विप्लवको प्रलाप : बालसुलभता वा रोग !

विप्लवको प्रलाप : बालसुलभता वा रोग !

२०७३ सालको फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर काठमाडौँको खुलामञ्चमा ४० हजारको आसपासमा उपस्थित जनताको बीचमा कमरेड विप्लवले उद्घाटन गरेर सुरु भएको थियो आठौँ महाधिवेशन । आठौँ महाधिवेशन भएको ६८ महिनापछि कपिलवस्तुमा रहेको केन्द्रीय कार्यालयको प्राङ्गणमा लगभग १५ सयको आसपासमा उपस्थित भएको आयोजक समिति, प्रतिनिधि, पर्यवेक्षक, बाहिरबाट ल्याइएकाहरूका बीचमा विप्लवले रिमोटबाट निर्देशित ड्रोनले सानो ब्यानरलाई केही मटिरमाथि उठाएर नवौँ महाधिवेशनको उद्घाटन गरेका थिए । तर उक्त ड्रोन अनियन्त्रित भई खेतमा खस्न पुगेको थियो । यहाँ उक्त महाधिवेशनको रूप पक्षभन्दा पनि विप्लवले उद्घाटनमा व्यक्त गरेका केही कुरा र आठौँदेखि नवौँ महाधिवेशनसम्मको सामान्य समीक्षा गरिनेछ । हुनत विप्लवजीहरूका बारेमा यति धेरै महत्व दिएर कुरा गर्न जरुरी छैन किनभने पहिलो कुरा त हामीले विप्लवजीसँग वैचारिक बेमेलका कारण सम्बन्ध तोडेका हौँ । दोस्रो कुरा हामीले छाडेपछि उहाँहरूको पार्टीमा उत्पन्न भएका थप समस्या, राष्ट्रिय राजनीति र जनता, सङ्गठन र सङ्घर्षमा परेका प्रभावहरूको अवस्थालाई अध्ययन गर्दा उनीहरूसँग गलफत्ती गरेर बस्नु भनेको बेकारमा समय बर्बाद गर्नु मात्र हो ।

लेखक : गुणराज लाेहनी

आठौँ महाधिवेशनमा पार्टीको नामबाट माओवादी नहटाउन, साम्राज्यवादलाई उत्तरसाम्राज्यवाद नभन्न, कार्यदिशामा नयाँ जनवादी क्रान्ति पनि राख्न, विपरीतहरूको एकत्व नहटाउन, आलोचना–आत्मालोचना नहटाउन सबैजसो समूहका प्रतिनिधिहरूबाट सुझाव आएको थियो । तर यी कुनै कुराहरूका बारेमा सुनुवाइ भएको थिएन । त्यसैले उक्त महाधिवेशनमा बहसका हिसाबले औपचारिकता मात्र पूरा गरिएको थियो । अथवा औपचारिक जनवादको अभ्यास गरिएको थियो । जब सङ्गठनको प्रस्ताव पेस गरिएको थियो हलका अधिकांशले विरोध गरेका थिए । दाबीविरोध भएको थियो तर माथिबाट पेस गरिएका ६० जनालाई मान्यता दिइएको थियो । यसै कारणले महाधिवेशन सकिनुभन्दा अगावै अधिकांश प्रतिनिधिहरूले हल छाडेका थिए । उक्त महाधिवेशनबाट निर्वाचित भनिएकाहरूमा विप्लव, प्रकाण्ड, कञ्चन, सुदर्शन, भ्रुण, विरही, विकास, शिलु, रणवीर, निर्माण, जीवन्त, गम्भीर, वीरजङ्ग, माइला, नवीन, दीपेश, निशान, सन्देश, चिरन, धनबहादुर, उत्तम, जगत, आजाद, आस्था, पारसमणि, आधार, विजय, जीवन, दीपक, एटम, शरदसिंह, राप्ती, प्रतीक, सुदीप, सञ्जीव, रवि, आदर्श, भेषराज, सन्ध्या, कीर्ति, प्रज्ज्वलन, राजन, मामा, कौशल, सुभाष, शीतल, सिकन्दर, हितमान, सुमन, खुमा, असल, मुकुन्द, निर्मल, बन्धु, सविता सिंह, हिमाल, नारायण, मकर, असिना, देवनारायाण रहेका थिए । ती ६० जनामध्ये ३ जनाको मृत्यु भएको छ । ३ जना केन्द्रीय समितिमा छैनन् । महाधिवेशनबाट निर्वाचित भनिएका मध्ये २६ जनाले उक्त पार्टी छाडे । यसरी महाधिवेशनबाट निर्वाचित २८ जना मात्र त्यहाँ रहेका छन् । मृत्यु भएका, पार्टी छाडेका र हटाइएकाहरूको सङ्ख्या ३४ हुन्छ । यसबाट गणितीय हिसाबले पनि महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अल्पमत सङ्ख्या मात्र त्यहाँ रहेको छ ।

सङ्गठनमा आएको यस्तो समस्यालाई ढाकछोप गरेर उद्घाटनका क्रममा विचारमा असहमति राखेर नीति र नेतृत्वविरुद्ध विद्रोह गरेकाहरूमाथि विप्लवले एउटा आरोप लगाए । उनले भने, अन्तरपार्टी ध्वंस गर्न बाहिरी शक्तिको आडमा षड्यन्त्र गरियो र उनीहरू लिन पियाओवादी हुन् । छिपछिपे ज्ञानका आधारमा उनले भने, लिन पियाओ जसलाई माओले उत्तराधिकारी घोषणा गरेका थिए, तिनै लिन पियाओले माओलाई मार्ने योजना बनाएर रेलमा बम राखेको थियो भन्ने आरोप लगाइएको थियो । विकिपिडियाका अनुसार माओको हत्या गर्ने योजना प्रोजक्ट ५७१ अन्तर्गत बनाइएको थियो । जब योजना असफल भयो र लिन पियाओ प्लेनमा उडेर सोभियत सङ्घ भाग्न लागेका समयमा उनकी छोरी लि लिहेङले बाबुलाई नजान रोक्ने प्रयास गरेकी थिइन् तर लिन पियाओको टिम जसरी पनि देश छोड्ने भएपछि लिले चाउ यानलाई फोन गरेर जानकारी दिएकी थिइन् ।

यो प्रसङ्ग यहाँ विप्लवले लगाएको आरोपका बारेमा भन्दा पनि उनको अभिव्यक्ति किन यस्तो भयो भन्ने कुरा गरौँ । हामी त्यहाँ बसुन्जेल कहिल्यै पनि विप्लवलाई सहयोग र समर्थन मात्र गर्यौँ जुन कुरा सबैभन्दा बढी विप्लवलाई नै थाहा छ । उनलाई के पनि थाहा छ भने उनले भनेका जस्ता लिन पियाओहरू त्यहीँ रहेका छन् । मैले २०७७ साल असोज १६ गते किरणजीलाई लिएर जाँदा उनीसँग भएको कुरा विप्लवलाई याद होला । विप्लवलाई नेतृत्वबाट हटाउन गरिएका तिकडमका बारेमा स्वयम् विप्लवले नै दिएको प्रतिक्रिया अहिले पनि मलाई सम्झना छ ।

लिन पियाओ माओका उत्तराधिकारी थिए । अहिले त्यो पार्टीमा विप्लवका उत्तराधिकारी त्यहीँ छन् । अनि विप्लवजीले लिन पियाओ बाहिर खोज्नुपर्यो । प्रतिबन्धको समयमा काठमाडौँमा बसेका कैयौँ बैठकमा सहभागी केही नेता अहिले पनि त्यही पार्टीमा छन्, उनीहरूलाई सोध्नुस् त थाहा भैहाल्छ । अब विप्लवले नेतृत्व गर्न सक्दैन भन्दै विकल्प खोज्नुपर्छ भन्नेहरूका केही नेता अहिले तपाईंका साखुल्ले बनेका छन् ।

चोक्टा खान आएका, खान नपाएपछि झोलले डामेर भागे भन्ने उनको भनाइप्रति उनमा देखिएको बालपन हो कि बालरोग हो भनी छुट्ट्याउनुपर्ने भयो । विप्लवजीले नेतृत्व गरेको पार्टी निर्माणकालमा हामी कहाँ थियौँ ? धर्मेन्द्र कहाँ थिए ? दीपक वा गुणराज कहाँ थिए ? तपाईंको स्मरण शक्ति कमजोर भएको हो कि अल्जाइमरले छोयो ? पूर्वमहासचिव भएकाले मलाई दया लागेर आयो । अल्जाइमरको त उपचार हुँदैन । बेलैमा सोच्नु होला कसरी स्मरण शक्ति ह्रासलाई कम गर्न सकिन्छ भनेर ।

अर्को रमाइलो कुरा विप्लवजीले भनेका छन् बहस नै नगरी हिँडे । त्यहाँ रहेका सबैलाई थाहा छ– कति बहस भएको छ, फरक विचार राख्नेलाई विप्लवले के गर्दछन् । उनले चितवनको चैत १८ गतेको प्रशिक्षणमा भनेका होइनन् ? उनले त्यो प्रशिक्षणमा आफ्नै सहयोद्धाहरूको कति हुर्मत लिएका थिए ? उनको नजरमा बीसौँ वर्ष त्याग, बलिदान, समर्पण गरेका नेताहरू अयोग्य ठहरिएका थिए । अहिले उनीसँगै बसेका नेताहरूले उनको भाषण सुन्दै गर्दा दिएका टिप्पणी उनले कहिल्यै सुने ? विडम्बना त के हो भने विप्लवको पिठ्युँपछाडि धारे हात लगाउने, अगाडि हजुरियाझैँ लम्पसार पर्नेहरूको ठूलो जमात छ । उनीहरूका लागि तपाईंका तर्कहरू चित्त नबुझे पनि बाहिर रुन्चेहाँसो हाँस्दै ताली बजाएको दृश्य मैले पनि देखेँ ।

उनले बोलेकोमा सबैभन्दा दमदार लागेको अभिव्यक्ति हो, सुन्दर लेख लेखेर मात्र हुँदैन, त्योभन्दा ठूलो काम हो हातमा ठेला उठाउनु । श्रम गर्नु सही कुरा हो । श्रमले नै सुन्दर संसार निर्माण गर्दछ । यति मात्र होइन कि श्रमका कारणले नै वास्तवमा उत्पीडन सुरु भएको हो । त्यसैले शारीरिक श्रम र बौद्धिक श्रमबीचको विभेदको अन्त्य भएपछि मात्र संसारबाट उत्पीडनको अन्त्य हुन्छ । तर मुख्य नेताले कुन श्रमलाई प्रधान बनाउने ? शारीरिक श्रमलाई कि बौद्धिक श्रमलाई ? मुख्य कामलाई छाडेर मुख्य नेताले सहायक काममा जोड दिन्छ भने बुझ्नु पर्दछ– उसमा दृष्टिकोणको समस्या छ । अझ शृङ्गारिक वस्तु प्रचारमा आउन मूतको न्यानोजस्तो एक छिनका लागि रोमाञ्चकारी हुनसक्छ तर दिगो हुँदैन । खासै भन्ने हो भने सबैखाले श्रमका लागि अल्छीका डिङाहरूको झुण्ड त्यहाँ छ । फेसबुके श्रमलाई नै श्रम मान्ने हो भने त केही भन्नु छैन ।

भाषणमा हामीलाई इङ्गित गर्दै उनले भने– लाखौँको घर भाडा तिरेर काठमाडौँमा बस्ने, श्रीमतीहरूलाई गहना लगाइदिने, आफूले उत्पादन नगर्ने । यो गालीका लागि गाली गरिएको र कार्यकर्तालाई भ्रम छर्न भनिएको फत्तुरबाहेक केही होइन । पहिलो कुरा त्यहाँ श्रम गरेर त्यसको केन्द्रीकरण र उपयोग कसले गर्दछ ? दोस्रो कुरा उनी जहाँ बस्छन् त्यसमा लगानी कसको छ ? त्यो पार्टीको सम्पत्ति हो कि आफैँले उत्पादन गरेको हो ? चन्दा उठाएर वा जिल्लाबाट कोटा तोकेर बनाइएको होइन ? तेस्रो कुरा यो राज्यप्रणालीलाई दलाल पुँजीवादी भन्ने अनि यस्तो व्यवस्थामा उत्पादन सम्बन्ध कस्तो हुन्छ, उत्पादक शक्तिले कोसँग हो सङ्घर्ष गर्ने ? अनि यस्तो अवस्थामा गरिने उत्पादनले दलाल व्यवस्थामा प्रतिस्पर्धा गर्न सक्छ ? मुख्य कुरा क्रान्तिको तयारीमा लगाउने कि आर्थिक उत्पादनमा ? यही व्यवस्थामा उत्पादन गर्न सकिन्छ, श्रमजीवी जनतामा समान वितरण गर्न सकिन्छ भने किन गर्नुपर्यो क्रान्ति ? चौथो कुरा कि उत्पादक शक्ति परिवर्तन भयो भन्नुपर्यो आहुतिजस्ता नवमाक्र्सवादीहरूले जस्तै । उनीहरू भन्छन्– माक्र्सले भन्दै आएको मूल्यको श्रम सिद्धान्त पुरानो भयो । अब त लागत सिद्धान्त र उपयोगिता सिद्धान्तका आधारमा वैज्ञानिक समाजवादी आन्दोलन गर्नु पर्दछ । अब विश्व एकीकरण भैसक्यो किनभने विज्ञान—प्रविधि उत्पादक शक्ति भएर आयो । उनीहरूको यही तर्कलाई मान्ने हो भने विषय नै नउठाऊँ । तर विप्लवले उनको महाधिवेशनमा आहुतिले विज्ञान—प्रविधि नै उत्पादक शक्ति भन्ने तर्कलाई खण्डन गर्ने कोसिस गरे । तर उनको तर्कमा कुनै दम थिएन । हुनत अहिले रणनीतिक मोर्चा बनाएको भनिएका ४ पार्टीका बीचमा एकता हुँदैछ रे । यत्रो सैद्धान्तिक मतभेद भएकोसँग कसरी एकता होला !

विप्लवले क्रान्ति हुनुभन्दा नै पहिला आर्थिक उत्पादनलाई जोड गर्नुका पछाडि उनी देङसियाओ पिङको पुँजीवादी अर्थनीतिबाट प्रभावित भएको देखिन्छ । ६० को दशकमा देङले भने– बिरालो कालो होस् कि सेतो यसले मुसा मार्नुपर्छ । यसको सही अर्थ थियो– समाजवादको योजनाबद्ध अर्थतन्त्र होस् वा पुँजीवादको बजार अर्थतन्त्र, त्यसको मुख्य लक्ष्य भनेको पुँजीको विकास हुनुपर्छ । त्यसैले उनले भने– पहिला केहीलाई धनी हुन देऊ । विप्लवको अर्थनीतिमा पनि त्यही तर्कले घर गरेको छ । उहाँहरू पहिला केही धनी हुन देऊ भन्ने तर्कबमोजिम पहिला नेता धनी हुनुपर्छ भन्ने व्यवहारमा लाग्नुभएको छ । घर बनाउने, केही बिघा जग्गामा खेती गर्ने वा केही बाख्रा, कुखुरा, माछा, बङ्गुर पाल्ने काम यसै नीतिअन्तर्गत रहेको छ । सबैभन्दा डरलाग्दो कुरा त सम्पूर्ण साधनस्रोत केन्द्रमा भन्ने नाममा उनीमा लेनिनले भनेको ‘राजकीय एकाधिकारी पुँजीवाद’ पढेर व्यवहारमा राजकीय एकाधिकारी सामन्तवादको अभ्यास भएको देखिन्छ । त्यसैले त पहुँच भएका र नभएका, इमानदार र छट्टु केन्द्रीय सदस्यहरूको जीवनपद्धतिमा ठूलो भिन्नता छ । कसैलाई महिनाको दस हजार आकाशको फल हुन्छ, कसैले लाखौँं खर्च गर्छ । महँगा होटेलमा कफी पिउँछ । पाँचतारेमा जिम गर्न जान्छ । जिल्लाको त झनै बेहाल छ । यस्तो अर्थनीति अँगालेको पार्टीको महासचिवले अरूलाई आक्षेप लगाउनु भनेको आकाशतिर फर्केर थुक्नुसरह हो ।

जे होस्, महाधिवेशनमा वैचारिक, राजनीतिक बहस होस् भन्ने अपेक्षा राख्दछु ।

प्रतिक्रिया दिनुहोस्