राजनीतिक विज्ञानमा नयाँ अन्वेषण

संसारका हरेक वस्तुहरू विपरीतहरूको एकत्व मानिरहेका छन् तर त्यही कुरा दुईलाइन संघर्षमा हु बहु लागु हुन सक्दैन अर्थात् दुई लाइन संघर्ष सजातीय हुनुपर्दछ । यो यसकारणले कि एउटा राजनीतिक पार्टी अझ त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी जसले समाज रूपान्तरणको तरिका मात्रात्मक गतिबाट होइन, गुणात्मक गति अर्थात् क्रान्तिद्वारा हुने कुरा स्वीकार गर्दछ र प्रयोगको तहमा पुर्‍याउँछ । त्यसका लागि सिंगो पार्टीमा एकता चाहिन्छ । आज विश्वव्यापी रूपमा देखा परिरहेको यस प्रकारको अन्तरविरोधको एकमात्र समाधान भनेको विद्यमान संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माण गर्नु हो । जहाँ उत्पीडित वर्ग, जाति, लैङ्गिक, क्षेत्र र समुदायका बीचका अन्तरविरोधहरू रहने छैनन् । वर्गविहीन समाजको निर्माण हुनेछ । जहाँ मानव जातिलाई वैज्ञानिक साम्यवादमा लैजान प्रशिक्षित गर्ने विचार र कार्यविधिको प्रयोग गरिनेछ । आज समाजवादी व्यवस्था स्थापनार्थ संसारभरका जनसमुदायले साम्राज्यवाद तथा त्यसद्वारा निर्देशित शासन व्यवस्थाका विरुद्ध विभिन्न विद्रोह, युद्ध र क्रान्तिहरू संगठित गर्दै आइरहेका छन् । तर ति क्रान्तिले साम्राज्यवादी शासन व्यवस्था माथि विजय हासिल गर्न सकेका छ्रैनन् । अझ महत्वपूर्ण विषय के छ भने विगमा संसारका एकतिहाई भूभागमा स्थापना गरिएका समाजवादी सत्ताहरूमा प्रतिक्रान्ति हुन पुगेको छ । यो एउटा गम्भीर विषय बन्न पुगेको छ । विश्वमा समाजवादी सत्ताहरूमा भएका प्रतिक्रान्ति र माओको निधनपश्चात विश्वव्यापी रूपमा संचालन गरिएका क्रान्तिहरूले आफ्नो विजय सुनिश्चित गर्न नसक्नुका बारेमा विश्वव्यापी रूपमा गम्भीर समीक्षा र अध्ययन अन्वेषण चलिरहेको छ । प्रचण्ड–बाबुरामहरूले जनयुद्धलाई विचमै अलपत्र छोडेर जब संसदवादका सामु आत्मसमर्पण गर्न पुगे तब पार्टीमा यसले मूर्त रूपमा बहसको रूप लिन पुग्यो । जनयुद्ध कालमा पनि हामीले क्रान्ति, प्रतिक्रान्ति र पुनः नयाँ क्रान्तिको बारेमा बहसहरू संचालन गरिरहेका थियौं । त्यसप्रकारको बहसमा सहभागी नेतृत्वहरूले नै पुनः प्रतिक्रान्तिको सेवा गर्न पुगेको सन्दर्भमा यो बहसले पुनः विश्वव्यापी र नेपालमा पनि नयाँ रूप र आकार लिन थाल्यो । शान्तिप्रक्रियामा प्रवेश, पार्टीमा चलेका दुईलाइन संघर्षहरू तथा एकता र फूटका घटनाक्रमहरू सहिद वेपत्ता योद्धाहरूले देखाएको बाटो स्मरण गर्दै वर्तमान नेपाली समाजका अन्तरविरोधहरूको पहिचान र समाधानका साथै एउटा वैज्ञानिक समाज जहाँ समानता, स्वाधीनता, समृद्धि र शान्तिसहितको विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेपालको निर्माण लगायतका विषयहरूमा बहसहरू केन्द्रित हुन पुगे । यसको निचोड हामीले के निकाल्यौं भने क्रान्तिको पूर्ण सफलता र त्यसलाई प्रतिक्रान्तिबाट रक्षा गर्दै निरन्तर क्रान्तितर्फ जानका लागि हामीले दर्शन, राजनीति, संगठन र अर्थ प्रणालीका साथै कार्यदिशा पनि विकास गर्न आवश्यक छ । उपरोक्त निष्कर्षलाई पूर्णता दिनका लागि हाम्रो पार्टीले महासचिव क. विप्लवको नेतृत्वमा सामान्यतः शान्ति प्रक्रियाको झण्डै एक दशक र मुख्यतः दुई वर्षको बहसपश्चात भएको आठौं महाधिवेशनमा केही अन्वेषण गर्न सफल भएको छ । त्यसबारे यहाँ संक्षिप्त चर्चा गरिनेछ ।

दर्शनबारे :

दर्शन भनेको समाजलाई हेर्ने बुझ्ने र बदल्ने दृष्टिकोण हो । जसलाई महान् गुरु कार्लमाक्र्सले – “संसारलाई व्याख्या गर्ने दार्शनिकहरू त हजारौं छन् तर मूल कुर बदल्नु हो” भनेका छन् । दर्शनको यो प्रयोग लेनिन, स्टालिन, माओ हुँदै हामीले पनि प्रयोग गर्दै आयौं । आठौं महाधिवेशनको निष्कर्ष के रहेको छ भने अब बुझ्ने र बदल्नेले मात्रै पुग्दैन किनकि समाजवादी सत्ताहरू त टिक्न सकेनन् जो लाखौ मानिसहरूको त्याग, वीरता र वलिदानपश्चात प्राप्त भएका थिए । त्यसकारण अब दर्शनमा विकास र रक्षा गर्नुपर्छ भन्ने कुरा थपेका छौं । यसले विगतमा समाजवादी सत्ताहरूमा प्रतिक्रान्ति किन र कसरी भयो र आगामी दिनमा प्रतिक्रान्तिबाट समाजवादी सत्ताहरूलाई कसरी रक्षा गर्न सकिन्छ भन्ने कुराको विहंगम अध्ययन गर्न मद्दत पुग्नेछ । दर्शनकै क्षेत्रमा अर्को महत्वपूर्ण कुरा ‘विपरीतहरूको एकत्व’ बारे पनि नयाँ अन्वेषण गरिएको छ । संसारका हरेक वस्तुहरू विपरीतहरूको एकत्व मानिरहेका छन् तर त्यही कुरा दुईलाइन संघर्षमा हु बहु लागु हुन सक्दैन अर्थात् दुई लाइन संघर्ष सजातीय हुनुपर्दछ । यो यसकारणले कि एउटा राजनीतिक पार्टी अझ त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी जसले समाज रूपान्तरणको तरिका मात्रात्मक गतिबाट होइन, गुणात्मक गति अर्थात् क्रान्तिद्वारा हुने कुरा स्वीकार गर्दछ र प्रयोगको तहमा पु¥याउँछ । त्यसका लागि सिंगो पार्टीमा एकता चाहिन्छ । त्यसले नेता कार्यकर्ता र जनतालाई एकतावद्ध गर्न सक्नुपर्दछ । एउटै पार्टीमा बसे विपरीत तर्क गर्ने जस्तो कि क्रान्ति हुन्छ कि हुँदैन ? गर्नुपर्छ र पर्दैन भन्नु गलत हुन पुग्दछ । पार्टीमा विपरीतहरूको एकत्वलाई अन्य वस्तुहरूमा झैं प्रयोग गरिरहँदा एकातिर पार्टीमा निरन्तर फूट भैरहन्छ भने अर्कोतर्फ आफ्नो स्वार्थअनुसार मानिसहरू कहाँ पुग्छन् भन्ने कुरा प्रचण्ड बाबुमको व्यवहारले स्पष्ट गर्दछ । आज उनीहरू विपरीतहरूको एकत्वको गलत परिभाषाका कारण उत्पीडित श्रमजीवी वर्गको मुक्तिको वर्गदृष्टिबाट च्यूत भै संसदवादीहरूसँग घाँटी जोड्न पुगेका छन् ।

राजनीतिक प्रणालीबारे :

विश्व समाजवादी आन्दोलनमा कम्युनिस्ट प्रतिनिधिहरू जनताबाट प्रत्यक्ष रूपमा चुनिने सन्दर्भमा केही समस्याहरू विद्यमान थिए । अहिले हामीले प्रत्यक्ष जनताबाट निर्वाचित हुने प्रणालीको प्रयोग गर्ने कुरा उठाएका छौं । साँचो अर्थमा राष्ट्र र जनताको पक्षमा निरन्तर संघर्षरत पार्टीका नेता तथा कार्यकर्ताहरूले यो हिम्मत गर्नै पर्दछ कि उनीहरूसँग आफ्नो व्यक्तिगत स्वार्थ केही छैन, उनीहरू केवल राष्ट्र र जनताको भलाईका लागि समर्पित छन् यो कुरा जनतालाई विचारधारात्मक रूपले बुझाउने, जनताको जीवनमा परिवर्तन आउने गरी अग्रगामी योजनाहरू तर्जुमा गर्ने कुराहरूलाई सुनिश्चित गरियो भने कम्युनिस्टहरू जनतामा लोकप्रिय हुनेछन् । उनीहरू आफ्ना नीति कार्यक्रममार्फत् जनताबाट निर्वाचित हुनेछन् । यसमा अझ महत्वपूर्ण कुरा के छ भने विगतमा वैज्ञानिक समाजवादमा सम्पूर्ण सम्पत्ति राज्यको स्वामित्वमा हुने कुरा गरिएको थियो । हामीले अहिले एउटा निश्चित अवधिसम्म सम्पत्ति राख्न पाउने स्वतन्त्रता दिइनुपर्दछ भनेका छौं । त्यहाँ नेताले कुनै व्यक्तिगत सम्पत्ति राख्ने छैनन् । कार्यकर्ताहरूले आंशिक रूपमा राख्नेछन् भने जनताहरू धनी हुनेछन् । नेताकार्यकर्ताहरूको जीवन वैभव र विलाशितापूर्ण हुनेछैन । सरल र पारदर्शी हुनेछ । राज्यले सम्पूर्ण कुराको ग्यारेन्टी गर्दै जाँदा व्यक्तिगत पुँजीको महत्व स्वतः घट्नेछ र जनता निश्चित समयपश्चात समाजवादी प्रणालीमा प्रवेश गर्नेछन् । यस कुरालाई केन्द्रविन्दुमा राखेर समाजवादी व्यवस्थाले आफ्नो निर्देशक सिद्धान्त प्रतिपादन गर्नेछन् । यसले भ्रष्टाचार रोकिनेछ भने अर्कोतर्फ राजनेता र जनसम्बन्धमा एकअर्कामा नङ र मासुको सम्बन्ध कायम गर्नेछ ।

संगठनात्मक सिद्धान्तबारे :

क्रान्तिकारी विचार र राजनीतिलाई एउटा भौतिक शक्तिमा बदल्ने माध्यम वा प्रक्रिया भनेको संगठनको प्रभावकारी निर्माण र परिचालन हो यसप्रकारको प्रभावकारिता बिना कुनैपनि राजनीतिक आन्दोलन सफल हुन सक्दैन । त्यस्तो संगठन जसले क्रान्तिकारी विचार र राजनीतिलाई पूर्णता दिन र आम जनसमुदायलाई एकतावद्ध गर्ने कुरामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् यस सिलसिलामा समाजवादी सत्ता प्राप्तिका लागि लडिरहेका पार्टीहरूले विगतदेखि वर्तमानसम्म छलफलमा स्वतन्त्रता, काम कारबाहीमा एकरूपता अर्थात् “सामूहिक निर्णय, व्यक्तिगत उत्तरदायित्व” मा आधारित जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्तको प्रयोग गर्दै आइरहेका छन् । जसमा व्यक्त संगठनको अधिनस्त, अल्पमत बहुमतको अधिनस्त, तल्लो कमिटी उपल्लो कमिटीको अधिनस्त र सिंगो कमिटी महाधिवेशन÷राष्ट्रिय सम्मेलनको अधिनस्त रहने गर्दछ । हामीले त्यसमा आवधिक प्रणाली थप गरेका छौं । अब सम्पूर्ण तहका कमिटीहरूमा रहेका नेता÷कार्यकर्ताहरूले केवल दुई कार्यकाल कार्य गर्न पाउँछन् । यसले सबै तहको र मुख्यतः केन्द्रीय नेतृत्वमा रही जीवनको अन्तिम क्षणसम्म पार्टी वा सरकारको नेतृत्वमा रहिरहने प्रक्रियालाई अन्त्य गर्नेछ र नयाँ पुस्ताहरूको हजारौं उत्तराधिहरूको निर्माण र परिचालन माफर््त् सामाजिक क्रान्तिलाई गतिशील र जीवन्त तुल्याउन मद्दत गर्नेछ । नेपाली कम्युनिस्ट आन्दोलनको एउटा दुःखान्त पक्ष के रही आएको छ भने मूल नेतृत्वले सचेतन प्रयत्नद्वारा आफ्नो उत्तराधिकारीहरू निर्माण गरी पदीय जिम्मेवारी हस्तान्तरण गर्न नसक्ने र नयाँ पुस्ताले नेतृत्व लिनका लागि मूल नेतृत्वका विरुद्ध विभिन्न आरोपहरू थोपर्ने गुटबन्दी गर्ने र आफू त्यहाँ पुग्ने परिपाटी देखिएको छ । अबका दिनमा नेपाली कम्युनिस्ट आन्दोलनले त्यसप्रकारको खराब नियति व्यहोर्नुपर्ने छैन । पार्टी एउटा संस्थागत प्रणालीद्वारा परिचालित हुनेछ । पार्टी र क्रान्तिका लागि हजारौं उत्तराधिकारीहरू तयार हुनेछन् र उनीहरूले युगानुकूल पार्टी, क्रान्ति र समाजको कुशलतापूर्वक अगुवाई गर्नेछन् ।

कम्युनिस्ट संस्कृतिबारे :

हामी कम्युनिस्ट समाज निर्माणका लागि संघर्षरत छौं । करिब ७ दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न वैधानिक–अवैधानिक संघर्षहरू संचालन गरिए । ती संघर्षहरूमा ठूला–ठूला वलिदानहरू हुने गरेका छन् । तर कम्युनिस्ट संस्कृति निर्माणमा हाम्रो चेतना अग्रगामी हुन सकेन फलतः कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरू विचारमा कम्युनिस्ट हुने तर संस्कृतिमा आध्यात्मक हुने समस्याहरू देखा पर्दै आएका छन् । व्यवहारतः आफू कम्युनिस्ट हुने आफ्ना परिवारहरू विभिन्न धर्ममा आवद्ध हुने गरेका छन् । त्यसप्रकारको अन्तरविरोधी समस्याहरूले गर्दा सिंगो समाजलाई विकेन्द्रित गर्न पुगेको छ । त्यसप्रकारको समस्यालाई हल गर्न आठौ महाधिवेशनले कम्युनिस्ट संस्कृतिबारे ३ ओटा निर्णय गरेको छ ।

पहिलो : जिन्दगीभर पार्टी, क्रान्ति, राष्ट्र र जनताका लागि समर्पित भई उमेर अवस्थाले पाका भएका कमरेडहरूलाई व्यवस्थापन गर्ने निर्णय, उनीहरूको भरणपोषण, औषधीउपचार लगायतका समस्याहरूलाई पार्टीले हल गरिदिनुपर्दछ ।

दोस्रो : समग्र परिचालनलाई संस्थागत गर्नुपर्दछ । सम्पूर्ण तहका कमिटीहरूको आर्थिक परिचालन विभागीय प्रणालीद्वारा हल गर्नुपर्दछ । नेता, कार्यकर्ताहरूको जीवन सरल र जनतासँग एकाकार हुने गरी अगाडि बढ्नु पर्दछ ।

तेस्रो : हरेक गाउँमा शहीद स्मृति भवनहरू निर्माण गरिनु पर्दछ, जहाँ कम्युनिस्ट आन्दोलनमा वीरतापूर्ण शहादत प्राप्त गर्ने शहीदहरूलाई स्मरण गर्न सकियोस्, त्यतिमात्र होइन, आम जनसमुदायले आफ्ना दिवंगत पिता–पुर्खाहरूको स्मरण पनि त्यहाँ गर्न सकिने व्यवस्था गरिनुपर्दछ । यसरी सिंगो समाजलाई कम्युनिस्ट संस्कृतिद्वारा अगाडि बढाएर कम्युनिस्ट सत्तालाई दिगो र स्थायित्व प्रदान गर्न सकिन्छ ।

क्रान्तिकारी कार्यदिशाको थप समृद्धिबारे :

क.किरणसँग एउटै मोर्चामा रहँदा नै छलफल र बहसका लागि तत्कालीन पार्टीका सचिव क.विप्लवद्वारा तयार गरिएको ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’को प्रस्ताव पेस गर्नुभएको थियो । पार्टीमा छलफल चल्दै गर्दा पार्टी विभाजन हुन पुग्यो । पार्टी विभाजन पश्चात दाङमा पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले उक्त कार्यदिशालाई बहस पश्चात पारित गर्न पुग्यो । जसले आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विषद व्याख्या सहित क्रान्तिको कार्यनीति र रणनीतिको तर्जुमा गर्न पुग्यो । आजको उत्तर साम्राज्यवादी भूमण्डलीकरण, सूचना संचारको विकास तथा समाजको आजको यथार्थलाई अध्ययन गर्दा अब विगतमा गरिएका क्रान्तिका मोडलहरूबाट मात्र क्रान्ति सम्भव छैन । अल्पकालिन सशस्त्र विद्रोह र दीर्घकालीन जनयुद्धको कार्यदिशा आजको परिवेशमा अपर्याप्त मात्र होइन त्यसको यान्त्रिकिकरण मात्र हुन पुग्दछ । सामाज विज्ञानले पुष्टि गरेको कुरा यो रहेको छ कि एउटा देशमा प्रयोग गरिएको कार्यदिशा अर्को देशमा हु बहु लागु हुन सक्दैन । इतिहासमा सम्पन्न क्रान्ति र प्रतिक्रान्तिका गहन शिक्षाहरू एवं नेपाली क्रान्तिका तत्कालीन नायकहरूमा देखा परेको अकल्पनीय विश्वासघातले पनि मौलिक कार्यदिशा निर्माणमा महत्वपूर्ण आधारको काम गरेको छ । एकीकृत जनक्रान्ति जसलाई हामीले आजको युगको एउटा वैज्ञानिक र वस्तुवादी कार्यदिशाका रूपमा बुझेका छौं । जसका विशेषताहरू निम्न रहेका छन् – (क) भूपरिवेष्ठित अजस्था (ख) गाउँ र शहरको निकट सम्बन्ध (ग) मध्यम वर्गको विकास (घ) जाति, जनजाति र दलित जातिको बसोबास (ङ) दलाल पुँजीवादको प्रभुत्व (च) देशभक्त शक्तिको प्रभाव (छ) विज्ञान प्रविधिको विकास । यी विशेषताहरूको तथ्यहरूमा टेकेर निर्माण गरिने योजनाहरूले मात्र आजको क्रान्ति सम्पन्न गर्न सकिन्छ ।
समष्टिमा अध्ययन गर्दा यो निष्कर्षमा पुग्न सकिन्छ कि आजको उत्तर साम्राज्यवादले विकास गरेका क्रान्ति विरोधी रणनीति तथा कार्यनीतिहरूको सही ढंगले अध्ययन र संश्लेषण एवं हाम्रो आफ्नै सामाजिक परिवेशका आधारहरूमा टेकेर गरिएका नयाँ अन्वेषणहरू जसले समाजवादी क्रान्तिका सफलता, त्यसलाई प्रतिक्रान्तिबाट रक्षा गर्दै निरन्तर मावनजातिलाई साम्यवादी बाटोमा पुर्‍याउन मद्दत गर्नेछ । यस अर्थमा पार्टीको ८ औं महाधिवेशन दूरगामी हुने कुरा निश्चित छ ।

२०७४ भदौ २५ गते ७ :०२मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :