन स्थलबाट गिरफ्तार गरेको छ । प्रहरीले रसाइलीसँगै नेकपा (बहुमत) का काठमाडौँ इन्चार्ज एवम् पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य दीपेन्द्र चलाउने, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, भीम बटालालगायत २५ जनालाई गिरफ्तार गरेको छ ।

संसदीय व्यवस्थाको चुनाव जनतालाई धोका भएको भन्दै नेकपा (बहुमत) ले आज काठमाडौँमा पनि प्रदर्शन गरेको थियो । जिल्लाका विभिन्न स्थानमा प्रदर्शन जारी रहेको बताइएको छ । प्रदर्शनस्थलबाटै नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई प्रहरीले गिरफतार गरेको हो ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव नवराज भट्टसहितको टोलीलाई पनि प्रहरीले प्रदर्शनस्थल माइतीघरबाटै गिरफ्तार गरेको थियो ।

दलाल संसदीय ब्यवस्थापको निर्वाचनले देशलाई महँगी, भ्रष्टाचार र राष्ट्रघात थप्ने भएकाले निर्वाचन अवज्ञा गर्न आह्वान गर्दै आज नेकपा (बहुमत) ले चुनाव अवज्ञा आह्वान गर्दै देशभर प्रदर्शन जारी राखेको छ । कास्कीको एक मतदानकेन्द्रमा नेकपा (बहुमत) का कार्यकर्ताले मतपेटिका नै फुटाइदिएका छन् । अन्य स्थानमा कोणसभा, नारा, जुलुस जारी रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :