संसदीय व्यवस्थाविरुद्ध आन्दोलनरत चार वामपन्थी पार्टीद्वारा असोज र कात्तिकभरि सङ्घर्ष घोषणा

संसदीय व्यवस्थाविरुद्ध आन्दोलनरत चार वामपन्थी पार्टीद्वारा असोज र कात्तिकभरि सङ्घर्ष घोषणा

काठमाडौँ : आसन्न संसदीय निर्वाचन बहिष्कार/अवज्ञा घोषणा गरेका नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल राष्ट्रिय महाधिवेशन आयोजक समिति र माओवादी कम्युनिस्ट पार्टी नेपालले असोज २३ देखि कात्तिक २३ गतेसम्म देशव्यापी आन्दोलन घोषणा गरेका छन् ।

चार वामपन्थी दलको मोर्चाको बैठकले २०७९ असोज २३ गते– चितवन, असोज २५ गते– जनकपुर, असोज ३१ गते– विराटनगर, कात्तिक २ गते– पोखरा, कात्तिक ४ गते– बुटवल, कात्तिक १७ गते– सुर्खेत, कात्तिक १९ गते– धनगढी र कात्तिक २३ गते– काठमाडौँमा चुनाव अवज्ञा/बहिष्कार सभा र प्रदर्शन गर्ने घोषणा गरेको हो । चार दलले जिल्लाहरूले आफ्नो पहलमा सङ्घर्षका कार्यक्रमहरू गर्ने निर्णय गरी आज सार्वजनिक गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का.वा. महासचिव गौरव, ने.क.पा. (बहुमत) का संयोजक कञ्चन, ने.क.पा.(मसाल) राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली र माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पालले सोमबार जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘महँगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेङ्गुलगायत रोगव्याधी, राष्ट्रघात, जनघातजस्ता विकराल समस्या झेलिरहेका नेपाली जनताले यी सबैबाट उन्मुक्ति चाहेका छन् । यसप्रकारका तमाम समस्याको समाधान खोजिरहेका छन् तर त्यसको बदला यो पाखण्डी गठबन्धन सरकारले नेपाली जनतामाथि सङ्घीय र प्रादेशिक निर्वाचनको अर्को बोझ उपहार दिएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘संसद् तमाम प्रकारका राष्ट्रघात र जनघातको साधन बन्दै आएको तथ्यबारे हामी अवगत नै छौँ । आसन्न संसदीय निर्वाचन बहिष्कार/अवज्ञा गर्दै आएका निम्नअनुसार चार वामपन्थी दलहरूको मोर्चाको हालै बसेको बैठकले निम्नअनुसार विरोध र जनसङ्घर्षका कार्यक्रम प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय गरेको छ । जनघाती र राष्ट्रघाती यो संसदीय व्यवस्थालाई खारेज गरी योभन्दा अग्रगामी व्यवस्थाका पक्षमा नेपाली जनता उभिएका छन् भन्ने तथ्य राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्ले स्पष्ट रूपमा बुझ्ने गरी बहिष्कार÷अवज्ञाको कार्यक्रमलाई सफल पार्न हामी परिवर्तनका पक्षधर सम्पूर्ण नेपाली जनसमुदायसँग हार्दिक आह्वान गर्दछौँ ।’

चार वामपन्थी दलको सङ्घर्षको कार्यक्रम

२०७९ असोज २३ गते– चितवन
२०७९ असोज २५ गते– जनकपुर
२०७९ असोज ३१ गते– विराटनगर
२०७९ कात्तिक २ गते– पोखरा
२०७९ कात्तिक ४ गते– बुटवल
२०७९ कात्तिक १७ गते– सुर्खेत
२०७९ कात्तिक १९ गते– धनगढी
२०७९ कात्तिक २३ गते– काठमाडौँ
यसका साथै जिल्लाहरूले आफ्नो पहलमा सङ्घर्षका कार्यक्रमहरू गर्ने ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :