नेकपा (बहुमत) ले चुनाव बहिष्कार गर्छ : रूपेश

नेकपा (बहुमत) ले चुनाव बहिष्कार गर्छ : रूपेश

बागलुङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बागलुङको प्रथम जिल्ला भेलामा पार्टीका गण्डकी ब्युरो इन्चार्ज रूपेशले चुनाव बहिष्कार गरिने बताएका छन् । भेलाले सागरको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
बागलुङको जिल्ला सदरमुकाम बागलुङ बजारमा शुक्रबार सम्पन्न भेलामा नेकपा (बहुमत) का गण्डकी ब्युरो इन्चार्ज रूपेश प्रमुख अतिथि थिए भने म्याग्दी, पर्वत र बागलुङ इन्चार्ज दलसिंह विशेष अतिथि थिए ।
कार्यक्रममा प्रमुख अतिथि रूपेशले पार्टी कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै आउँदो चुनावलाई आफ्नो पार्टीले बहिष्कार गर्ने बताए । आफ्नो पार्टी र अन्य क्रान्तिकारी शक्तिहरूबीच पार्टी एकता गर्दै जाने उनले बताए । साथै उनले विप्लवमा आएको विचलनका कारण आफूहरूले पार्टी पुनर्गठन गर्नुपरेको पनि बताए ।
जिल्ला इन्चार्ज दलसिंहले विश्व कम्युनिस्ट आन्दोलनमा र नेपालमा पनि कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै संसारमा भएका असफल क्रान्तिहरूबाट शिक्षा लिएर नेपालमा समाजवादी क्रान्ति पूरा गर्न आफ्नो पार्टीको नेतृत्वमा क्रान्तिकारी आन्दोलन अघि बढेको र यसलाई सफल बनाउन लागिपर्नुपर्ने बताए । उनले पार्टीका नीति र सिद्धान्तहरूलाई जनतामा लागू गर्न पार्टी, सेना र मोर्चा निर्माण गर्दै अघि बढ्नुपर्ने बताए ।
भेलामा जिल्लाका ५३ जना प्रतिनिधि सहभागी भएका थिए । भेलाको अध्यक्षता नेकपा (बहुमत) बागलुङका जिल्ला सदस्य शिवप्रसाद शर्माले गरेका थिए भने सञ्चालन निर्मला विकले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :