सत्ताधारीको मौन अवधिमा नेकपा (बहुमत) को मशाल जुलुस

मकवानपुर : संसद्‌वादीहरू चुनावअघिको मौन अवधिको नाउँमा आर्थिकलगायत विभिन्न चलखेल गरिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुरले हेटौँडामा चुनाव अवज्ञा आह्वान गर्दै मशाल जुलुस निकालेको छ ।

विगत एक महिनादेखि भित्तेलेखन, पर्चा–पम्प्लेट वितरण तथा पोस्टर टाँस्ने काम गरिरहेको नेकपा (बहुमत) मकवानपुरले दलाल संसदीय व्यवस्थाले गर्न लागेको निर्वाचन जनताका पक्षमा नभएको निष्कर्षसहित निर्वाचन अवज्ञा आन्दोलनअन्तर्गत शुक्रबार बेलुका मशाल जुलुस निकालेको हो ।

निर्वाचनको समयमा लागू गरिएको मौन अवधिलाई समेत अवज्ञा गर्दै नेकपा (बहुमत) ले हेटौँडा उपमहानगरपालिका चिसापानी बजारमा सयौँको उपस्थितिमा मशाल जुलुस निकालेको हो । जुलुसमा दलाल पुँजीवादी संसदीय व्यवस्था खारेज गर, मङ्सिर ४ को चुनाव अवज्ञा गरौँ, नेकपा (बहुमत) जिन्दावादलगायत नारा लगाइएको थियो ।

मशाल जुलुसपछि आयोजित सभामा सम्बोधन गर्दै पार्टीका मकवानपुर जिल्ला संयोजक शक्तिले वर्तमान राज्य व्यवस्था गरिब, सुकुमबासी, मजदुर, किसान, दलित, महिला, मधेसी, जनजातिको नभई दलाल पुँजीवादीहरूको भएकाले र यो चुनाव पनि उनीहरूकै लागि गराउन लागिएकाले चुनाव अवज्ञा गर्नुपर्ने बताए । उनले व्यक्ति नभएर व्यवस्था परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

आलोकले कोणसभा सञ्चालन गर्दै सभामा उपस्थित पार्टी कार्यकर्ता र सर्वसाधारणलाई धन्यवाद र बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :