मधेसमा अभियान उद्घाटन गर्दै नेकपा (बहुमत) का नेताले भने– रामवृक्ष र कुमारजस्तै क्रान्तिकारी खोज्दै आएका छौँ

मधेसमा अभियान उद्घाटन गर्दै नेकपा (बहुमत) का नेताले भने– रामवृक्ष र कुमारजस्तै क्रान्तिकारी खोज्दै आएका छौँ

काठमाडौँ : नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोले महान् सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै दुईमहिने ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयनले आफ्नो पार्टी रामवृक्ष यादव र कुमार पौडेलजस्तै क्रान्तिकारी खोज्दै मधेस अभियानमा आएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि नयनले मधेसबाट अब फेरि रामवृक्ष यादवजस्तो योद्धा जन्मिनु आवश्यक रहेको पनि बताए । रामवृक्ष यादवजस्ता क्रान्तिकारीहरूको खोजीमा आफूहरू रहेको र त्यसकै लागि मधेस जागरण अभियान लिएर जनताको माझमा नेकपा (बहुमत) गाउँ प्रवेश गरेको उनको भनाइ थियो । सहिद रामवृक्ष यादव र कुमार पौडेलहरूको सपना पूरा गर्नका लागि गाउँबस्तीबाट अब जनता उठ्नुपर्ने प्रमुख अतिथि नयनले बताए ।

नयनले जनताले सही राजनीति र सही कम्युनिस्ट चिनेको दिन दलाल संसदीय व्यवस्था र जनतामारा राज्यसत्ता ध्वस्त हुने पनि बताए । उनले प्रचण्ड–बाबुरामहरूले दलालहरू र विदेशी शक्तिसामु घुँडा टेकेकाले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर भएको पनि प्रस्ट पारे । संसदीय दलालहरूले रामवृक्ष यादवको स्मृतिमा सहिद दिवस मनाउँदा नसुहाएको र उल्टै सहिदहरूमाथि अपमान भएको पनि उनले बताए ।

जनयुद्धले तहसनहस पारेका सामन्त–शोषकहरूलाई संरक्षण दिँदै यो राज्यसत्ताले फेरि गाउँगाउँमा मिटरब्याजका नाममा किसान, मजदुर र गरिबहरूको उठीबास लगाइरहेको नेता नयनले बताए । यस्ता मिटरब्याजीहरूको अब चिहान खन्नुपर्ने भन्दै नयनले चेतावनी पनि दिए ।

कार्यक्रमका अतिथिहरूमा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू सुमन, इमान, निर्माण, विमलालगायत थिए । त्यसैगरी जिल्ला संयोजकहरू बिहानी, नवीन, अर्जुन, र दीपकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य अर्जुन र अध्यक्षता विमलाले गरेकी थिइन् । कार्यक्रम सञ्चालन नवौँ महाधिवेशन आयोजक समितिका सदस्य निर्माणले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :