नेपाल कम्युनिस्ट पार्टी(बहुमत)को तेस्रो पूर्ण वैठक सम्पन्न

निर्णय सार्वजनिक गर्न असोज १ गते पत्रकार सम्मेलन गर्ने

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भदौ २६ गतेदेखि सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । सरकारले संसदीय चुनाव घोषणा गरेको अवस्थामा सम्पन्न नेकपा(बहुमत)को वैठकले संसदीय चुनाव केवल व्यक्तिहरू चुनाव लड्ने, जित्ने, जनतामा भ्रम उत्पन्न हुने र जनतालाई सत्ताविरुद्धको आन्दोलनबाट विमुख बनाउने काम भइराखेको भन्दै चुनाव अवज्ञा गर्ने निर्णय गरेको छ । रुपन्देहीको खैरेनिमा सम्पन्न भएको वैठकका थप निर्णयहरु सार्वजनिक गर्न असोज १ गते काठमाडौँमा पत्रकार सम्मेलन गर्ने नेकपा(बहुमत)ले जनाएको छ ।

केन्द्रीय समितिको बैठकमा विगतमा भएका चुनाव बहिष्कार वा खारेजका नाममा विगतमा भएका जनताबाट अलग हुने र फौजी कारबाहीका नाममा हुने कामहरूलाई पूर्ण रूपले रोक्ने र बढीभन्दा बढी जनतालाई गोलबन्द गर्दै चुनाव अवज्ञा गरिने बैठकले निर्णय गरेको छ । अवज्ञा कार्यक्रममा प्रचारप्रसार, सभा, जुलुस लगायतका कार्यक्रम गरीने छ । यसक्रममा चुनाव बहिष्कार गर्ने अन्य पार्टी वा शक्तिसँग पनि कार्यगत एकता गर्ने नेकपा (बहुमत) ले जनाएको छ । यसैगरी माक्र्सवाद-लेनिनवाद-माओवाद मान्ने, संसदीय व्यवस्थालाई अस्वीकार गर्ने, वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशामा सहमत हुने क्रान्तिकारी पार्टी, तप्का, व्यक्तित्वसँग पार्टी एकता गर्ने छलफल पनि बैठकमा भएका जनाइएको छ । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) का बीचमा लगातार वार्ता भएर अहिले पार्टी एकता संयोजन समिति निर्माण भई एकता सन्निकट पुगेको सार्वजनिक भैसकेको छ । दुई पार्टीका बीचमा पार्टी एकता संयोजन समिति बनिसकेपछि नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका तर्फबाट संयोजकले त्यसको स्वागत गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए । उक्त पार्टीको विशेष महाधिवेशनपछि नै तीनवटा पार्टीका बीचमा एकता हुने जानकारी पार्टी संयोजक कञ्चनले दिएका थिए । संसदीय पार्टीहरू आफ्नो पद, पैसा, प्रतिष्ठा कायम राख्नका लागि उनीहरू सिद्धान्त र आदर्शलाई तिलाञ्जली दिएर सिट बाँडफाँट गर्ने ध्याउन्नमा छन् । सबैभन्दा घिनलाग्दो कुरा त जनयुद्धको नेतृत्व गरेकाहरूले घोर प्रतिक्रियावादी कित्तामा रहेकाहरूसँग चुनावी अपवित्र गठन गरिराखेका छन् । यस्तो हर्कतले वाक्कदिक्क भएका जनतामा क्रान्तिकारीहरूबीचमा भएको एकताले नयाँ रक्तसञ्चार गर्ने अपेक्षा राखिएको छ ।
यसैगरी सरकारसँग भएको तीनबुँदे सहमतिका बारेमा सहमति भएको १९ महिना पुगिसक्दा पनि विगतमा लगाइएका मुद्दा खारेज नगर्नु, बन्दीहरूलाई बिनासर्त रिहा नगर्नुले यो सरकार इमानदार नदेखिएको मात्र होइन, उल्टै नेताहरूलाई गिरफ्तार गर्ने पुर्जी टाँस्नु र अदालतले गिरफ्तार गर्न आदेश दिनुले झनै फासिस्ट बन्दै गएको निष्कर्ष निकालिएको जनाइएको छ । त्यसैले केन्द्रीय समितिका सबै सदस्यले तीनबुँदे सहमति कार्यान्वयन गराउन सशक्त सङ्घर्षको कार्यक्रम बनाउनुपर्ने मत राखेका छन् । विप्लव—प्रकाण्डहरूले जनक्रान्तिका नाममा विगत ८ वर्षमा जे गरे, जस्तो योजना बनाए, मुख्य रूपमा सही कार्यदिशा बनाएनन्, सैद्धान्तिक रूपमा माक्र्सवादका आधारभूत कुराबाट च्यूत भएका थिए, त्यसका विरुद्ध विद्रोह गरी विशेष राष्ट्रिय भेलाबाट उनीहरूलाई कारबाही गरेर नेकपा (बहुमत) बनाएको छोटै समयमा पार्टी राजनीतिक, वैचारिक, सङ्घर्ष, सङ्गठन निर्माण गर्न र क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न सफल भएको निष्कर्ष निकालिएको छ । यसबीचमा पार्टीप्रति जनतामा आकर्षण बढेको, सङ्गठित हुने प्रक्रिया तीव्र भएको तर अझै मेहनत गर्नुपर्ने आवश्यकता बोध गरिएको छ । बैठककै बीचमा भदौ २८ बिहान पार्टी संयोजक, प्रवक्तादेखि सबै केन्द्रीय सदस्यले नेकपा (बहुमत) को मुखपत्र ‘बहुमत’ सामूहिक लोकार्पण गरेका थिए । बैठक आरम्भ हुनुअघि नेकपा (बहुमत) रूपन्देहीले बैठकमा सहभागी सम्पूर्ण केन्द्रीय सदस्यलाई पाल्पाली ढाकाटोपी लगाइदिएर स्वागत गरेको थियो । नेकपा (बहुमत) वास्तवमा वर्तमान विकृत संसदीय व्यवस्था अर्थात् दलाल संसदीय व्यवस्थाका विरुद्ध शक्तिशाली विकल्पका रूपमा देखापरेको आभास नेपालको राजनीतिक क्षेत्रमा भएको छ ।

उक्त बैठकमा पार्टी केन्द्रीय कार्यालय सदस्य, सचिवालय सदस्य, नवौँ महाधिवेशन आयोजक समितिका सदस्य (केन्द्रीय समितिका सदस्य) हरूले मुख्य प्रस्तावका रूपमा पार्टी संयोजक कञ्चनद्वारा प्रस्तुत पार्टी एकता, मङ्सिर ४ गते गर्न लागिएको चुनावका साथै सरकार र तत्कालीन नेकपाका बीचमा भएको ३ बुँदे सहमति कार्यान्वयनलगायत विषयमा आआफ्नो धारणा राखेका थिए । सवै केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राखिसकेपछि पार्टीका संयोजक र प्रवक्ता लगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :