अमेरिकाका लागि कोरिया अर्को भियतनाम बन्दै 

हाइड्रोजन तरङ्गः बहुध्रुवको प्रसव–पीडा

काठमाडाैंः जनतान्त्रिक गणतन्त्र कोरियाले आइतबार छैटौंपटक हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गरेपछि अमेरिकासहित पुँजीवादी ध्रुवमा ठूलो खैलाबैला भएको छ । कोरियाले उत्तर–पूर्वी जिल्ला किञ्जुस्थित पुङ्गे–री आणविक केन्द्रबाट गरेको हाइड्रोजन परीक्षण हालसम्मकै शक्तिशाली मानिएको छ । कोरियाली प्रायद्वीपमा ६.३ रेक्टर स्केलको भूकम्प गराएको लगत्तै कोरियाली सरकारी सञ्चारले हाइड्रोजन बम परीक्षणका तस्बिरहरू सार्वजनिक गरेका थिए । सो परीक्षणको विशेष महत्व के ठानिन्छ भने त्यसमा अन्तरदेशीय ब्यालेष्टिक क्षेप्यास् त्र जडान गरी प्रहार गर्न सकिने अत्याधुनिक हाइड्रोजन बमको विकास गर्नुमा छ । परीक्षण पूर्ण सफल भएको छ र विकिरण चुहावट नभएको सरकारी दावी छ; जसलाई कुनै संस्थाले खण्डन गर्न सकेका छैनन् । कोरियाको सरकारी संचार केसिएएनले उक्त परीक्षणलाई ‘चुनौतीपूर्ण सफलता’ गर्वका साथ भनेको छ । यसअघिको भन्दा दसगुणा बढी शक्तिशाली मानिएको छ । अमेरिकासहित पुँजीवादी देशहरूको पिछलग्गू आरोप लाग्दै आएको संयुक्त राष्ट्र संघसहित पुँजीवादी देशहरूले गरिरहेको विरोध, धम्की र आपत्तिलाई कोरियाले गल्लीको … भुकेको जत्ति पनि ठानेको देखिन्न । गतसाता जापानको हकाइडो प्रान्तको आकाश हुँदै समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र कोरियाले खसालेको थियो । जापानले वर्षौं उपनिवेश बनाएको लुटपाट, हत्या र यौनदासी बनाएका महिला र नागरिकको घाउमा खाटो बस्दा नबस्दै कोरियाले जापानको आकाश अतिक्रमण गरेर बदला लिएको छ ।

६ अगस्त १९४५ मा अमेरिकाले जापानको नागासाकी सहरमा खसालेको ‘फ्याट ब्वाई’ बमभन्दा आइतबार परीक्षण गरेको कोरियाको हाइड्रोजन बम ५ गुणा शक्तिशाली ठानिएको छ, जसमा ४५ हजार जापानी नागरिक मारिएका थिए । अमेरिकी प्रजातन्त्रमा हुर्केको ‘फ्याट ब्वाई’ को विध्वंसमा आगो, विकिरण, क्यान्सरका कारण २ लाख थप नागरिकको ज्यान गएको थियो । अपाङ्ग, दीर्घरोगी, मानसिक विकार हुनेहरूको लेखा–जोखा छैन । अमेरिकाले त्यही सैन्य–प्रविधिको बलमा विश्वभरि उपनिवेश कायम गर्दै आएको छ । अंग्रेज साम्राज्यवादको ‘सूर्यास्त नहुने साम्राज्य’ नयाँ रूपमा अमेरिकातिर सरेको छ । नयाँ रूपको अमेरिकी औपनिवेशिकताका विरुद्ध विश्वभरि प्रतिरोध भइरहेको छ । सानो, कमजोर, आर्थिक र सामरिक हैसियत भएको कोरियाले विश्वका सबै साँढेहरूका विरुद्ध उभिन कसरी सम्भव भयो ? विश्व आश्चार्यमा परेको छ । त्यसको पछाडि सबल र अनुकरणीय आत्मगत पक्ष मुख्य छ । दोस्रो कोरिया, चीन र रुसको बीचमा संवेदनशील भौगोलिक अवस्थामा रहेको छ । कोरिया र चीनका बीचमा एउटामाथिको आक्रमण अर्को देशका विरुद्धको आक्रमण ठानिने सन्धि रहेको छ । कोरियाको विवाद बढ्दै जाँदा चीन–अमेरिका तनाव बढ्दै गएको जगजाहेर छ । अर्कोतिर कसले कोरिया–रुस सीमामा सेना परिचालन गरेको छ । यी घटना र परिवेशको संकेत के हो भने जापान, दक्षिण कोरिया र अमेरिकाका कतिपय राज्य समुद्रमा डुब्ने, अकल्पनीय क्षति र विनास व्यहोर्ने कि कोरियासँग सहकार्य गर्ने ? भन्ने प्रश्नको छनौट गर्न विश्व शक्तिहरूलाई बाध्यता भएको छ । अब कोरियासँग झुक्नु वा सहकार्य गर्नु अर्थात् एउटा विश्व शक्ति स्वीकार्नुपर्ने वाध्यता भएको छ । त्यसको अर्थ दक्षिण कोरियाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने दबाब बढ्नेछ । अमेरिकाका लागि कोरिया अर्को भियतनाम बन्दैछ । त्यसको स्पष्ट सन्देश के हो भने विश्व अब घोषित रूपमा बहुध्रुवमा प्रवेशको प्रसव पीडा भोग्दैछ । विश्व शक्ति सन्तुलनका लागि भएको संघर्षको केन्द्रीय अभिव्यक्ति नै कोरियाली ‘समस्या’ हो, जसबाट पुँजीवादी–साम्राज्यवादी धु्रवको ‘निद हराम’ भएको छ भने न्यायप्रेमी, वामपन्थी र राष्ट्रियताको संघर्ष गरिहेका शक्तिहरू उत्साहित भएका छन् । नेकपाका विदेश विभाग प्रमुख तथा स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले यसलाई कोरियालाई आत्मरक्षाको अधिकार भएको बताउनुभएको छ । त्यसैप्रकारको धारणा विश्वभरिका जनताको पनि रहेको छ ।   रातोखबर साप्ताहिकबाट

२०७४ भदाै २ गते अपरान्ह ५ः१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :