अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न / प्रीतिमा चौधरीे अध्यक्ष

जानकी दहित / दाङ : “विसर्जनवाद, आत्मसमर्पणवाद र अराजकतावादका विरुद्ध एकीकृत विद्यार्थी आन्दोलन राष्ट्रियताको पक्षमा शैक्षिक भ्रष्टीकरण, दलालीकरण र माफियाकरणका विरुद्ध २२ औं जिल्ला सम्मेलन’’ मूलनाराका साथ अखिल (क्रान्तिकारी) दाङको २२ औं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङको २२ अाैं जिल्ला सम्मेलनले प चौधरीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै बिहीबार सम्पन्न भएको हो । जसको उपाध्यक्षमा अनिल केसी, सचिवमा अम्मर खड्का, सहसचिवमा सुरेन्द्र चौधरी, कोषाध्यक्षमा प्रकाश ओलीलाई सर्वसम्मत चयन गरिएको हो ।

हजारौं विद्यार्थीहरुको जुलुससहित दाङ घोराहीको बजारका विभिन्न स्थानको परिक्रमासहित भरतपुर मैदानमा उद्घाटन सभा भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुभासले अहिले देश नेपालीहरुको हातमा नभई दलालहरुको हातमा रहेकाले सबै ठाउँ भ्रष्टीकरण भएको बताउनुभयो । दलालहरुले आफ्नो निहित स्वार्थका लागि देशलाई विदेशीहरुको हातमा सुम्पिरहेको भन्दै त्यसका विरुद्ध इमान्दार कम्युनिस्टहरु, प्रगतिशील राष्ट्रप्रेमीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । पुरानो संसदीय व्यवस्थामा शैक्षिक क्षेत्र लगायत हरेक क्षेत्र भ्रष्टीकरण भइरहेकाले शैक्षिक माफिया तथा सबैखाले दलाल, विकृति, बेथितिका विरुद्ध एकजुट भएर संघर्ष गर्न र एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनामा लाग्न आव्हान गर्नुभयो ।

कार्यक्रमलाई अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द, अखिल (क्रान्तिकारी)का अध्यक्ष पूर्णसिंह, अखिल नेपाल शिक्षक संगठन क्षेत्र नं.५ प्रदेश अध्यक्ष नारायण भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै उद्घाटन सभामा विद्यार्थी कलाकारहरुले आफ्नो नृत्य तथा प्रतिभा प्रस्तुत गरेका थिए ।

 

२०७४ भदौ २३ गते ८ : ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :