चुनाव अवज्ञा आह्वान गर्दै प्ले कार्ड प्रदर्शन गरिरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

चुनाव अवज्ञा आह्वान गर्दै प्ले कार्ड प्रदर्शन गरिरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ता गिरफ्तार

कञ्चनपुर : संसदीय व्यवस्था मान्दैनौँ ! भोट हाल्दैनौँ ! भन्दै बाटोमा हिँडिरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई प्रहरीले कञ्चनपुरबाट गिरफ्तार गरेको छ । नेकपा (बहुमत) का नेता–कार्यकर्ता आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा आफूहरू यो व्यवस्था नमान्ने र भोट नहाल्ने भन्दै प्लेकार्ड बोकेर शान्तिपूर्ण रूपमा बाटोमा हिँडिरहेका थिए ।

प्लेकार्ड बोकेर नेकपा (बहुमत) का नेता–कार्यकर्ता यो व्यवस्थाले देश नै बेचेको, युवा, महिला, विद्यार्थी सबैलाई बेचेको, स्वास्थ्य उपचार निःशुल्क गराउनुपर्ने, सरकार आफैँले भ्रष्टाचार दिन–प्रतिदिन गरिरहेको बताउँदै जनतालाई चुनाव अवज्ञा गर्न आह्वान गर्दै हिँडेका थिए ।

नेकपा (बहुमत) का नेता–कार्यकर्ता महँगीले आकाश छोएको, हत्या, बलात्कारजस्ता जघन्य अपराध बढिरहेको, शिक्षा गुणस्तरीय र निःशुल्क नभएको, युवाहरूलाई स्वदेशमै रोजगार नभएकाले यस्तो संसदीय व्यवस्थाको निर्वाचन अवज्ञा गरौँ भन्दै प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए ।

प्रहरीले भने निर्वाचन आचारसंहिताविपरीत भन्दै नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको दाबी गरेको छ ।

गिरफ्तार हुनेहरूमा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष वीरेन्द्र शाह, नेकपा (बहुमत) का कञ्चनपुर जिल्ला इन्चार्ज अर्जुन, युवा जनस्वयम्सेवकका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज सुरेन्द्र धानुक, जिल्ला संयोजक नक्साल, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सदस्य दीपेन्द्र, भरतलगायत छन् ।

नेकपा (बहुमत) कञ्चनपुरले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्दा गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइको माग गरेको छ । अविलम्ब रिहा नगरिए कडा सङ्घर्ष गर्न बाध्य हुने चेतावनी नेकपा (बहुमत) कञ्चनपुरले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :