संसदीय चुनाव राष्ट्रघात गर्ने माध्यम भएकाले यसको अवज्ञा गर्छौँ : संयोजक कञ्चन

नेकपा (बहुमत) ले दियो सरकारलाई धन्यवाद, तत्काल मुद्दा खारेज गर्न माग

संसदीय चुनाव राष्ट्रघात गर्ने माध्यम भएकाले यसको अवज्ञा गर्छौँ : संयोजक कञ्चन

काठमाडौँ : नेकपा (बहुमत) ले आगामी मङ्सिरमा हुने भनिएको कथित प्रदेश र सङ्घको चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ ।

काठमाडौँको संवाद डबलीमा शनिबार पत्रकार सम्मेलन गरी पार्टी संयोजक कञ्चनले नेता–कार्यकर्तामाथि सरकारले लगाएका झूट्टा मुद्दा खारेज गर्ने निर्णय सार्वजनिक गरेको देउवा सरकारलाई धन्यवाद दिँदै निर्णय तत्काल कार्यान्वयन गर्न र सम्पूर्ण झूट्टा मुद्दा खारेज गर्न पनि आग्रह गरे ।

केन्द्रीय समितिको तेस्रो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा पार्टी संयोजक कञ्चनले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताका निम्तिभन्दा शासकहरूको निजी स्वार्थका निम्ति राष्ट्रघात गर्ने माध्यम भएकाले त्यसलाई अवज्ञा गर्नुको विकल्प नरहेको बताए । आफूहरू निरपेक्ष रुपमा चुनाव अवज्ञा वा बहिष्कार र सङ्घर्ष मात्रै नरोजेर त्यसको निकासका लागि तत्काल स्वाधीन संयुक्त सरकारको विकल्पसहित अगाडि बढेको कञ्चनले बताए ।

‘बहिष्कार वा खारेज नभनेर ‘अवज्ञा’ शब्द प्रयोग गर्नुभयोे । सशक्त, सशस्त्र वा शान्तिपूर्ण कस्तो हुन्छ ?’ भन्ने प्रश्नको जबाफ दिँदै संयोजक कञ्चनले अवज्ञा कार्यक्रम विगतको जस्तो हिंसात्माक नहुने बताए । उनले भने, ‘बहिष्कार भन्नेबित्तिकै बम विस्फोट, हातहतियारको प्रयोग भन्ने बुझ्ने गरिएको छ । अवज्ञा कार्यक्रम त्यस्तो हिंसात्मक नभई शान्तिपूर्ण हुन्छ । दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्दै र अवज्ञा आह्वान गर्दै जनचेतनामूलक कार्यक्रम लिएर जनतामाझ जान्छौँ ।’

देउवा सरकारले दुवै सदनबाट पारित गराएको नागरिकता विधेयक विगतमा जस्तै भारतीयहरूको योजनामा विवाहको भोलिपल्टै विदेशीलाई नागरिकता दिने राष्ट्रघाती कदम भएको प्रस्ट पार्दै संयोजक कञ्चनले भने, ‘राष्ट्रमाथि दीर्घकालीन असर र बहुसङ्ख्यक जनताको आवाजलाई लत्याउँदै जनविरोधी सत्ताको निरन्तरताका लागि चुनावको पूर्वसन्ध्यामा यो घातक विधेयक ल्याइएको छ । यो हामीलाई मान्य छैन । हामी यसको प्रतिरोधमा निरन्तर आन्दोलन गरिरहन्छौँ ।’

‘आगामी ५ वर्षमा उही भ्रष्टाचार, महँगी, राज्यआतङ्क, राजनीतिक अस्थिरता, राष्ट्रघात, जनविरोधी कामहरू जनतामाथि थोपरिनेछन् र अबको चुनावमार्फत पनि दलाल संसदीय व्यवस्थाका मतियारहरूले त्यही गर्ने हुन् । त्यसैले सचेत नागरिकले यो चुनावको अवज्ञा र नयाँ विकल्पका लागि तयार बन्नुपर्छ’, संयोजक कञ्चनले भने ।

पार्टी प्रवक्ता सुदर्शनले संसदीय व्यवस्थाको आडमा मुठीभर दलाल पुँजीपतिहरू, विदेशी एकाधिकार पुँजीपतिहरूबाहेक नेपाली जनताका पक्षमा कुनै काम नगरेको बताए । सुदर्शनले वाइड–बडी जहाजमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रेस खरिदमा भएको कमिसनखोरी, सुनकाण्ड, ओम्नी काण्ड, बतास काण्ड, एनसेलका लागि कर मिनाहा, निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता, निरन्तरको सरकार बदली, आलोपालो भ्रष्टाचार र कमिसनखोरी गर्नु संसदीय व्यवस्थाका चारित्रिक विशेषताहरू भएकाले पनि अब नेपाली समाजले त्यसको विकल्पका लागि नयाँ व्यवस्था रोज्नैपर्ने धारणा राखे ।

अहिले नेपालमा जतिसुकै फरक पार्टी भनिए पनि केही भिन्नता नभएको प्रस्ट पार्दै प्रवक्ता सुदर्शनले भने, ‘समाजवादी कम्युनिस्ट नामधारी पुँजीवादका चाटुकार संसद्वादीहरू, पुँजीवादी काङ्ग्रेस, सामन्तवादी राप्रपाका बीच जनताको आँखामा कुनै भित्रता छैन ।’

बैङ्किङ क्षेत्रमा पनि माफियातन्त्रको वर्चस्व रहेकाले मिटरब्याज, सहकारी र वित्तीय संस्थामार्फत जनताको जमिन दलाल पुँजीपतिहरूको हातमा केन्द्रित हुँदै गएको, जलमाफियाहरूले झोलामा खोला राखेको, उद्योगहरूमा दलाल पुँजीपति वर्गको एकाधिकार हुनुको कारण रोजगारी सिर्जना गर्ने ठूला उद्योगहरू शून्य भएको पनि प्रवक्ता सुदर्शनले बताए ।

प्रेस वक्तव्य वाचन गर्दै प्रवक्ता सुदर्शनले भने, ‘चीन, भारतजस्ता छिमेकी देशहरूका बीचमा रहेको नेपालले अमेरिकाजस्तो देशलाई सैन्य अखडा निर्माण गर्ने अवसर दिनु अत्यन्तै दुःखद् विषय हो । नेपाली जनताको व्यापक विरोध हुँदाहुँदै राष्ट्रघाती एमसीसी पारित गरियो । आईपीएससँगको आबद्धता सुनिश्चित गरिएको छ । एसपीपीसँगको सहकार्यमार्फत राष्ट्रघाती कामहरू भएका छन् । अब पनि दलाल संसदिय व्यवस्थाको संरक्षण गर्न चुनावमा जानु मूर्खता हुन्छ ।’

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल ‘असारे’, कार्यालय सदस्यहरू गुणराज लोहनी, निर्मल, जगत, सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरू, जवस मोर्चाका पदाधिकारी र सदस्यका साथै उल्लेख्य मात्रामा सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :