शुल्क वृद्धि नगर्न र वृद्धि गरिएको शुल्क फिर्ता लिन अखिल क्रान्तिकारीको चेतावनी

शुल्क वृद्धि नगर्न र वृद्धि गरिएको शुल्क फिर्ता लिन अखिल क्रान्तिकारीको चेतावनी

चितवन : नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवनले जिल्लाका विभिन्न स्थानीय तहले सरोकारवाला पक्षसँग सल्लाह नै नगरी विद्यार्थी र अभिभावकलाई मारमा पार्दै विभिन्न विद्यालयमा शुल्क वृद्धि गरेको र कतिपय स्थानमा शुल्क वृद्धि सिफारिस गरेको भन्दै वृद्धि गरिएको शुल्क फिर्ता लिन र कहीँ पनि शुल्क वृद्धि नगर्न चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारी चितवनका अध्यक्ष सविन खड्काले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको चुनावी खर्च उठाउने उद्देश्यले मनोमानी ढङ्गले इच्छाकामना गा.पा. को १० प्रतिशत र रत्ननगर न.पा.को २० प्रतिशत शुल्क वृद्धि गरेको, भरतपुर महानगरपालिकाको २० प्रतिशत शुल्क वृद्धि सिफारिस र अन्य स्थानीय तहहरूले लिइरहेको शुल्क वृद्धि पहलप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्याग, बलिदान र सङ्घर्षको रक्तरञ्जित इतिहास निर्माण गर्दै सडकबाघका रूपमा स्थापित हाम्रो महान् तथा गौरवशाली सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) शिक्षा क्षेत्रमा देखिएको विकृति, विसङ्गति, राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा सदैव सङ्घर्ष गर्दै आइरहेको यहाँहरूमा सर्वविदितै छ । यसै सन्दर्भमा चितवनका कथित स्थानीय तहहरूले सरोकारवाला निकायहरूसँग पर्याप्त छलफल नै नगरी आफ्नो पार्टीको चुनावी खर्च उठाउने उद्देश्यले मनोमानी ढङ्गले गरिएको (इच्छाकामना गा.पा. को १० प्रतिशत र रत्ननगर न.पा.को २० प्रतिशत) शुल्क वृद्धि गरेको, भरतपुर महानगरपालिकाको २० प्रतिशत शुल्क वृद्धि सिफारिस र अन्य स्थानीय तहहरूले लिइरहेको शुल्क वृद्धि पहलप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘शुल्क वृद्धि नगर्न हामीले पटकपटक चेतावनी र आन्दोलन गर्दा पनि बेवास्ता गर्दै गरिएको यस्तो निन्दनीय हर्कतप्रति घोर आपत्ति प्रकट गर्दै वृद्धि गरिएको शुल्क तुरुन्त खारेज गर्न र वृद्धि गर्न लागिएको प्रक्रिया तुरुन्त रोक्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :