नेकपा (बहुमत) ले जारी गर्यो चुनाव अवज्ञा पर्चा

काठमाडौँ : नेकपा (बहुमत) ले संसदीय व्यवस्थाको चुनाव अवज्ञा गर्नुपर्ने कारणहरू दर्साउँदै पर्चा जारी गरेको छ । ‘चुनाव अवज्ञा किन ?’ शीर्षकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति, केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोले जारी गरेको २० बुँदे पर्चामा दलाल संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न, असमान सन्धि–सम्झौताहरू खारेज गर्न, सीमानाका बन्द गरी भिसा प्रणाली लागू गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र न्यायप्रमुखको व्यवस्था गर्न, महिला हिंसा र लैङ्गिक विभेद अन्त्य गर्न, जाति–प्रथा र वर्ण–विभेदको समूल नष्ट गर्न चुनाव अवज्ञा गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी पर्चामा तीनबुँदे सहमतिविपरीत तथा जनयुद्धका क्रममा लगाइएका सम्पूर्ण झूट्टा मुद्दा खारेज गरी राजबन्दीहरू रिहा गर्न, प्रत्येक नेपाली नागरिकलाई जमिनमाथिको जन्मसिद्ध अधिकार स्थापित गर्न, शिक्षा र स्वास्थ्यमा निजीकरण अन्त्य गरेर निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न, घरविहीन जनतालाई आवासको सुनिश्चितता गर्न, दलाल तथा नोकरशाही पुँजीको राष्ट्रियकरण गरी राष्ट्रिय औद्योगिक अर्थप्रणाली लागू गर्न, प्रत्येक श्रमिक जनतालाई स्वदेशमै रोजगारीको व्यवस्था गरी पुँजी, श्रम र सीपको योजनाबद्ध परिचालनद्वारा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, साना तथा मझौला उद्यमीहरूलाई राज्यद्वारा सहुलियत प्रदान गर्न, सम्पूर्ण किसिमका वित्तीय शोषणको अन्त्यका लागि निजी बैङ्क प्रणाली अन्त्य गर्न चुनाव अवज्ञा गर्नुपर्ने उल्लेख छ ।

अवज्ञा पर्चामा भ्रष्टाचारीहरूको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्न, किसानलाई सस्तो र सुलभ मल, बिउ, प्रविधि उपलब्ध गर्न तथा कृषि उपजको राज्यद्वारा बजारीकरण गर्न, लागूपदार्थ दुव्र्यसनको अन्त्य गर्न, श्रम जेलको नीति लागू गर्न, राज्यद्वारा अनाथ, अपाङ्ग, वृद्ध तथा बालबालिकाको संरक्षण प्रदान गर्न र जनयुद्ध, जनआन्दोलन र हरेक जनसङ्घर्षका घाइते–अपाङ्गहरूलाई उपचार तथा जीविकाको उचित व्यवस्था गर्न चुनाव सशक्त रूपले अवज्ञा गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :