भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन नेकपा (बहुमत) का जवस/मोर्चाहरूको खबरदारी

काठमाडौँ : नेकपा (बहुमत) सँग आबद्ध विभिन्न जवस/मोर्चाहरूले संसदीय निर्वाचनमा विभिन्न क्षेत्रमा भ्रष्टाचार, राष्ट्रघात, ठगी र दलालीमा मुछिएका पात्रहरूलाई उम्मेदवार नबनाउन खबरदारी गर्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । जवस/मोर्चाहरूले भ्रष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू, एमसीसीलगायत राष्ट्रघाती सन्धि–सम्झौताहरू गर्ने व्यक्तिहरूलाई उम्मेदवार बन्नबाट रोक्न आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्ति जारी गर्नेहरूमा युवा जनस्वयम्सेवक, नेपालका अध्यक्ष हरिश भट्ट, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद थापा, अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राई, अखिल नेपाल महिला सङ्गठनकी अध्यक्ष अञ्जना तामाङ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक खेम थपलिया, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालका संयोजक कमल बुढा, राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपालका संयोजक दर्शन नेपाली र अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घका संयोजक मीनराज गिरी छन् ।

जवस/मोर्चाहरूद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पटकपटकका प्रयोग र परिणामहरूले संसदीय व्यवस्था नेपाली जनताका लागि नौलो विषय त किञ्चित रहेन नै, बरु जनघाती र राष्ट्रघाती व्यवस्था साबित भएको छ । यो व्यवस्थाभित्र गरिने कुनै पनि निर्वाचन राज्यको सम्पत्तिमाथि लुटखसोट मच्चाउन राजनीतिक दल तथा कथित जनप्रतिनिधिको आवरणमा रहेका पुँजीपतिहरू र तिनका समूहहरूमध्ये प्रत्येकलाई आलोपालो सत्तासीन गर्ने एक सुविचारित खेल हो । सार्वजनिक तथ्याङ्कहरू मात्र होइन, सरकारी आँकडाहरूअनुसार नै करिब ७० लाख श्रमिक (अधिकांश युवा) रोजगारीका लागि बिदेसिएका छन् । यति ठूलो युवा श्रमशक्ति विदेश पलायन हुनु मूलतः राज्यप्रणालीको असफलता हो । यसका साथै राज्यको नेतृत्वमा रहेका मुख्य पार्टीहरू र तिनका प्रमुख नेताहरूको समेत असफलता हो जब कि देशको मूल अर्थतन्त्र तिनै विदेश पुगेका कामदार दाजुभाइहरूको रगत र पसिनाबाट जम्मा पारिएको रेमिट्यान्सबाट चलेको छ । उल्टो त्यही अर्थतन्त्रको हरक्षेत्रमा चरम भ्रष्टाचार व्याप्त छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अर्थतन्त्रका दुई खुट्टा : कृषि र उद्योग राज्यको उत्तरदायित्वभित्र छैनन् । शिक्षा, स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्र पुँजीपतिहरूका लागि नाफा आर्जन गर्ने व्यवसाय बनेका छन् । बैङ्क र वित्तीय क्षेत्रहरू सूदखोरीका नयाँ माध्यम बनेका छन् । कालो धनका मालिकहरूसँग मिलेर वित्तीय क्षेत्रका दलालहरू देशको मूल अर्थतन्त्रलाई धराशायी बनाउने अपराधमा संलग्न भैरहेका छन् । गाउँ–सहर सबैतिर फैलिएको मिटरब्याजी अर्थतन्त्र त्यसको एउटा ज्वलन्त प्रमाण हो । न्यायालय तिनै दलालहरू र पैसावालहरूको अपराधलाई धोइपखाली गर्ने ‘पवित्र स्थल’ बनेको छ । धनी र गरिबबीचको खाडल निकै बढिरहेको छ । देशको अर्थतन्त्रमा आफ्नो वर्चस्व कायम गरेका दस प्रतिशत धनी व्यक्तिहरूको हातमा सबैभन्दा गरिब ४० प्रतिशत मानिसहरूको भन्दा २६ गुणा ज्यादा सम्पत्ति थुप्रिएको छ । सामाजिक र सांस्कृतिक क्षेत्रमा विभेद र असमानता चरम छ । यो स्थिति जबसम्म रहिरहन्छ तबसम्म जनताको हितविरुद्ध प्रयोग हुने यसखाले निर्वाचनको नौटङ्की औचित्यहीन रहिरहनेछ ।’

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अतः जनमतको न्यूनतम सम्मान गर्न हरेक राजनीतिक पार्टीले लागू गर्ने गरी तपसिलका व्यक्तिहरूलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउन कडाइपूर्वक रोक लगाइयोस् भन्ने अनुरोधका साथ यो पे्रस विज्ञप्ति जारी गर्दछौँ : १) भ्रष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू २) मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू ३) ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू ४) शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू ५) एमसीसीलगायत राष्ट्रघाती सन्धि–सम्झौताहरू गर्ने व्यक्तिहरू ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘संसदीय प्रणालीको निरन्तरताअन्तर्गतका चुनावमा सहभागी हुनु जनता स्वयम्ले आफूलाई धोका दिनु वा मूर्ख बनाउनु मात्र हो । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लक्ष्यसहित स्वाधीन संयुक्त सरकारको तत्कालीन कार्यनीतिअन्तर्गत आसन्न संसदीय चुनाव अवज्ञाको कार्यक्रम तय गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र न्याय प्रमुखको व्यवस्था, प्रत्येक नागरिकलाई जमिनमाथिको जन्मसिद्ध अधिकारको व्यवस्था, शिक्षा–स्वास्थ्यको निःशुल्क व्यवस्था तथा आवासविहीन नागरिकहरूलाई आवासको सुनिश्चिततासहित शान्ति, समृद्धि र स्वाधीनता स्थापित गर्ने पार्टी नीति तथा कार्यक्रमहरूप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ । देश र जनताका पक्षमा बोल्न र लड्न हामी सम्पूर्णमा हार्दिक अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :