पार्टीको विचारलाई जनतासँग जोडौँ

पार्टीको विचारलाई जनतासँग जोडौँ

विश्य प्रवेश

क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि कार्यदिशा पहिलो लक्ष्य र उद्देश्य हो र कार्यक्रम, रणनीति, कार्यनीति, आचरण, सिद्धान्त उसको विचारधारात्मक एवम् राजनीतिक कार्यदिशाले निर्धारण गर्दछ । वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । क. माओको यो भनाइलाई आत्मसात गर्ने हो भने पार्टीले क्रान्तिलाई विजयसम्म पर्याउनका निम्ति राजनीतिक पार्टी र आफ्नै सङ्गठनको खँदिलोपनमा भर पर्नुपर्छ । मालेमावाद आफँैमा द्वन्द्वात्मक तथा एतिहासिक भौतिकवाद भएको हुनाले निरन्तर विकास र गतिको माग गर्छ ।

पार्टीको विचारलाई सिद्धान्तमा आधारित वर्गविश्लेषण गर्नु हो । वर्गविश्लेषणद्वारा क्रान्तिकारी पार्टीहरूले रणनीतिक कार्यनीतिमा विकास गर्दै पार्टी सङ्गठनलाई चौतर्फी निर्माण गर्नु ।

भूममण्डलीकृत साम्राज्यवादी चरित्र, विज्ञान–प्रविधिमा आएको विकास र नेपालको भौगोलिक अवस्था वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक विशेषताहरूको अध्ययन–अनुसन्धानमार्फत नेपालको व्याख्या–विश्लेषण गरी हालमा रहेको राज्यसत्ताको चरित्र दलाल संसदीय पुँजीवादी व्यवस्थाले निम्त्याएको उत्पादन प्रणलीमा आएको परिवर्तनलाई विश्लेषण र उत्पीडित जनताको कार्यदिशा निर्माण गर्नुपर्छ । क. स्टालिनले भन्नुभएजस्तै पार्टी मजदुर वर्गको अघि–अघि हिँड्नुपर्छ । त्यसले मजदुर वर्गले भन्दा परसम्म देख्न सक्नुपर्छ । त्यसले स्वतःस्फूर्त आन्दोलनको पछिपछि हिँड्नु हुँदैन र सर्वहारा वर्गको नेतृत्व गर्नुपर्छ ।

हामीले पनि क्रान्तिकारी पार्टीको कार्यदिशा र विचार निर्माण गर्दा नेपाली समाजमा वर्गविश्लेषणलाई आमउत्पीडित वर्ग, मजदुर, किसान, युवा, विद्यार्थी, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई ख्याल गर्दै यी सबै वर्गलाई आफ्नो अधिकारका निम्ति आन्दोलनमा समर्पित हुने कार्यदिशा र विचारको निर्माण गर्नुपर्छ ।

हामीले पार्टीको विचारलाई जनताका बीचमा पुर्याउनका लागि साङ्गठानिक कला चाहिन्छ । त्यो सङ्गठित बल, पार्टीको विचार, नीति, पद्धति बुझेको हुनुपर्छ । जनतालाई बुझाउनसक्ने क्षमता राख्नु र क्षमताको सही तरिकाले प्रयोग गर्नका लागि सङ्गठन निर्माणका लागि भौगोलिक विभाजनका आधारमा होइन, सम्बन्धित जिल्लाको वास्तविक आर्थिक, राजनीतिक, सामाजिक जनताको मनोविज्ञान, यातायात, विज्ञान–प्रविधिको प्रभावका आधारमा सङ्गठन निमार्ण गर्ने विधि खोज्नु नै वैज्ञानिक हुन्छ ।

आजको दुनियाँमा विज्ञान–प्रविधि र यातायातका कारणले गाउँ र सहरको सम्बन्ध र दूरी घटाएको छ । त्यसैले हामीले पनि सङ्गठन निर्माण गर्ने विधिमा नयाँपन ल्याउन सक्नुपर्दछ । क्रान्तिकारी पार्टीका लागि जनता महान् हुन्छन् ।

जनताले चाहे भने बादशाहलाई पनि घोडाबाट खसालिदिने क्षमता राख्छन् भन्ने कुरा इतिहासले पुष्टि गरेको छ ।

नेपालमा पनि २००७ सालदेखि दसबर्से जनयुद्ध हुँदै ०६२–६३ सालको जनआन्दोलनले के देखाइदिएको छ भने जनताले चाहे भने कुनै शक्तिको केही लाग्दैन भन्ने कुरा साँचो हो ।

आज पनि दलाल संसदीय पुँजीवादी व्यवस्था फ्याल्नका निम्ति आन्दोलनमा आमउत्पीडित जनतालाई गोलबन्द गर्नुपर्ने अवस्था आएको छ । त्यसका निम्ति हाम्रो पार्टी नेकपा (बहुमत) ले जनताका बीचमा पुग्नसक्ने र मन जित्नसक्ने अवस्था सिर्जना गर्नुपर्ने हुन्छ ।

१. पार्टीको विचारले जनतासँग गाँस्नुपर्ने छ । विचार, सिद्धान्त, राजनीतिक वैचारिकीलाई प्रत्येक पार्टी समितिहरू र जवस मोर्चाका नेताहरूले आफ्नो कार्यक्षेत्रका जनतासँग गाँस्नुपर्ने हुन्छ । विद्यार्थी, युवाहरूले घरघर, टोलटोल, क्याम्पसक्याम्पस र उत्पीडित जनताका बीचमा पार्टीको विचारलाई पु¥याउन सक्नु र वैज्ञानिक एवम् क्रान्तिकारी जीवन–दृष्टिकोण, सिद्धान्त र मूल्यका रूपमा आत्मसात गर्दै वैज्ञानिक समाजवादी क्रान्तिका लागि सिर्जनात्मक रूपमा विकास प्रयोग दिशानिर्देशमा पु¥याउने सिद्धान्तका रूपमा ग्रहण गर्नुपर्ने आजको आवश्यकता बन्न पुगेको छ ।

२. हाम्रो व्यवहारले जनताको मन जित्नुपर्छ । हाम्रो पार्टीभित्रका नेता, कार्यकर्ताहरूको व्यवहारले जनताको मन जित्नैपर्छ । क. माओले भन्नुभएजस्तै सादा जीवन उच्च विचार हुनैपर्छ । सादा जीवन र व्यवहार सरल भएन भने क्रान्तिकारी नेता–कार्यकर्ता हुन सक्दैनौँ । हामीले पार्टीको विचारलाई व्यवहारमा बदलेर जनताका सामु पुग्नु र जनदिशा लागू गर्दै जनताका हरेक समस्यामा साथ दिँदै प्रत्येक जनताको मन र भावनालाई बुझेर हाम्रो ब्यवहारले मन जित्नुपर्छ ।

जनताको घरआँगन, खेतबारी र सानासाना कामहरूमा पनि साथ दिनुपर्छ । अनि मात्रै हाम्रो व्यवहारले जनताको मन जित्न सकिन्छ । सँगै हाम्रो आदर्श, शैली, दृष्टिकोण उच्च बनाउँदै उत्पीडित जनताहरूप्रति समर्पित हुनुपर्छ ।

३ः जनतालाई सङ्गठित गर्नुपर्छ । आजको दुनियाँमा जनतालाई सङ्गठित नगर्ने हो भने पार्टीको कार्यदिशा पूरा गर्न सकिन्न । त्यसो भएको कारणले पनि सबैभन्दा अग्रपङ्क्तिमा जनतालाई सङ्गठित गर्नुपर्छ । सङ्गठित गर्नाका लागि पार्टीभित्रको नेतृत्वपङ्क्तिसँग चाहना, मेहनती र फूर्तिलो हुनसक्नु र साङ्गठनिक पद्धतिलाई केही मात्रामा भए पनि बुझेको र आफ्नो जिम्मा पाएका ठाउँहरूमा जनताको चाहना के छ, त्यसअनुरूप सङ्गठित गर्नुपर्छ ।

अनि भौगोलिक अवस्थालाई पनि छनोट गर्दै वडा, गाउँ, नगर र जिल्लाहरू छनोट गरी पहिला पार्टी एकाइ समिति निर्माण गर्नुपर्छ । यसरी नै विभिन्न एकाइहरूबाट कमरेडहरू छनोट गरी गाउँ र नगर समिति निर्माण गर्नुपर्छ । यी समितिहरूलाई राजनीतिक–वैचारिक स्तर विकास गर्दै पूर्ण जनताको बीचमा पठाउनुपर्छ । यी सबै गाउँ, नगर, जवस÷मोर्चाहरूबाट प्रत्येक ऊर्जाशील, निरन्तरता, क्षमता, आवश्यकता, सङ्गठनप्रतिको मोह र वैचारिक स्तरको विकास, आफ्नो पार्टीको विचारलाई जनताका बीचमा पुर्याउन कुनै सङ्कोच नमान्ने खालको व्यक्तिलाई जिल्ला समितिको सदस्य बनाउनुपर्छ । यसकै निरन्तरतामा सबै जिल्लाबाट छनोट गर्नुपर्छ ।

प्रदेश समितिहरू निर्माण गर्नुपर्छ । जिल्लाहरूको राजनीतिक, वैचारिक, साङ्गठनिक, आर्थिक, सम्पूर्ण जनताको भावना र समस्यालाई अध्ययन–अनुसन्धान गरी विश्लेषण–संश्लेषण गर्ने क्षमता राख्नैपर्छ । यो देशैभरिका समितिबाट छनोट गरी केन्द्रीय समिति निर्माण गरिन्छ र यसको कार्यक्षेत्र देशैभरि हुन्छ । यो समितिको जिम्मा अझै ठूलो र मेहनतिलो हुन्छ । यसको काम र जिम्मा माक्र्सवादका तीन सङ्घटक अङ्ग ः दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको आध्ययन, अनुसन्धान र विकास गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका लागि वर्गविश्लेषण गरेर विचारको विकास गर्नुपर्दछ । यी सबै तहका समितिहरूमा जनवादी केन्द्रीयतालाई राम्रोसँग कार्यान्वयनमा जोड दिनुपर्छ । छलफल भएर निर्णय भएका विषय (योजना) कार्यान्वयनमा केन्द्रीयता प्रमुख हुन्छ । त्यही बेला जनवाद गौण हुन्छ । सङ्गठानत्मक जीवनको आन्तरिक बसाइ र भेला, सम्मेलन, बैठक आदिमा जनवाद प्रमुख हुन जान्छ । केन्द्रीयता गौण हुन जान्छ । यी सबै प्रकारका पद्धतिले पार्टी सङ्गठनलाई सिद्धान्तमा बाँधेको हुन्छ । क. लेनिन भन्नुहुन्छ– सङ्गठनात्मक सिद्धान्त भनेको व्यक्ति सङ्गठनको मातहतमा हुन्छ । तल्लो समिति माथिल्लो समितिको मातहतमा हुन्छ । अल्पमत बहुमतको मातहतमा हुन्छ । सबै समिति केन्द्रीय समितिको मातहतमा हुन्छ । केन्द्रीय समिति महाधिवेशनको मातहतमा हुन्छ । यो सङ्गठानत्मक सिद्धान्तलाई सही तरिकाले लागू गर्ने हो भने सङ्गठन र पार्टीपङ्क्ति खँदिलो र बलियो हुन जान्छ । क्रान्ति गर्न लायकको पार्टी समिति हुन्छ ।

यसैगरी सङ्गठनका सिद्धान्तहरूमा कार्यविभाजन, अधिकार र उत्तरदायित्व, अनुशासन, आदेश, एकात्मक निर्देशनमा एकरूपता, सामाजिक स्वार्थमा अधीनस्त, केन्द्रीकरण र विकेन्द्रीकरण, व्यवस्थित पद्धति, पदस्थापना, जोस, जाँगर, आँट एवम् अग्रदस्ता, उद्देश्य, गतिशीलता, समूहगत कार्य निर्णय लिने, कार्यान्वयन गर्ने, विकास र सल्लाह दिने, निकाय, मितव्ययिता र पारदर्शिता नै सङ्गठनका मुख्य सिद्धान्त हुन जान्छ ।

यी सिद्धान्तलाई क्रान्तिकारी पार्टीका तल्ला समितिदेखि माथिल्ला समितिसम्म बुझ्ने र बुझाउने कोसिस गर्दै सङ्गठनमा नयाँ विधिको खोज–अनुसन्धन गरेर जनताका बीचमा पार्टी सङ्गठनको निर्माण गर्नेछौँ ।

४. सङ्गठित जनतालाई सङ्घर्षमा जोड्नु भनेको सङ्गठित भएका जनतालाई सङ्घर्षमा जोड्नु कम्युनिस्ट क्रान्तिकारी पार्टीका लागि महत्वपूर्ण सवाल हुने गर्दछ । जनतालाई विचारमा पनि गाँस्यौँ, व्यवहारले पनि जनताको मन जित्यौँ र जनतालाई सङ्गठित गर्न सफल भयौँ भने ती सबै जनतालाई आफ्नो अधिकारका निम्ति सडक सङ्घर्षमा ल्याउन र जोड्न सक्नुपर्दछ । सडक सङ्घर्षमा पहिला त सामान्य नारा–जुलुस र विरोधका कामहरू हुनेछन् । दोस्रो तहको सङ्घर्षमा जनअधिकारपत्र पेस गरन्छ । यो जनअधिकारपत्रको कुनै सुनुवाइ भएन भने जनताले जनप्रतिरोध सङ्घर्षमा भाग लिनेछन् । यो सङ्घर्षले पनि दलाल सत्ताले उत्पीडित जनतालाई सत्ता सुम्पिन मानेन भने जनता तेस्रो तहको सङ्घर्षमा भाग लिनेछन् । त्यो सङ्घर्ष आमजनविदोह हुनेछ । यो सङ्घर्षको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गर्छ । दलाल संसदीय पुँजीवादी व्यवस्थालाइ ध्वस्त पार्दै वैज्ञानिक समाजवादी ब्यवस्था जनताले सङ्घर्षमार्फत प्राप्त गर्नेछन् । नेपाल आत्मनिर्भर बन्नेछ । अन्याय, अत्याचारको अन्त्य हुँदै सबै उत्पीडित जनताले अधिकार प्राप्त गर्नेछन् । सुख, समृद्धि, शान्तितिर हामी फट्को मार्नेछौँ ।

निष्कर्ष

यो व्यवस्थालाई सफल पार्नका लागि पार्टी र सङ्गठनभित्रका काम गर्ने कमरेडहरू र पार्टीवरिपरि गोलबन्द भएका जवस मोर्चाहरूले पार्टीको विधि, विधान र मालेमावादी सिद्धान्तलाई दृढताका साथ लागू गर्ने र जनताको शक्तिमा विश्वास राख्ने, अध्ययन–अनुसन्धानप्रति समर्पित हुने, जुझारु भावना, दूरदर्शिता, ठोस परिस्थितिको ठोस विश्लेषण, सादा जीवन उच्च विचार, सबै सङ्गठनभित्रका नेतृवत्व पङ्क्तिसित निरन्तरता, वैचारिक स्तरको विकास, अनुशासनमा जनवादी केन्द्रीयताको निर्मार्णसँग हरेक बैठक र भेलाहरूमा जनवादको अभ्यास गरेको हुन्छ र काम–कारबाहीमा एकरूपता कायम गरेको हुन्छ । गोपनीयताको स्तरको विकास गर्दै पार्टीका हरेक योजनामा अनुशासनको पालना गरी पार्टीका गोप्य दस्ताबेज र गोप्य योजनालाई सुरक्षित गर्दै जुझारु मानसिकताको विकास, पार्टीको हरेक योजनालाई पार्टीपङ्क्ति, आमजनताका बीचमा पु¥याउने र सबै पार्टीका दस्ताबेजलाई उत्साहपूर्वक पढ्ने अनि जनसमुदायका बीचमा सबैभन्दा छिटोछिटो पुग्नुपर्छ । जनताका वर्गवैरीप्रति घृणा गर्दै पार्टी र सङ्गठनको आवश्यकतालाई केन्द्रमा राखी पार्टीले खटाएको ठाउँमा इमानदारीका साथ जानु, पार्टी अनुशासनको पालना गर्नु र साङ्गठनिक सिद्धान्तलाई आत्मसात गर्दै पार्टी र सङ्गठनलाई व्यवस्थित गर्नेतिर लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :