नेकपा (बहुमत) काठमाडौँद्वारा चुनाव अवज्ञासभाको तयारी पूरा

नेकपा (बहुमत) काठमाडौँद्वारा चुनाव अवज्ञासभाको तयारी पूरा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति काठमाडौँले यही कात्तिक २३ गते चुनाव अवज्ञा सभाको तयारी गरेको छ । बुधबार काठमाडौँमा बसेको बैठकले केन्द्रको निर्णयअनुसार पार्टीमातहतका सम्पूर्ण संगठनलाई कार्य विभाजन र जिम्मेवारीसमेत तोकेको हो ।

केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला संयोजक अविरलको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिको रूपमा केन्द्रीय सदस्य तथा वागमती उपत्यका विशेष ब्युरो जीवन र केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज संगमको उपस्थिति रहेको थियो ।

विप्लव समूहबाट छुट्टिएर गठन भएको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले आगामी मंसिर ४ गते हुने राष्ट्रियसभा तथा प्रदेशसभा चुनाव अवज्ञा गर्ने घोषणा गरेको छ । ‘कथित संसदीय व्यवस्थाको भण्डाफोर गर्दै मंसिर ४ को चुनाव अवज्ञा गरौँ, ‘वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको दिशामा अघि बढौँ’, ‘व्यक्ति होइन, व्यवस्था बदलौँ, मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको कथित निर्वाचनको अवज्ञा गरौँ’, संसदीय चुनावको अवज्ञा गरौँ, वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ’ लगायत नाराका साथ हुने अवज्ञा सभामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका पार्टीमातहतका सम्पूर्ण संगठनको सहभागिता रहने पार्टीले जनाएको छ ।

कार्यक्रममा जीवनले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको निम्तिभन्दा पनि निजी स्वार्थका निम्ति र राष्ट्रघात गर्ने माध्यम भएको बताए । ‘जनतालाई झुटा आश्वासन दिने, चुनाव जित्ने, नेताहरू नेतृत्वमा पुग्ने, राष्ट्रिय ढुकुटी रित्याउने गरी आयोजनाहरू ल्याउने अनि आ–आफ्नै पार्टीका कार्यकर्तालाई ठेक्का दिने जुन किसिमको संसद्‌वादी दलालहरूको नाटक चलिरहेको छ, यसका लागि पनि चुनाव अवज्ञा गर्न आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :