धनगढिमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

धनगढिमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

काठमाडाैँः नेपाल कम्युनिस्ट पार्टी(बहुमत) नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ४ दलको संयुक्त आयोजनामा कैलालीको धनगढिमा भव्य सभा सम्पन्न भएको छ । सभा हुनुपूर्व धनगढिको चौराहदेखी पार्कमोडसम्म संसदीय निर्वाचन बहिस्कार गरौँ भन्दै विशाल ¥याली निस्केर सभामा परिणत भएको थियो । आगामी मंसिर ४ गते हुन लागेको संसदिय निर्वाचन नेपाली जनतालाई केवल धोका मात्र भएको र यसले देशलाई आर्थिक तथा राजनैतिक संकटतर्फ लैजाने भन्दै ४ दलले संसदीय निर्वाचन अवज्ञा तथा बहिष्कार कार्यक्रम गरेका हुन् ।

उक्त बिरोध सभामा ४ पार्टीका नेताहरु क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेकपा (मशाल)का केन्द्रीय सदस्य लाल बहादुर जाग्री, माओवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव रामनारायण पालले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले दलालहरु उत्पादन गर्ने संसदीय निर्वाचन बहिष्कार गर्न सबैमा अपिल गरे । उनले देश र जनताको लागि प्रतिक्रियावादी दलालहरुले गर्न लागेको निर्वाचन राष्ट्र र जनताको पक्षमा नरहेको बताए ।

यस्तै नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले मंसिर ४ को निर्वाचन दलालहरुको निर्वाचन रहेको बताउदै लुटिखाने दलालहरुले जनतामा भम्र पारेर निर्वाचनको नाटक गरेर चरम भष्ट्राचार गर्ने र मोज मस्ती गर्ने बताए ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरि भक्त कँडेल, नेकपा (बहुमत)का केन्द्रीय सचिवालय सदस्य देवी दत्त पाण्डे, क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदी र केन्द्रीय सदस्य राम बहादुर केसी, नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्वर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

शनिबार सम्पन्न सभाको सञ्चालन नेकपा (बहुमत)का सेति महाकाली व्युरो इन्चार्ज महानले गरेका थिए भने अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी)का सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराले गरेका थिए । मशालका प्रतिनिधि नरेशले स्वागत भाषण गरेका थिए ।

नेकपा बहुमत, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालको संयुक्त आयोजनामा देशैरै निर्वाचन अवज्ञा तथा वहिस्कार सभाहरु भईरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :