नेकपा (बहुमत) द्वारा सहिद कुमार पौडेलका हत्यारालाई कारबाही गर्न माग, भाइ हरिकृष्णले सुरु गरे अनशन !

नेकपा (बहुमत) द्वारा सहिद कुमार पौडेलका हत्यारालाई कारबाही गर्न माग, भाइ हरिकृष्णले सुरु गरे अनशन !

काठमाडौँ : नेकपा (बहुमत) सर्लाहीले सहिद कुमार पौडेलका हत्यारालाई अविलम्ब कारबाही गर्न माग गरेको छ । पार्टीका जिल्ला इन्चार्ज निर्माण र संयोजक बिहानीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनबमोजिम पीडितका परिवारले हत्याराहरूमाथि कारबाहीको माग गर्दै किटानी जाहेरी दिँदासमेत राज्यले आजसम्म कुनै कारबाही अगाडि नबढाएको र सहिद कुमार पौडेलको परिवारले आजसम्म न्याय नपाएको बताएका छन् । विज्ञप्तिमा अपराधीहरूमाथि कारबाही र परिवारलाई न्याय दिलाउन माग गर्दै सहिद कुमार पौडेलका भाइ हरिकृष्ण पौडेल पुनः अनशनमा बस्न बाध्य भएको पनि उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी तथा हजारौंँ सुकुमबासी जनताका प्रिय नेता तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई फासिस्ट दलाल सरकारको निर्देशनमा २०७६ साल असार ५ गते तत्कालीन आईजीपी सर्वेन्द्र खनालको ठाडो आदेशमा तालिम प्राप्त प्रहरीद्वारा दोहोरो मुठभेडको संज्ञा दिएर कायरतापूर्वक हत्या गरेपछि राष्ट्रिय मानवअधिकार आयोगले घटनास्थलमै पुगेर अनुसन्धान गरी कमरेड कुमार पौडेल दोहोरो भिडन्तमा नभएर प्रहरीले नै नियन्त्रणमा लिएर कायरतापूर्वक हत्या गरेको निष्कर्ष निकाल्दै हत्याको योजनाकार, हत्यामा संलग्न अपराधीहरूको नाम पर्दाफास गरेपछि ती हत्याराहरूका विरुद्ध पीडित परिवारले किटानीसहित उजुरी दिँदासमेत राज्यले आजसम्म कुनै कानुनी कारबाही अगाडि बढाएको छैन र सहिद कुमार पौडेलको परिवारले आजसम्म न्याय पाएका छैनन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यही न्यायका लागि मिति २०७९ कात्तिक १ गतेदेखि साङ्केतिक दबाब कार्यक्रमसहित रिले अनशन हुँदै सत्याग्रहको आन्दोलनसम्म जाने निर्णयसहित सहिद कुमार पौडेलका भाइ हरिकृष्ण पौडेल पुनः अनशनमा बस्न बाध्य भएको सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट सुनियो । त्यसैले उहाँको न्यायोचित मागलाई यथाशीघ्र सम्बोधन गरी सहिद कुमार पौडेलका हत्याराहरूलाई छिटोभन्दा छिटो कानुनको कठघरामा उभ्याएर पीडित परिवारलाई न्यायको अनुभूति दिलाउनका लागि हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :