विप्लवजी, तपाईंको महाधिवेशन होइन, कुलपूजा हो

तपाईंको शिवगढी दरबारमा भजनमण्डलीबाहेक क्रान्तिकारीहरू अटाउने छैनन्

विप्लवजी, तपाईंको महाधिवेशन होइन, कुलपूजा हो

क.विप्लव !
नेपाली जनताको उज्ज्वल सपना पूरा गर्ने उद्देश्य साथ जनयुद्धमा होमिएका नेपाली युवाहरूको मूल सपना थियो– मृत्यु वा मुक्ति । एकातिर राजतन्त्रात्मक छायाभित्र विकास हुँदै गरेको संसदीय परिपाटी तोडेर समाजवादी गणतन्त्रात्मक व्यवस्थाका लागि लडेका युवाहरूको मन बैसठ्ठी–त्रिसट्ठीपछि संसदीय व्यवस्थामार्फत गोबरको भकारोमा पछारिन पुग्यो । जनयुद्ध कालदेखि समावेश हुँदै आएका हामीहरू सपना मार्न नसकेर वैद्य हुँदै तपाईंको नेतृत्वसम्म आइपुगेको विगत यथार्थ हो ।

तपाईंको नेतृत्वमा पार्टी आइसकेपछि पनि झन्डै सात वर्षभन्दा बढी गुज्रिसकेको छ । विगतको समयलाई नियाल्दा जनयुद्धको अवसानपछि क्रान्तिकारीहरूको जाग्दै गरेको तपाईंप्रतिको आशासमेत निमोठिन पुगेको छ । पार्टी विभाजनको दौरान हाराहारीको सङ्ख्यामा रहेका पोलिटब्युरो, केन्द्रीय सदस्यलगायत सदस्य विच्छेद वा विभाजित वा पुरानै शक्तिमा टाँसिन पुगेका छन् । अब यो सङ्ख्या औँलामा गन्न सकिने अवस्थामा पुगेको छ । पहिलो स्थानीय निर्वाचनमा मजबुत सङ्गठन रहेको पार्टी प्रतिबन्धपछि छिन्नभिन्न हुन पुग्यो र बिउ जोगाउने अवस्थामा पुग्यो । राज्यले ठूलो बल प्रयोग नगरीकनै त्यस्तो अवस्थामा पुर्यायो । पहिलो स्थानीय निर्वाचनमा बुताभन्दा बढी बल प्रयोग गरेको पार्टी दोस्रो स्थानीय निर्वाचनसम्म आइपुग्दा पुतली चिह्न लिएर उभिनुपर्ने बाध्यता बन्यो । रक्षा, सन्तुलन र आक्रमणको विज्ञानभन्दा पनि सनकमा गरेको बल प्रयोगका कारण यो अवस्था पैदा भयो जसले सङ्गठनलाई जोगाउने होइन, छिन्नभिन्न पार्ने काम भयो । पार्टीभित्रका अवसरवादीहरू नेतृत्वको चाकडीमार्फत सुरक्षित रहने हुँदा धेरै कार्यकर्ताहरूले कामभन्दा पनि चाकरीमा विश्वास गर्न सुरु गरे । जनताप्रति उत्तरदायी हुनेभन्दा पनि नेताको चित्त बुझाउने काममै बढी ध्यान दिए । इमानदार, क्षमतावान् कार्यकर्ताभन्दा पनि पश्चिम भूगोल, आफन्त र नजिकका बाहेकलाई पाखा लगाउने योजना राम्रैसँग देखियो । आर्थिक चन्दालाई नै राजनीतिको मूल उपलब्धि मान्ने चलन संस्थागत बन्न पुग्यो । पार्टीभित्र उब्जिएका असन्तुष्टिलाई समाधान गर्नेभन्दा पनि आफूअनुकुल बहुमत जोड्ने, आर्थिक निषेध र विशेष कमिटीमा थन्क्याउने प्रवृत्ति हुँदै गयो ।

एकीकृत जनक्रान्तिमार्फत बुद्धिजीवी, प्राध्यापक, शिक्षक, कलाकार, लेखक, वकिललाई सङ्गठित गर्ने भनिए पनि व्यावहारिक अर्थमा यी सधैँ टाढा नै रहे । रोल्पाबाहेककाले नै नेतृत्व गर्न सक्दैनन् भन्ने रोल्पा कनेक्टिङ साइक्लोजी बन्न पुग्यो । आफूवरिपरिका बाहेकका विश्वसनीय हुँदैनन् भन्नेमा बढी सुरक्षा महसुस गरियो । तपाईंले रोल्पा र थबाङलाई येनान होइन, ‘मक्कामदिना’ बनाइदिनुभयो । यतिबेला शिवगढीलाई ‘धाम’ बनाउने योजनामा हुनुहुन्छ । त्यहीअनुसारका भक्तजन तयार पार्दै हुनुहुन्छ । योसँग विमति राख्नेहरू तपाईंको दरबारमा अट्ने छैनन् ।

शक्तिशाली राज्यभित्र हुर्कंदै गरेको क्रान्ति सम्भावनालाई रक्षा गरेर व्यवस्थासँग कसरी जुध्ने कुराको वैज्ञानिक ठम्याइ नगरी गोरुजुधाइ र पुरानो मेलाबजारमा लडिने शैलीभन्दा नयाँ योजना सैन्य रणनीतिमा पनि जन्मिन सकेन । प्रशिक्षणमा दर्शन, सङ्गठन, संस्कृति र विज्ञान–प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरे पनि दर्शनको बोक्रामै अल्झिनु, त्यो हैसियतमा छलफल हुन नसक्नु र भ्रम पार्ने किसिमको सङ्गठन बन्नु, भौतिकवादका पण्डितहरू किरियाकर्म र पूजाआजामा प्रकट हुनु, विज्ञान र प्रविधिका प्रशिक्षकहरू सुरक्षित मोबाइलसमेत चलाउन नसक्नु र पटकपटक गिरफ्तार हुनु, बदलिँदो दुनियाँको परिवेशसँग तालिमहीन सेनाहरू स्वयम् धरापमा परे । प्रविधिको उचित ज्ञानबिना पठाइएका सेना आफ्नै बमबाट क्षतबिक्षत बन्न विवश भए । तपाईंले यसको निर्मम समीक्षा गर्नुभयो ? कागजी समीक्षा मात्र होइन, व्यावहारिक समीक्षा गरेर बौद्धिक तप्कालाई नेतृत्वमै एकाकार बनाउने आँट कहिल्यै गर्नुभएन ! इमानदार र सक्षम व्यक्ति चयन, व्यवहारवादी जीवनशैली नेतृत्व दाङ भेलाबाटै गरेको भए त्यो नेतृत्वले उचित दिशानिर्देश गर्न सक्थ्यो । तब मात्र जनताले विश्वास गर्थे । त्यसको आधार सङ्गठन निर्माण हुन्थ्यो । त्यसले क्रान्तिलाई एक चरणमा माथि लैजान सम्भव हुन्थ्यो ।

बरु गुट–उपगुटले विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरूलाई छिन्नभिन्न पार्न पुग्यो । पत्रकार, विद्यार्थी, मजदुरहरूका समस्याहरू त्यस्तै अराजकताका उपज बने । नेतृत्वले भने यसको हल सही ढङ्गले गर्न सकेन । केही अवसरवादीहरूलाई तह लगाउने बहानामा इमानदारहरूलाई समेत बहिर्गमित गराउने कार्य भयो । पत्रकार र विद्यार्थीहरूको विवादपछि समाधानका लागि लिइएका निर्णयहरू अवसरवादीबराबर नै इमानदार कार्यकर्ताहरूलाई हुन पुग्यो । प्रभात चलाउनेदेखि प्रकाश डुम्रेसम्मका प्रकरणहरूमा समस्याको हल भएन, मात्र पात्र खेलाउनुभयो ।

विगतका यी समीक्षाहरूलाई थाती राखेर तपाईं यतिबेला शिवगढी महाधिवेशनमा हुनुहुन्छ । १२ वर्षभन्दा बढी विश्वविद्यालयको प्राध्यापनमा बिताएको म तपाईंको क्रान्तिकारी निरन्तरताबाट प्रभावित बनेँ । सारा पेसा र घरपरिवारलाई नै छोडेर म भूमिगत बनेको थिएँ । रहरले होइन, केवल सपनाहरू मर्न नदिन । दुस्मनका घेराहरू तोड्दै हातेमालो गर्दै तपाईंलाई नै आदर्श मानेर लामो समयसम्म नेतृत्व पनि गरेको थिएँ । राजनीतिक जीवनमा दर्शन र विचार वा कार्यदिशा नै सबैभन्दा महत्वपूर्ण हुँदो रहेछ । विगतमा यही पार्टीमा रही मृत्युसँग जिन्दगीको खेल खेलेको सम्झन्छु । कति बेला दुःखी पनि हुन्छु । मेरा अनुत्तरित प्रश्नहरूको जबाफ नभेटेपछि म यतिबेला दुखित अवस्थाबाट नै आज तपाईंलाई यो पत्र लेखिरहेको छु । म मेरै पसिनाबाट निर्माण गरेको पार्टीको महाधिवेशनमा आज उपस्थिति जनाइरहेको छैन । दृष्टिकोण र कार्यदिशामा चुकेपछि राजनीतिमा सम्बन्ध तोड्नु नै उचित हुँदोरहेछ । मजस्ता क्रान्तिको सपनाका निम्ति जीवन फालेका कैयौँ जिन्दगीहरूले विगत र वर्तमानमा भोगेको कुरा यही नै हो । हामी समाजवादी बाटोबाट विमुख हुन यो गरिरहेका छैनौँ बरु समाजवादी बाटोमा लम्किन यसो भनिरहेका छौँ ।

विगतका समीक्षालाई थाती राखेर तपाईं यतिबेला शिवगढीमा बाह्रौँ महाधिवेशन गर्दै हुनुहुन्छ ! यो महाधिवेशनमा यी कुरा तपाईंलाई सोध्ने आँट भएका मान्छेहरू सायद कमै होलान् ! आठ वर्षभित्रको हाम्रो राजनीतिक उपलब्धि के ? आठ वर्ष भोकै–प्यासै, जेल, हिरासत, घरबारविहीन भएका कार्यकर्ताहरूको जबाफ के ? अझै सहिद तथा घाइतेहरूको ? विभिन्न समयमा अभियानमार्फत निर्मित सङ्गठन किन संरक्षित हुन सकेन ? जसको मूल कारण हो विगतको महाधिवेशनले सही नीति र नेतृत्व छान्न नसक्नु । विरासत भजेर केन्द्रमा थुप्रिने मानिसको थुप्रोले कहिल्यै क्रान्ति गर्न सक्दैन । दुस्मनको हबल्दारजत्तिकै फौजी ज्ञान नहुने कमान्डरले मोर्चा जित्दैन । केन्द्रीय समितिका मान्छेहरूले मासिकीमा रमाइरहेको बेला जिल्ला पार्टी सञ्चालन गर्न ऋण खोज्दै हिँड्न विवश कमरेडहरू यो कारणबाट उत्साहित हुँदैनन् । तपाईंले कार्यकर्ता परिचालन गर्नुभएन । खेलाउनुभयो ।

यी सबै फोहोरले पार्टीलाई कमजोर बनाउँदै लग्यो । भूमिगत पार्टीमा नेतृत्वको कमजोरी धेरै पछि मात्र थाहा हुन्छ । हामीले जीवन–मरणको प्रतिबन्ध भोगिरहेको बेला यतातिर सोच्न पनि भ्याएनौँ । अकस्मात् तीनबुँदे सहमतिको शृङ्खला पुतलीसम्म आउँदा जति विकृत रूपमा देखियो त्यसले पार्टीभित्रका क्रान्तिकारीहरूलाई मात्र होइन, आशा गरेका नेपालीहरूले समेत मन दुखाए । निराश बने । पार्टी विभाजनको मूल कारण पनि यही बन्यो ।

कमरेड ! पुतली चिह्न बोक्नु दुई कारणले बाध्य भएको हुनसक्छ । पहिलो जनताले केजरीवाललाई जस्तै यसपटक आफूलाई पनि जिताउनेछन् । दोस्रो चुनावमा भाग नलिए सत्ताले फेरि गिरफ्तार र दमन गर्नेछ । यी दुवै कुरा तपाईंको मनोविज्ञानमा नाचे होलान् तर यी दुवै कुरा सत्य थिएनन् । तपाईं त्यहीँ चुक्नुभयो जुन कुरामा शासकहरू चुकाउन चाहन्थे । लुकेका साना पाटा हजारौँ होलान् तर कञ्चनहरूलाई पार्टी विभाजनका लागि उद्वेलनमा ल्याउने पहिलो कारण चुनाव नै हो । यो प्रस्तावना अरू कसैको मुखबाट होइन, तपाईंबाट नै हुन पुग्यो । यो दुर्भाग्यको इतिहास हो ।

विगतमा व्यक्तिगत रूपमा पनि मैले पटक–पटक तपाईंलाई यसबारे अवगत गराएँ । तपाईंले सुन्न त्यत्ति मन गर्नुभएन, बरु बाहनाबाट धेरै पर उम्कन चाहनुभयो ।

यतिबेला चलिरहेको यो महाधिवेशन पनि विगतको समीक्षाबेगर उभिएको जमात बजारभन्दा फरक हुँदैन भन्ने तर्क मेरो हो । फरक–फरक तर्कभन्दा पर रहेर मन मिल्नेहरूको मात्र जमघट र सगोत्रीहरूबाट गाइने आरतीले त्यो महाधिवेशन हुदैन ! कुलपूजा बन्ने गर्छ । त्यसरी त कुलपूजा गरिन्छ । मेरो शुभकामना त के छ भने यो कुलपूजा नबनोस् । इतिहासमा पटकपटक लडे पनि उठेर सफल भएका इतिहासहरू थुप्रै छन् तर इतिहासमा चुकेकाहरूले क्रान्तिको नेतृत्व गरेको विरासत भने कहीँकतै छैन् ।
फेरि पनि शुभेच्छासहित ।

(शीर्षक हामीले सम्पादन गरेका हौँ– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :